मेलबर्न क्रिकेट ग्राउण्डमा ८६ हजारभन्दा बढी दर्शकहरुकोबिच आफ्नो शानदार खेल कौशलता देखाउदै, अस्ट्रेलियाको टोलिले प्रतिपक्षि भारतलाई शुरुदेखिनै दबाबमा राख्दै खेलमा अधिपत्य जमाएको थियो।
अस्ट्रेलियामा महिला खेलका लागि त्यति धेरै दर्शकहरु उपस्थिति पहिलो पटक भएको थियो। हिजोको खेल हेर्न ८६,१७४ दशर्कहरु मैदानमा आई अस्ट्रेलिया र भारतको टोलिका लागि प्रोत्साहन प्रदान गरेका थिए। यो संख्या कुनै पनि महिला खेलका लागि – अस्ट्रेलियाको मैदानको निमित्त एक नयाँ किर्तिमान हो।
सन् १९९९ मा भएको महिला विश्वकप फुटबलको फाईनलका लागि उपस्थित ९०,१८५ दशर्कहरुको संख्या- महिला खेलका लागि- अहिलेसम्मकै विश्व किर्तिमानको रुपमा रहेको छ।
हिजोको खेलमा, अस्ट्रेलिको तर्फबाट, बेथ मुनिले ७८ रन बनाएकी थिईन् भने, विकेटकिपर रहेकी एलिसा हिलिले लगातार पाँच छक्काको सहायताले ७५ रन बनाउन सफल भएकी थिईन्।
२० ओभरको खेलमा, अस्ट्रेलियाले ४ विकेट गुमाई १८४ रन बनाएको थियो। विश्वकप फाईनलका लागि यो अहिलेसम्मकै सबैभन्दा बढी रन रहेको थियो।
अस्ट्रेलियाको चुनौतिको जवाफ दिन आएको भारतको टोलि भने, शुरुमै केहि विकेट गुमाई दवावमा आएको थियो। अन्त्मा, भारतको टोलि मात्र ९९ रनमा सिमित भयो।

अस्ट्रेलियाकी विकेटकिपर एलिसा हिलिले आफ्नो शानदार खेल प्रदर्शनका लागि प्लेयर अफ द म्याचको उपाधि हात पारिन्।
विश्व महिला दिवस पारेर आयोजना गरिएको यस फाईनल खेलमा धेरै दर्शकहरु आउन भन्ने उदेश्यका साथ आयोजकहरुले निकै प्रचार-प्रसार गरेका थिए। फाईनलमा आयोजक देश अस्ट्रेलिया, र निकै समर्थकहरु रहेको भारत पुग्ने निधो भएपछि, मैदान भरिने कुरा पक्कानै थियो।
दर्शकहरुको यति ठूलो उपस्थितिले अब हुने महिला खेलहरुले निकै ठूलो छलाङ्ग मार्ने अस्ट्रेलियाकी पूर्व खेलाडी एलेक्स ब्याकबेल बताउँछिन्। “महिला खेलाडीहरुको लागि, यति धेरै दर्शकहरुको समर्थन पाउनु- निकै ठूलो उपलब्धि हो। यसले खेललाई एउटा नयाँ गति दिने पक्का छ,” उनले भनिन्।
सन् २००९ मा शुरु भएको टि-२० महिला विश्वकपको यो सातौं संस्करण थियो। अहिलेसम्म अस्ट्रेलियाले, पाँच पटक विश्वकप विजेताको उपाधि हात पारिसकेको छ। अस्ट्रेलिया बाहेक ईग्लैण्ड र वेस्ट इंन्डिजले यो उपाधि पाई सकेको छ।
थाईल्याण्ड लगायत १० विभिन्न राष्ट्रिय टोलिले यसपल्टको प्रतियोगितामा सहभागिता जनाएका थिए।
