महामारी पछि थकित र काम छाड्ने मनस्थितिमा हुनुहुन्छ? अस्ट्रेलियाली रोजगारदाताले तपाईँलाई मद्दत गर्न सक्छन्!

भर्खरै सार्वजनिक भएको एक रिर्पोटले, अस्ट्रेलियाली कामदारहरू पछिल्लो समय थकित बन्दै गएको र काम प्रति उत्साहित हुन छाडेको देखाएको छ।

DAILY LIFE SYDNEY

Researchers from the University of Melbourne have released the 2023 State of the Future of Work Report, which focuses on how Australian workers are recovering from the COVID-19 pandemic. (file) Source: AAP / JANE DEMPSTER/AAPIMAGE

मेलबर्न विश्वविद्यालयले जारी गरेको सन् २०२३ को 'स्टेट अफ दी फ्युचर अफ वर्क' नामक एक रिर्पोटले कोभिड महामारी पछि अस्ट्रेलियाली कामदारहरूको स्वास्थ्य र कल्याणमा ठुलो प्रभाव पारेको देखाएको हो।

महामारीले १८ देखि ३४ वर्षका युवा जनशक्ति र ३५ देखि ५४ वर्षका मध्यम उमेरका कामदारहरूलाई बढी प्रभावित बनाएको देखिएको छ।

प्रत्येक तीन युवा कामदार मध्ये एकले जागिर छाड्ने योजना बनाइरहेको रिर्पोटमा उल्लेख छ।

यद्यपि ५५ वर्ष माथिका कामदारका हकमा भने जागिर छाड्न चाहनेको सङ्ख्या प्रत्येक पाँच मध्ये एक छ।

drvincentstanding.jpg
Vincent Candrawinata

उक्त रिर्पोटका सह लेखक प्राध्यापक लि र्यापेनर, थकान र शक्तिहीनको भावनाले अस्ट्रेलियाली कामदारहरूलाई यतिखेर ठुलो समस्यामा पारिरहेको बताउँछिन्।

“सन् २०२१ र २२ मा अस्ट्रेलियाले अन्य देशमा जस्तो कामदारको ठुलो सङ्ख्याले काम छाडेको परिस्थिति भोग्नु परेन तर अहिलेको अवस्थामा अस्ट्रेलियाली कार्यबल त्यति स्वास्थ्य देखिदैन्,” प्राध्यापक र्यापेनरले भनिन।

तर कतिपयले कामदारमा थकान वा कम उत्प्रेरणाको समस्या महामारी अघि देखि नै भएको बताउँछन्, त्यसो भए अहिले कुन अर्थमा फरक भयो त?

अस्ट्रेलियाको मुख्य कार्यबल मानिने युवा उमेरका कामदारहरू, काम बाहेक अन्य विभिन्न कारण पनि थकित बन्ने गरेका छन्।
२०२३ को स्टेट अफ दी फ्युचर अफ वक रिपोर्ट

प्राध्यापक र्यापेनरका अनुसार महामारीको समयमा मानिसहरू घर भित्रै बस्ने बानी र के हुन्छ भन्ने अनिश्चितताले यसमा थप बल दिएको हो।

महामारीका बेला रेनोभेटीयो नामक अस्ट्रेलियाका विभिन्न सुपर मार्केटहरूमा भिटामिन लगायतका औषधिहरू सप्लाई गर्ने कम्पनीका संस्थापक भिन्सेन्ट केन्ड्राविनेटालाई कामदार अभाव कारण व्यवसाय सञ्चालन गर्न निकै मुस्किल भयो।

उनका अनुसार महामारी सकिए पछि पनि कामदार अभाव उस्तै छ।

“अहिले पनि आपूर्ति र प्याकेजिङ्ग व्यवसायमा यो समस्या चलिरहेको छ, कामदारको अभाव जहाँ पनि छ,” उनले भने।

उनका अनुसार कामदारहरूले आफू कमजोर देखिन्छु भन्ने डरका कारण पनि आफूमा बढ्दै गएको थकानलाई लुकाइरहेका छन्।

"यसो गर्दा आफू कम प्रतिस्पर्धी पो देखिन्छु भन्ने उनीहरूमा डर हुन्छ," इन्डोनेसियाली समुदायको प्रतिनिधित्व गर्ने केन्ड्राविनेटाले भने।

उनीहरू एकाग्र हुनै सकिरहेका छैनन्, थकित छन्, समय व्यवस्थापनमा पनि उनीहरू कमजोर छन्, उनीहरूको प्रगति पनि त्यति छैन र मानसिक रूपमा पनि बिथोलिएका छन्।

समाधान के हो त?

