न्यु साउथ वेल्समा कोरोनाभाइरस परीक्षणको सङ्ख्या, दैनिक रूपमा ८,००० सम्म गर्न मिल्ने गरी क्षमता अभिवृद्धि भएको बारे जानकारी दिने क्रममा बेरिजिक्लियनको उक्त भनाई आएको हो।
“राज्य भरका सबैलाई समावेश गर्न हामीले परीक्षण सङ्ख्या वृद्धि गरेका छौँ,” उनले भनिन्।
प्रिमियर बेरिजिक्लियनले र यदि मानिसहरू आफूलाई सङ्क्रमणको लक्षणहरू देखा परेको शङ्का लागे वा त्यस बारे चिन्ता लागे तुरुन्त परिक्ष्णको लागि जान भनेकी छिन।
उनका अनुसार विशेष गरी कमजोर समुदायका सदस्यहरूसँग काम गर्ने मानिसहरू यसबारे थप चनाखो रहनुपर्ने पनि उनले बताइन।
गएको २४ घण्टामा न्यु साउथ वेल्स राज्यभर गरिएको ७,३५२ कोभिड-१९ परीक्षण मध्ये जम्मा सात जनामा मात्र सङ्क्रमण भेटिएको पनि ग्लाडिस बेरिजिक्लियनको भनाइ थियो।

हालकै अवस्थामा सधैँ जीवनयापन गर्न असम्भव रहेको बताउँदै उनले हरेक पल्ट कोभिड-१९ का कारण लगाइएको सामाजिक प्रतिबन्धहरू खुकुलो पार्दा सङ्क्रमण दर बढ्ने पनि धारणा प्रिमियर बेरिजिक्लियनले व्यक्त गरिन्।
“यसैले परीक्षण प्रणालीलाई वृद्धि गर्दा यसले हामीलाई प्रतिबन्धहरूको बारेमा के गर्न सक्दछौँ भन्ने बारे अधिक विकल्पहरू दिन्छ, किनकि हामीमध्ये कोही पनि यी प्रतिबन्धहरूको साथ लामो समयसम्म बाँच्न चाहँदैनौँ,” उनले भनिन्।
तर, प्रतिबन्धहरूलाई खुकुलो बनाउनु अघि सक्दो रूपमा थप परीक्षणहरू अपरिहार्य रहेकोमा पनि प्रिमियरको जोड थियो।
“त्यस कारण पनि हामी (कोभिड-१९ परीक्षणका) मापदण्ड विस्तार गर्दैछौं। जो कोहीसँग पनि लक्षणहरू छन् वा जो कोही कमजोर अवस्थाका अन्य मानिसहरूसँग काम गर्नुहुन्छ, कृपया परीक्षण गराउनुहोस्,” शुक्रवार बिहानको आफ्नो प्रेस ब्रिफिंगका बखत ग्लाडिस बेरिजिक्लियनले भनिन्।

सोही अवसरमा न्यु साउथ वेल्स राज्यकी प्रमुख चिकित्सकीय अधिकृत केरी च्यान्टले आफ्नो राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका अधिकांश मानिसहरूले स्वास्थ्य लाभ गरिसेकेको जानकारी दिइन्।
उनका अनुसार न्यु साउथ वेल्स भर कुल २,९८२ सङ्क्रमण पुष्टि भएका मानिसहरू रहेकोमा २,०५६ जना पुरै निको भइसकेका छन्।
उता, अस्ट्रेलियाका प्रमुख चिकित्सकीय अधिकृत ब्रेन्डन मर्फी भन्छन् कि साना समूहहरूलाई भेला हुन अनुमति दिनु कोरोनाभाइरस प्रतिबन्ध हटाउन पहिलो कदम हुन सक्दछ।
मर्फीले एक संसदीय समिति समक्ष कोरोनाभाइरस विरुद्ध सरकारी प्रतिक्रिया र कदमहरूको बारेमा बोल्ने क्रममा उक्त सङ्केत गरेका हुन्।
उनले यो पनि भने कि सामुदायिक खेलकुद र खुद्रा व्यापारहरूमा प्रतिबन्ध खुकुलो बनाउने तर्फ सरकार विचार गरिरहेको छ।

“हामीले धेरै नै छिटो प्रतिबन्ध खुकुलो गरे सिंगापुरकै जस्तो अवस्था आउन सक्छ,” डा मर्फीले उक्त पूर्वी एसियाली देशमा सङ्क्रमणको दोस्रो लहर देखिनु ठुलो चिन्ताको विषय भएको उल्लेख गर्दै भने।
प्रधानमन्त्री स्कट मरिसनले पनि प्रतिबन्धहरू आगामी तीन हप्ता पछि कम गर्न सकिने सङ्केत गरेका छन्।
प्रधानमन्त्रीले नियमहरू परिवर्तन गर्नु अघि आवश्यक पर्ने तीन आवश्यकताहरूको रूपरेखा प्रस्तुत गरेका छन् जसमा थप परीक्षण, राम्रो कन्ट्याक्ट ट्रेसिङ्ग र स्थानीय प्रकोपमा सुधारिएको प्रतिक्रिया समावेश छ।
तर ब्रेण्डन मर्फीले पूर्ण रूपमा सबै प्रतिबन्धहरू कहिले हट्छन् भनेर भन्न “असम्भव प्राय” रहेको चेतावनी दिँदै भने।

उनले भने कि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना सबैभन्दा अन्तिममा मात्र खोलिनेछ र कम्तीमा पनि आगामी तीनदेखि चार महिनासम्म यसमा कुनै परिवर्तन हुँदैन।
“म भविष्यमा अन्तर्राष्ट्रिय जोखिम तत्काल घट्ने त्यस्तो केही देख्न सक्दिन जसले गर्दा हामी हाम्रो सिमानाहरू पुनः सुचारु गरौँ," उनले भने।
प्राध्यापक मर्फीले यो पनि चेतावनी दिएका छन् कि अन्तर्राष्ट्रिय यात्राका प्रतिबन्ध सहज भए पनि फर्कने यात्रुलाई कडा आइसोलेसनमा बस्न भनिने सम्भावना छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

