LIVE, FREE and EXCLUSIVE


Explainer
Published
Updated
चट्टान नै चट्टानले बनेको हार्ट्स रेन्जलाई झट्ट हेर्दा यस्तो लाग्छ कि मानिलियुँ सुदुर नर्दर्न टेरिटरीको समथर जमिनलाई चिरेर ऊ बाहिर निस्कन खोज्दै छ।
फेरी त्यो धर्ती स्थानिय आदिवासीहरूका लागि निकै आध्यात्मिक महत्त्वको रहेको जमिन हो जहाँ अस्ट्रेलियाका प्रथम बासिन्दाहरुको सँस्कृति जीवन्त छ र जहाँ उनीहरूको स्वपनकालको कथाहरू तपाईँका आँखाका नानी अगाडी प्रत्यक्ष हुन्छन्।
तर, सोही जमिनमा एउटा बिल्कुलै नयाँ कथा कोरिँदै छ।
देशको मरभूमि युक्त मध्यभागबाट सडक बनाउनु निकै सुस्त र परिश्रम युक्त प्रकिया हो।
तर, गाडी चलाएर जाँदा पनि २९ घण्टा टाढाको ठाउँबाट देशका एक प्रभावशाली नेताले यसबारे बोलिदिँदा भने, अब चाहिँ केही होला कि जस्तो देखिएको छ।

उप-प्रधानमन्त्री समेत रहेका नेश्नल पार्टीका प्रमुख नेता बार्नबी जोइसले केही समय पहिले क्यानबेरामा राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै भने, “यो बाटो निर्माणको कार्य सम्पन्न गर्न ढिलो भइसकेको छ।”
उनी भन्छन् कि सो सडक सञ्जाल प्रयोग गरेर आफ्नो जीवन चलाउने सबै राष्ट्रवासीहरुले “२१ औं शताब्दीको प्राथमिक आवश्यक्ताको रूपमा रहेको कालोपत्रे सडक,” पाउन ज्यादै अबेर भइसकेको छ।
बार्नबी जोइसले क्यानबेेराको आफ्नो भाषणमा उल्लेख गरेको बाटो हो - आउटब्याक वे।
यो खासमा कुनै एक सडक विशेषको नाम नभई, देशको मध्य भाग भएर जाने थुप्रै राजमार्ग तथा सडकहरूको सञ्जाललाई दिइएको नाम हो।

अर्को सङ्घीय निर्वाचन बारे चर्चा सुरु हुनै लाग्दा, यसबारे एक प्रभावशाली नेताले बिना कहिँ कतै सोधनी नै नभइ रणनीतिक सङ्केत गर्नुलाई कतिपय अभियन्ताहरुले स्वागत गरेका छन्।
यो सडक सञ्जाल बारे उप-प्रधानमन्त्रीले कुरा उठाउनुको प्रमुख कारण के हो भने, हरेक निर्वाचनका बेला यसका वरपर थुप्रै भोटिङ बुथहरू स्थापना हुने गर्छन।
अनि, अब हुने सङ्घीय चुनावका बखत मतदान गर्न आउने नर्दर्न टेरिटरीका स-साना समुदायहरुले महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान परिवेक्षकहरूको छ।
हाल उक्त मार्गमा पर्ने एक निर्वाचन क्षेत्रलाई सङ्घीय संसद्मा लामो समयसम्म प्रतिनिधित्व गर्दै आएका र स्थानिय रूपमा निकै लोकप्रिय मानिएका लेबरका वारेन स्नोडनले अबको कार्यकालपछि चुनावमा भाग नलिने घोषणा गरेपछि भने त यसको आवश्यकता अझै प्रष्ट भएको छ।
गठबन्धन सरकारले यस अवसरको फाइदा उठाउन आउटब्याक वे अभियानलाई लामो समयदेखि समर्थन गर्दै आइरहेका र एलिस स्प्रिङ्ग्सका पूर्व मेयर डेमियन रायनलाई सो सिटको दावेदारका रूपमा टिकट दिने तय गरिसकेको छ।