अनुसन्धानमा सरिक भएका कामदारहरूले काम गर्ने शैलीमा लचिलोपन भए यसले मानसिक र शारीरिक स्वास्थ्यमा सुधार हुने प्रतिक्रिया दिएको प्राध्यापक र्यापेनरले बताइन्।

उनीहरू कहाँ बाट काम गर्न चाहन्छन्, कसरी काम गर्छन् वा कहिले काम गर्न चाहन्छन् भन्ने कुराको स्वतन्त्रता दिए, परिस्थिति सजिलो हुने र्यापेनरको भनाई छ।

उक्त रिर्पोटले सरकारलाई कामको मामिलामा लचकता र कार्यालय बाहिरबाट काम गर्न मिल्ने सुविधा प्रमुख अधिकार क्षेत्र भित्र राख्नका लागि सुझाव पेस गरेको छ।

यता लाइफ एन्ड बिजनेस कोच क्रिस्टीना फक्सवेल भने रोजगारदाताहरूले कार्यस्थललाई मानसिक रूपमा पनि उपयुक्त स्थान बनाउनमा जोड दिनु पर्ने बताउँछिन्।

“कामदारका चुनौतीलाई ख्याल गर्दै, उनीहरूको कल्याणका कार्यक्रम र अभ्यासहरू गरिनु पर्दछ।”

खाजा खाने समयमा केही बेर वर्क आउट गरेर वा हप्तामा एक चोटि ध्यान गर्ने समय दिँदैमा कामदारको कल्याणमा काम गरेको हुदैन्

“कल्याण भनेको, जीवनमा समानुभूती र इमानदारिता ल्याउनका लागि संस्थाले अनिवार्य रूपमा गर्नु पर्ने सकारात्मक मनोविज्ञानको अभ्यास हो” फक्सवेलले भनिन्।

रिर्पोटले सरकारलाई मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, स्वास्थ्य जाँचको प्रकियालाई सजिलो र पहुँच योग्य बनाउनका लागि पनि सिफारिस गरेको छ।

यस बाहेक बाल हेरचाहका लागि अन्तर्राष्ट्रिय स्तरको सेवा निःशुल्क दिन पनि सरकार र रोजगारदातालाई सुझाव दिइएको छ।

nanny, caregiver
Source: Pixabay

घरमा केटाकेटी भएका कामदारहरूले महामारी पछि झनै बढी थकानको महसुस गरिरहेको रिपोर्टले देखाएको छ।

रिर्पोटले बालबालिकाको हेरचाह गर्नु पर्ने अवस्थामा रहेका पुरुष कर्मचारीहरू अन्य कामदार भन्दा बढी नै तनावमा रहने पनि देखाएको छ।

यो समस्यालाई सम्बोधन गर्नका लागि पुरुष अभिभावकका लागि पनि सुत्केरी बिदाका व्यवस्था गरिनु पर्ने रिर्पोटले सुझाव दिएको छ।

यसै गरी रिर्पोटले काममा हुने भेदभावलाई समेत उजागर गरेको छ।

“घरमा सन्तानको हेरचाहमा समेत सक्रिय करिब ५५% पुरुष कामदारहरूले काममा भेदभाव हुने गरेको र ४०% पुरुषहरूले उत्पीडन सहनु परेको गुनासो गरेका छन्।”

“करिब ३१% पुरुष केयर गिभरहरु काममा बाट निकालिएका छन्, महिलाको हकमा यो २२% छ।”

फक्सवेल काम र जीवनको सन्तुलन मिलाउने क्रममा लिङ्गका आधारमा भेदभाव गर्नु नहुने बताउँछिन्।

“पुरुष कामदारहरू आफ्नो बच्चाको रेखदेखका लागि कामबाट कुनै एक समयमा निस्कनु पर्ने हुन सक्छ, वा काखमा बच्चा लिएर काममा आउनु पर्ने बाध्यता पनि हुन सक्छ,” फक्सवेलले भनिन्।

“बालबालिकाको हेरचाहलाई गलत तरिकाले हेर्ने, अरूलाई मूल्याङ्कन गर्ने र दबाबको सिर्जना गर्ने क्रमलाई तोड्नु पर्दछ।”

रिर्पोटले दिर्घरोग लागेका मानिसहरूलाई समेत कार्यस्थल असुरक्षित बन्दै गएको देखाएको छ।

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


Share

4 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now