अस्ट्रेलिया भर ४ लाख भन्दा बढीको सङ्ख्यामा रहेका हिन्दुहरूको पर्व सुरु हुँदै गर्दा यस पटकको पर्व अन्य बेला भन्दा केही फरक हुने भएको छ ।
हिन्दुहरूको पर्वमा दसैँ सँगै तिहार र दिवाली अक्टोबर महिनामा सुरु भएर नोभेम्बरमा अन्त्य हुने गर्दछ ।
अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेकी सोनिया राई तिन वर्ष पछि आफ्ना परिवार र नातागोता सँग दसैँ मनाउन नेपाल जाने योजनामा थिइन् तर कोभिड महामारी सँगै उनको यो योजना यस पटक विफल भएको छ ।
“दसैँमा तिन वर्ष पछि घर जाने योजनामा थिए , तर कोभिडका कारण यस पटक पनि निधार खालि नै हुने भयो “ सोनिया भन्छिन् ।

विजयादशमीमा हिन्दुहरूले आफ्ना आफन्त वा ठुलाबडाको हातबाट टिका ग्रहण गर्ने चलन छ । स्वास्थ्य र सुखी जीवनको कामना सहित आफूभन्दा ठुला मानिसहरूबाट आर्शिवाद र उपहारको आदान प्रदान गरिने गरिन्छ ।
सिड्नीमा रहेका पण्डित प्रकाश धोदरी भन्छन् "यस पटकको दसैँमा दिइने आर्शिवाद केही फरक भएको छ, अधिकासले महामारीको अन्यको कामना गरेका छन् ।"
पण्डित धोदरीका लागि यो महिना बर्सकै सबैभन्दा व्यस्त रहने महिना हो । सिड्नीमा नेपाली भाषीहरूको बाहुल्यता बढे सँगै उनको व्यस्तता पनि बढेको छ ।
उनी भन्छन् “यस पटक पनि कोरोनाका बाबजुद व्यस्तता कायम नै रह्यो”
हाल सिड्नीको ग्रयानभिलमा बस्ने पण्डित धोदरी विगत १३ वर्ष देखि अस्ट्रेलियामा रहँदै आएका छन् । उनी नेपाली हिन्दु समाज अस्ट्रेलियाका संस्थापक सदस्य एवम् कोषाध्यक्ष पनि हुन् ।
ग्रान्डभिल र यसका छिमेकी सर्वव अर्बनमा नेपालीहरूको उल्लेख्य मात्रामा बसोबास छ ।
उनी भन्छन् “म बस्ने स्थानको वरपर मात्रै पनि १४ नेपाली परिवार बसोबास गर्छन् ”
उनी हालका दिनमा नेपालीहरूको बढेको सङ्ख्याका कारण धार्मिक कार्यक्रमहरू आयोजना गर्न निकै सजिलो भएको बताउँछन् ।
”पहिलेका दसैँमा बजारमा आवश्यक पूजा सामाग्रीहरू नपाउँदा धार्मिक कार्य गर्दा सम्झौतामा चल्दथे ”

न्यू साउथ वेल्स राज्यमा कोरोनाका सङ्क्रमण घटे सँगै प्रतिबन्धहरू खुकुलो भएकोमा खुसी छन् ।
यद्यपि नेपालमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै उनी चिन्ता व्यक्त गर्छन् ।
उनी भन्छन् “धेरै मानिसका परिवारका सदस्यमा कोरोना सङ्क्रमण देखिएको छ जसका कारण यसपालिको दसैँ धेरैका लागि निरस बनेको छ”
मेलबर्नमा दसैँ
विजयादशमीको दिन भिक्टोरियामा कुनै पनि सङ्क्रमण देखिएन । र यो जुन महिना पछाडि कै पहिलो सुखद घटना थियो ।
मेलर्वनकी बासिन्दा दिपा राईको दशैको दिन कोभिड–१९ का कारण समस्यामा परेका ४ सय भन्दा बढी बिद्यार्थीहरुलाई खाना वितरण गरेर बित्यो ।
विभिन्न व्यक्ति एवम् संस्थाको सहयोगमा ३० भन्दा बढी व्यक्तिहरू यसरी खाना वितरण कार्यक्रममा सहभागी भए । खाना सँगै दशैका लागि चाहीने अन्य सामाग्री पनि वितरण गरियो ।
पहिलेका दशैको सम्झना गदै दिपा राई भन्छिन् “साथीभाइ सँग तास खेल्दै विभिन्न परिकार खाएर रमाइलो गदै दसैँ बित्थ्यो”

तर यसपालिको दसैँ उनका लागि सम्झन लायक भएको छ । उनी भन्छिन् “धेरै अन्तर्राष्ट्रिय बिद्यार्थीहरुका लागि परिवार सँग टाढा रहेको पहिलो दसैँ थियो,र उनीहरू हामी सँग टिका लगाउन चाहन्थे जुन निकै भावनात्मक थियो ”
२७ अक्टोबर बाट खुद्रा एवम् आतिथ्य सेवा सञ्चालन हुने भएपछि बिद्यार्थीहरु पुन काममा फर्कने सम्भावना बढेको छ ।

कोभिड–१९ सुरक्षित भएर माया देखाउन अधिकारीहरूको आग्रह
स्वास्थ्य अधिकारीहरूले समुदायका मानिसहरूलाई कोभिड–१९ का प्रतिबन्धहरूको पूर्ण पालना गर्न र आवश्यक परे जँचाउनका लागि आग्रह गरेका छन् । सङ्घीय स्वास्थ्य विभागका प्रवक्ता भन्छन् “धार्मिक बिदा वा पर्वहरूले अस्ट्रेलियामा जारी सामाजिक दुरीको नियमलाई केही फरक पादैन”
उनी थप प्रस्टयाउछन् “वातावरणीय वा सामाजिक कारकहरूले भाइरसको संक्रमणदरमा निकै फरक पार्न जान्छ, विशेष गरी मानिसहरूको भिडभिडमा र जहाँ साझा बस्तुहरूको सामूहिक प्रयोग हुन्छ,जस्तै विवाह, सामाजिक वा धार्मिक भेलाहरू”

न्यू साउथ वेल्स स्वास्थ्य विभागका प्रवक्ताको भनाई पनि उस्तै छ । उनी भन्छन् “आफ्ना नजिकका साथी भाइ वा आफन्त सँग रमाउनुहोस् सम्भव भएसम्म भिडभाडका ठाउँहरूबाट बच्नुहोस्”
भिक्टोरियाको स्वास्थ्य एवम् सामाजिक सेवा विभाग प्रतिबन्धहरूको बारेमा विचार गर्न आग्रह गदै भन्छ “कुनै पनि धार्मिक उत्सवको लागि जम्मा हुने जो कोहीले कोरोना भईरस सम्बन्धी प्रतिबन्धहरूको पालना गनै पर्दछ ,जसमा मास्क लगाउनु,सरसफाइ कायम गर्नु र सामाजिक दुरी रहन्छन् ”
