साउथ अस्ट्रेलियन प्रिमीयर स्टीवन मार्सलले वुडभिल पिज्जा बारमा भेटिएको कोभिड–१९ एक मामला पछि राज्यको सम्पर्क ट्रेसिङ टिमलाई गुमराहमा पारिएको भन्दै आक्रोशित बनेका छन् ।
आज साउथ अस्ट्रेलियामा कोरोनाका तिन सङ्क्रमण देखिएता पनि ती सबै विदेशबाट आएर होटेल क्वारीनटीनमा रहेका व्यक्तिहरू रहेको बताइएको छ ।
हाल उडभिल पिज्जा सँग जोडिएका २५ सङ्क्रमण भेटिएका छन् भने ती सँग प्रत्यक्ष सम्पर्कमा रहेका ४५ सय भन्दा बढिलाई अनिवार्य क्वारीनटीनमा राखिएको छ ।
मार्सलले मानिसहरूको स्वार्थी क्रियाकलापका कारण राज्य गम्भीर मोडमा पुगेको बताए ।
मार्शल भन्छन् “उनीहरूले कथा बुने र त्यसको पछि हामी लाग्यौ,यति बेला हामीलाई थाहा छ कि उनीहरूले हामी सँग झुट बोले ।”
सङ्क्रमित व्यक्तिले आफू उडभिल पिज्जाबारमा पिज्जा खरिद गर्न गएको भने झुट बोलेको जब कि उसले त्यहाँ कैयन सिफ्ट काम गरेको माशर्लले बताए ।
प्रिमीयर मार्सलले आपतकालिन व्यवस्था ऐनमा अनुरोध गरिएमा जानकारी उपलब्ध गराउन आवश्यक रहेको तर प्रश्नहरूको उत्तर गलत दिएमा कुनै कारवाहीको प्रावधान नभएकोमा गुनासो पोखे ।
हाल नयाँ समूहलाई ट्रेसिङ र आइसोलेसनमा राख्नुपर्ने भएता पनि राज्यमा प्रतिबन्धहरू केही खुकुलो बनाइने भएको छ ।
प्रहरी आयुक्त ग्रायन्ट स्टेभेन्सले भने “यो झुटको नतिजा हामी आज ६ दिने लकडाउनमा छौ । ”
राज्यले ६ दिनका लागि जारी गरेको लकडाउनलाई केही अगाडी नै खुकुलो गर्ने उद्देश्यले तुरुन्त लागु हुने गरी एकै परिवारका सदस्यहरू व्यायामका लागि भेला हुन सक्ने बनाइएको छ ।
यसै गरी शनिवार राति देखि घरमै बस्नु पर्ने नियम हटाइने र रेष्टुरेष्ट क्याफेहरू पनि खोलिने बताइएको छ । तर एक व्यक्ति बराबर चार स्क्वाएर मिटरको दुरी कायम गर्नु पर्नेछ । यसका अलावा घरमा भेला हुने सङ्ख्या १० जना अधिकतम तोकिएको छ ।