३९ वर्षीय अर्सालन ख्वाजालाई कमनवेल्थ कानून अन्तर्गतको न्यायको मार्गमा अवरोध गरेको तथा न्यु साउथ वेल्स राज्य कानून अन्तर्गत किर्ते काम गरेको आरोप लगाउने प्रहरीले तयारी गरिरहेको छ।
प्रहरीले अर्सालन ख्वाजाद्वारा उक्त कार्य सुनियोजित तथा योजनाबद्ध तरिकाले गरेको आक्षेप लगाएको छ।

गत अगस्ट महिनामा, न्यु साउथ वेल्स प्रहरीले मोहमद निजमदीनको एक नोटबुकमा पूर्व अस्ट्रेलियन प्रधानमन्त्री म्याल्कम टर्नबुल, तत्कालीन विदेश मन्त्री जुली विशप तथा पूर्व सभामुख ब्रन्वीन विशपको हत्या गर्ने योजना रहेको तथा सिड्नीका ठुला-ठुला ट्रेन स्टेसनहरू लगायत ओपेरा हाउस एवं हार्बर ब्रिजमा आतङ्ककारी हमला गर्ने गुरुयोजना भएको भन्दै उनलाई पक्राउ गरेको थियो।
पछि निर्दोष पाइएका निजमदीनलाई करिब एक महिनासम्म गोल्बर्न स्थित उच्चतम जेलको एकल बन्दीगृहमा राखिएको थियो। एक अक्षर विशेषज्ञले उक्त नोटबुकमा पाइएका आतंबादी योजनाहरू निजमदीनकै हुन् भनेर ठोकुवा गर्न सकेका थिएनन्।
उता निजमदीनले पनि उक्त कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्। उनका अनुसार न्यु साउथ वेल्स प्रहरीको अनुसान्धान प्रकिया अपरिपक्व, लाजमर्दो तथा द्वेषयुक्त रहेको एबिसीलाई बताएका छन्। उनले अब राज्य प्रहरी विरुद्ध क्षतिपूर्तिको माग गर्दै अदालत जाने पनि बताएका छन्।

उक्त समय न्यु साउथ वेल्स विश्वविद्यालयको आइटी विभागमा समेत आबद्ध रहेका निजमदीनले श्रीलङ्काबाट भने, "यो सबै प्रकरणले मेरो भविष्य बर्बाद पार्यो।"
प्रहरी सहायक आयुक्त मीक विलिङ्गले निजमदीनद्वारा बिना कसुर जेलमा समय बिताउनु परेकोमा खेद व्यक्त गरेका छन् तर राज्य प्रहरीले उनीसँग माफी नमाग्ने सङ्केत दिएका छन्।
सम्भावित आतङ्कवादी घटनाको खतरा निमिट्यान्न पार्ने गरी काम गर्नु महत्त्वपूर्ण रहेको उनले बताए।
"निजमदीनजी माथि जे भयो त्यो गलत थियो। फर्जी कागजात बनाएर उनलाई फसाउने व्यक्तिले नै उनीमाथि अन्याय गरेका हुन्," उनले भने।
श्रीलङ्काबाट प्रकाशित हुने डेली न्युज का अनुसार उस्मान ख्वाजाका दाइ अर्सालन निजमदीनले गरिरहेको सोधकार्यका सुपरिवेक्षकहरु मध्यका एक थिए।
