अस्ट्रेलियाको महालेखा परीक्षकको कार्यालयले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार टीआरएस भनेर चिनिने “टुरिस्ट रिफण्ड स्किम” मार्फत सबैभन्दा बढी कर छुट पाउने चिनियाँ नागरिकहरू पछि स्थानीय अस्ट्रेलियाली करदाताहरू नै धेरै रहेका छन्।
उक्त रिपोर्ट प्रकाशित गर्ने अस्ट्रेलियन नेशनल अडिट अफिसले अस्ट्रेलियाली सरकार एवं सङ्घीय संसद् दुवैको लेखा परीक्षण गर्ने गर्छ।
उसको अनुसार, सन् २००० मा सुरु गरिएदेखि हालसम्म कायम रहेको पर्यटकहरूलाई सामान किन्दा कर छुट हुने व्यवस्थाको गलत फाइदा उठाउँदै अस्ट्रेलियामा नै बसोबास गर्नेहरूले करिब आधा अर्व डलर दाबी गरी सकेका छन्।
यसका साथै, गृह मामिला मन्त्रालय र अस्ट्रेलियाली कर कार्यालय दुवै टीआरएस योजनाबारे गम्भीर नरहेको भन्दै ती दुई अन्य सरकारी निकायहरूको उदासीनता प्रति प्रश्न गरेको छ।
“छलकपट गरेर कर-छुटको माग एवं दाबी गर्ने मानिसहरूको पहिचान प्रणालीगत रूपमा तथ्याङ्क हेरेर भन्दा संयोगका भरमा हुने पाइएको छ।”
“टीआरएस योजनाको कम्प्ल्यायन्स कम प्राथमिकतामा रहेको गृह मामिला मन्त्रालय र अस्ट्रेलियाली कर कार्यालय दुवै जनाएका छन्,” उक्त प्रतिवेदनमा उल्लेख छ।

टीआरएस योजना के हो?
आफ्नो घुमफिरको क्रममा पर्यटकहरूले चिनो र उपहारका निमित्त समान किन्छन् र फर्किँदा विमानस्थल लगायतका नाकाहरूमा ती सामान किन्दा तिरेको कर फिर्ता पाइने प्रावधानहरू
करिब ६० भन्दा बढी देशहरू हाल विद्यमान रहेको बताइएको छ।
अस्ट्रेलियामा पनि त्यस्तै प्रावधान छ - जस अन्तर्गत पर्यटक मात्र होइन तपाईँ हामी जस्तो यही बसोबास गर्ने मानिसहरूले पनि नेपाल वा अन्य कुनै देश जाँदा उक्त कर छुटको सुविधा उपयोग गर्न पाउँछौँ।
अस्ट्रेलियाली कर कार्यालयले बताएअनुसार अस्ट्रेलिया मात्र एउटा यस्तो देश हो जसका करदाताहरूले टीआरएस जस्ता योजनामा भाग लिन पाउँछन्।

कसरी दुरुपयोग हुँदैछ त?
महालेखा परीक्षकको कार्यालयले पेस गरेको प्रमाणलाई आधार बनाएर हेर्दा धेरै अस्ट्रेलियालीहरूले “मैले यो सामान उपहार स्वरूप किनेको हो र फिर्ता लिएर आउन्न” भने तापनि, उनीहरू घुमफिर सकेर अस्ट्रेलिया आउँदा ती कर छुटको सुविधा लिइएको सामान सहित फर्किन्छन्।
उक्त कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा माथि उल्लिखित प्रकारका घटनाहरूलाई व्यवस्थापन गर्ने प्रणाली तथा प्रक्रिया सीमित र प्रभावकारी नभएको जनाएको छ।
“गृह र कर कार्यालयले आफूसँग भएका टीआरएस तथ्याङ्कहरूलाई केलाएर राजस्व चुहावट कम गर्न उपयुक्त कदम चालिएको देखिएन,” उक्त प्रतिवेदनमा भनिएको छ।

