SKIP TO MAIN CONTENT

सन् २०१९/२० मा अस्ट्रेलियाको पीआर पाउने नेपालीको सङ्ख्या पाँच हजार भन्दा बढी

गएको आर्थिक वर्षमा पाँच हजार भन्दा बढी नेपाली नागरिकले अस्ट्रेलियाको स्थायी भिसा प्राप्त गरेका छन्।

Nepali in Melbourne, Australia
Source: Abhas Parajuli

2 min read

Published

Updated

By Tom Stayner



Skip to article content

सङ्घीय सरकारद्वारा प्रकाशित वार्षिक आप्रवासी कार्यक्रम प्रतिवेदनका अनुसार कार्यक्रम वर्ष २०१९/२० मा कुल ५,०४८ नेपाली नागरिकले अस्ट्रेलियाको स्थायी भिसा (पीआर) प्राप्त गरेका हुन्।

ती मध्ये ४,६६६ नेपालीले दक्ष आप्रवासी वर्ग अन्तर्गत अस्ट्रेलियाली स्थायी भिसा पाएका हुन् भने बाँकी ३८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा पीआर पाएको २०१९/२० माइग्रेसन एन्नुअल रिपोर्ट नामक सो प्रतिवेदनले जनाएको छ।

यसै गरी उक्त रिपोर्टले वार्षिक रूपमा नेपाली नागरिकहरूले अस्ट्रेलियाली स्थायी भिसा पाउने सङ्ख्या वृद्धि हुँदै गइरहेको पनि देखाएको छ।

कार्यक्रम वर्ष २०१०/११ मा जम्मा २,०६१ नेपाली नागरिकले स्थायी भिसा प्राप्त गरेकोमा २०१४/१५ सम्म आइपुग्दा यो सङ्ख्या दोब्बरभन्दा पनि बढी हुँदै ४,१३० पुगेको थियो।

त्यसै गरी कार्यक्रम वर्ष २०१७/१८ मा ३,०६७ जनामा झरेको यो सङ्ख्या २०१८/१९ मा पुनः चार हजार कट्दै ४,०९६ पुगेको थियो।

पछिल्लो आँकडासँगै अस्ट्रेलियाली स्थायी भिसा पाउने मानिसहरूको राष्ट्रको सूचिमा नेपाल पहिलो दशमा परेको छ र योसँगै कार्यक्रम वर्ष २०१९/२० मा छैटौँ स्थानमा उक्लिएको छ भने पहिलो पाँचमा भारत, चीन, संयुक्त अधिराज्य, फिलिपिन्स र भियतनाम रहेका छन्।

Migration Program Outcome by country and region of citizenship
Source: Department of Home Affairs

कार्यक्रम वर्ष २०१०/११ मा १६ औँ स्थानमा रहेको नेपाल, २०१४/१५ मा ९ औँ, २०१७/१८ मा १० औँ र २०१८/१९ मा ८ औँ स्थानमा थियो।

कार्यक्रम वर्ष २०१९/२० मा १४०,००० जनालाई स्थायी भिसा प्रदान गरिएको र ती मध्ये दुई तिहाइ - अस्ट्रेलियामा नै रहेका मानिसहरू रहेको मोरिसन सरकारले बताएको छ र स्थायी भिसा पाउने मध्ये ७० प्रतिशत वा ९५,८४३ जना पेसागत दक्षता अन्तर्गतका आवेदकहरू रहेका थिए।

साथै २०१८/१९ मा १८ हजारभन्दा बढीलाई प्रदान गरिएको ग्रामीण (रिजनल) भिसा सङ्ख्यामा यस पटक २७ प्रतिशतले वृद्धि भएको पनि सङ्घीय सरकारको भनाइ छ।

रिजनल भिसामा ८,३७२ जनाले स्किल्ड इम्पलोयर स्पन्सर्ड र १५,००० आवेदकले स्किल्ड वर्क रिजनल वर्गका स्थायी भिसा प्राप्त गरेका थिए।

पारिवारिक कार्यक्रम अन्तर्गत ३७,११८ जनाले पार्टनर भिसा र त्यसै गरी ४,३९९ जनाले अभिभावक भिसा पाएको पनि अध्यागमन विभागको प्रतिवेदनमा उल्लेख छ।

कार्यवाहक अध्यागमन मन्त्री एलन टजका अनुसार कोरोनाभाइरसका कारण आप्रवासी भिसा सम्बन्धी नयाँ योजनाहरूबारे आगामी अक्टोबर महिनामा घोषणा गरिने छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now