Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिकीले नेतृत्व गरेको मध्य पूर्वीय मिसनमा अस्ट्रेलिया पनि जोडियो

स्ट्रेट अफ हर्मुज़ भनिने मध्य पूर्वको अति संवेदनशील भूभागको रेखदेखमा मद्दत गर्न अस्ट्रेलियाले सैनिक, विमान र युद्धपोत पठाउने निर्णय भएको प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

प्रधानमन्त्री स्कट मरिसनका अनुसार अस्ट्रेलियाले राष्ट्रिय स्वार्थ र आर्थिक चासोका कारण “भद्र, सार्थक र समय सीमा सहितको” सहयोग आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरू अगाडी सारेको हो।

“सरकारको विचारमा, एक अन्तर्राष्ट्रिय सामुद्रिक सुरक्षा अभियानमा मध्य पूर्वमा आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्नु अस्ट्रेलियाको राष्ट्रिय हितमा छ,” बुधवार पार्लियामेन्ट हाउसमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने।

Iranian Revolutionary guard boat moves around British oil tanker
Iranian Revolutionary guard boat moves around British oil tanker Source: AAP

अस्ट्रेलिया आउने कम्तीमा १५ प्रतिशत कच्चा तेल र करिब ३० प्रतिशत प्रशोधित तेल, पर्सिएन खाडीमा अवस्थित र जमिनद्वारा दुई तर्फ घेरिएको उक्त साँघुरो सामुद्रिक बाटो - स्ट्रेट अफ हर्मुज़ - हुँदै आउने भएकाले अस्ट्रेलियाको निम्ति त्यहाँ सुरक्षा गर्न जानु वान्छनीय रहेको प्रधानमन्त्रीको भनाई थियो।

मध्यपूर्वमा चोरी निकासी विरुद्धको कारबाहीमा पहिले नै खटाइएको युद्धपोतलाई स्ट्रेट अफ हर्मुज़ तर्फ जान भनिने पनि उक्त पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको थियो।

२०० जवान रहने अस्ट्रेलियन सैनिकको एक विशेष दस्तालाई भने उक्त स्थानमा अमेरिकाले पहिलेदेखि नै सञ्चालन गरिराखेको मुख्यालयमा बसेर काम गर्न पठाइने पनि बताइएको छ।

प्रधानमन्त्री मरिसनका अनुसार अस्ट्रेलिया आगामी ६ महिनासम्म लागि मात्र त्यहाँ जान लागेको हो।

तर, आवश्यक परेमा उक्त अवधिलाई बढाइने पनि उनको भनाइ थियो।

विपक्षी दल लेबरले सरकारको निर्णय उचित रहेको बताएको छ।

कार्यवाहक विपक्षी नेता रिचर्ड मार्ल्सका अनुसार उक्त सैनिक परिचालनको परिमाण र समय सीमा दुवै उपयुक्त छन्।

“द्वीप राष्ट्रका रूपमा अस्ट्रेलियाका लागि आवश्यक पर्ने सामुद्रिक परिवहनका मार्गहरू स्वतन्त्र रहनु हाम्रो लागि अपरिहार्य छ,” पत्रकारहरू माझ सिड्नीमा उनले भने।

उदासीन युरोप

European Council President Donald Tusk speaks during a media conference at an EU summit in Brussels.
European Council President Donald Tusk speaks during a media conference at an EU summit in Brussels. Source: AP

अमेरिकी नेतृत्वको उक्त अन्तर्राष्ट्रिय गठबन्धनमा अस्ट्रेलियाको अलावा बेलायत र बहरेन छन्।

अमेरिकाका अन्य युरोपेली सहयोगी राष्ट्रहरू भने मध्य पूर्वमा द्वन्द्व भड्किने डरले यस अभियान प्रति चासो नराखेको कतिपय परिवेक्षकहरुले उल्लेख गरेका छन्।

तर, आउँदो सप्ताहान्तमा विश्वका प्रमुख ७ ठुला आर्थिक देशहरूको फ्रान्समा हुने भनिएको एक बैठकमा पनि यो मुद्दा विशेष रूपमा उठ्ने अनुमान छ।

“जी सेभेनको बैठक महत्त्वपूर्ण समयमा आएको छ - मेरो बिचारमा आजको वैश्विक परिवेश अनुसार हामीहरूले साझा रूपमा मान्दै आएको लोकतन्त्र, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र खुल्ला बजार बारे धाराणाहरु अझ सुदृढ गर्नुपर्ने समय आएको छ,” प्रधानमन्त्री स्कट मरिसनले भने।

Strait of Hormuz
Aerial view shows a speedboat of Iran's Revolutionary Guard moving around the British-flagged oil tanker Stena Impero which was seized in the Strait of Hormuz. Source: Tasnim News Agency

अस्ट्रेलियाको पछिल्लो कदमलाई एक सुरक्षा विश्लेषकले समझदारीका साथ चालिएको एक उचित कदम भनेका छन्।

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी ईन्स्टिट्युटका कार्यकारी निर्देशक पिटर जेन्निङ्ग्सका अनुसार तेल बोक्ने ट्याङ्करहरू माथि भएका आक्रमणहरूको प्रतिकार स्वरूप अस्ट्रेलियाले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उनीहरूको अभियानमा साथ दिनु राम्रो हो।

“मेरो बिचारमा इरानलाई बुझाउन जरुरी भइसकेको थियो की अन्तर्राष्ट्रिय समुदाय स्ट्रेट अफ हर्मुज़बाट चल्ने मालवाहक जहाजहरूका लागि सुरक्षित मार्ग चाहन्छ,” जेन्निङ्ग्सले भने।

“ती जहाजहरू बचाउन, हामी ज्यान कै बाजी पनि लगाउन तयार छौँ भन्ने सन्देश दिनु जरुरी थियो।”


3 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now