यसका साथै महालेखा कार्यालयले ट्रेजरी, गृह र कर कार्यालय तीन वटै निकायहरू मिलेर यस्ता दुरुपयोगहरू रोक्न सक्ने एक दुरुस्त प्रणालीको निर्माण गर्नुपर्नेमा पनि बताएको छ।
“गृह मामिला मन्त्रालयले अस्ट्रेलिया फर्कने करदाताहरूद्वारा कर छुट सुविधाको दुरुपयोग गर्दै सामान पुन: अस्ट्रेलिया भित्र्याएको शङ्का लागे उनीहरूलाई सतर्क गराउने प्रणाली लागु गर्न सक्छ।”
विगतमा यस्तो प्रणाली लागु गर्दा ४१.९ प्रतिशत प्रभावकारी भएता पनि कहिले काहीँ मात्रै यसको प्रयोग भएको पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
के-कस्ता सामानमा “क्लेम” गरियो?

आर्थिक वर्ष १७/१८ मा जीएसटी तर्फ टीआरएस योजना अन्तर्गत १ करोड ७० लाख डलर केवल एप्पलका सामाग्रीहरूका लागी मात्र फिर्ता दिइएको बताइएको छ।
यसै गरी, लुई भिटोमा १ करोड ३८ लाख, शनेलमा ९ करोड १० लाख, हर्मिसमा ६ करोड २० लाख गुचीमा १ करोड १० लाख डलर “क्लेम” गरिएको पनि जनाइएको छ।
साथै, सबैभन्दा ठुलो रकम फिर्ता एक गैर नागरिकलाई दिइएको र उनले २६ लाख खर्च देखाउँदा लगभग २५०,००० डलर टीआरएस बापत पाएका थिए।
यही अवधिमा चिनियाँ पर्यटकहरूले करिब १० करोड डलर “क्लेम” गरेका थिए भने अस्ट्रेलियन करदाताहरूले करिब ५ करोड डलर दाबी गरेका थिए।
लेबरका एक सेनेटर टोनी शेल्डनले टीआरएस योजनाको व्यापक दुरुपयोग लिबरल-नेशनल गठबन्धन सरकारमा गएपछि बढेको बताउँदै संसद्मा भने, “प्रधानमन्त्री कसको पक्षमा छन्? टिफ्यान्नीका महँगा चुरा अनि गुचीका ब्याग बोकेर सुविधाको दुरुपयोग गर्नेहरुको की बाँकी जनताको?
अस्ट्रेलियाको व्यवस्था

हाल कायम रहेको व्यवस्था अनुसार, तपाईँले कर छुटका लागि निवेदन हाल्न किनेको सामान आफू अस्ट्रेलिया छोड्ने ६० दिन भित्र किनिसकेको हुनुपर्छ।
साथै, त्यसरी कर छुटका लागि किनिने कुनै पनि सामानहरूको कुल मूल्य ३०० डलर वा सो भन्दा अधिक हुनुपर्ने पनि सरकारी नियम रहेको छ। तर, ती सबै एकै पसलबाट किनिएको हुनुपर्ने व्यवस्था छ।
जस्तो, तपाईँ नेपाल उड्नु अगाडी कोसेलीको रूपमा एउटै पसलबाट १०० डलर मूल्य भएको तीन वटा घडी किन्नुभयो तर अलग अलग दिनमा। तपाईँले आफ्नो उक्त खरिदहरूमा कर छुट पाउन सक्नुहुनेछ।
तर, यदि तपाईँले ती घडीहरू अलग-अलग नाम गरेका भिन्न-भिन्नै पसलहरूबाट किन्नु भयो भने चाहिँ ३०० डलरको “थ्रेसहोल्ड” भन्दा कम हुने भएकाले यी खरिदमा भने टीआरएस पाउनुहुन्न।
यसबारे थप जानकारी यहाँ पाउन सकिनेछ: https://www.abf.gov.au/entering-and-leaving-australia/tourist-refund-scheme/for-travellers