डार्विन बाहेक सम्पूर्ण नर्दर्न टेरिटरीको भूभाग समेट्ने उक्त भयङ्कर ठूलो सङ्घीय निर्वाचन क्षेत्रको ग्रामिण भूभागमा पर्ने पूर्वाधार केन्द्रित हुँदा, चुनाव जित्न सत्तारूढ गठबन्धनलाई केही सहज हुने जानकारहरू बताउँछन्।
खासगरी लेबरले अर्को लोकप्रिय अनि स्थानिय समुदाय माझ भिजेकी र नर्दर्न टेरिटरीको प्रादेशिक संसद्मा चुनिएकी पहिलो आदिवासी पृष्ठभूमिकी म्यारिएन सक्रिमगरलाई उक्त सिटका लागि टिकट दिँदै गर्दा नेश्नल पार्टीले सो रणनैतिक कदम चालेको हो।
लेबरले पनि आफू यस सडक सुधार परियोजनाको पक्षमा रहेको बताएको छ।
देशको राजधानी क्यानबेरा स्थित एउटा चिसो चोकबाट बोल्दै, पूर्वाधार सम्बन्धि छाया मन्त्री क्याथरिन किङले एसबीएसलाई भनिन्, “मेरो बिचारमा आउटब्याक वे एउटा गजबको प्रोजेक्ट हो।”
तर दुर्गम अस्ट्रेलियामा सडकहरुको कुरा गर्दा, आउटब्याक वे मात्र महत्त्वपूर्ण मानिएको पुर्वाधार परियोजना चाहिँ होइन।

एलिस स्प्रिङ्ग्सलाई वेस्टर्न अस्ट्रेलियाको हल्स क्रीक जोड्ने टनामी रोड बारे पनि जोडदार रूपमा लबि भइरहेको छ।
किङ भन्छिन् कि लेबरले यी दुवै परियोजनाहरूलाई महत्त्वका साथ हेरिरहेको छ।
अनि आउटब्याक वेसँग उनको व्यक्तिगत सम्बन्ध पनि छ।
आफ्नो युवा अवस्थामा क्याथरिन किङले आउटब्याक वे हुँदै थुप्रै पटक घुम्न निस्केकी छिन्।
किङका अनुसार उक्त मार्गको सौन्दर्यता लाजबाब छ र यदि यसको स्तर्रोन्नति हुन्छ भने, स्थानिय समुदायहरुलाई ठूलो फाइदा पुग्नेछ।
“यो परियोजनालाई एकदमै गम्भिरताका साथ लिनुपर्छ,” उनी भन्छिन्।
आउटब्याक वेको पिडा के हो भने, मर्मत सम्भारको अभावमा पनि यो कहिँ ठिकै छ तर बाँकि ठाऊँमा भनेअत्यन्त नाजुक अवस्थामा यसलाई भेट्न सकिन्छ।
क्वीन्सल्यान्डको बोउलियाबाट सुरू हुने यो सडक सञ्जाल, नर्दर्न टेरिटरीभर नागबेली पर्दै हार्ट्स रेन्ज र एलिस स्प्रिङ्ग्स हुँदै उलुरू कता-टीजुता राष्ट्रिय निकुञ्ज भित्रबाट वेस्टर्न अस्ट्रेलियाको ल्याभर्टनसम्म पुग्छ।
अनि बारम्बारको आश्वासन र प्रक्षेपणहरूका बाबजुद कुल २७,०० किलोमिटर मध्ये, आउटब्याक वेको १,२०० किलोमिटर अझ पनि ग्राभेल नै छ।
यही कारणले गर्दा उच्चभार बोक्ने सवारीका लागि अस्ट्रेलियाली महादेशको पूर्व-पश्चिम गर्न केवल दुई विकल्प मात्रै छन्।

तिनले कि त ग्रेट अस्ट्रेलियन बाइटको समुद्रसँग जोडिएको चट्टानहरू माथिको घुमाउरो बाटो प्रयोग गर्नु पर्यो नत्र भने, देशको सबैभन्दा माथिल्लो तट हुँदै जाने नर्दर्न हाइवे छान्नु पर्यो।
विभिन्न सरकारहरुले बितेका समयमा बाटो सुधार गर्न पैसा नखनाएका त होइनन् तर, पुरै आउटब्याक वेको स्तरोन्नति गर्न अझै ९०० किलोमिटरलाई कालोपत्रे हुनुपर्नेछ र जसको लागि थप रकम आवश्यक छ।
परम्परागत भूमिपति एन्थोनी प्याट्रिक, प्लेन्टी राजमार्गको छेऊमा उभिँदै आउटब्याक वेको, भविश्य बारे आसा व्यक्त गर्छन्।
प्याट्रिक उभिएको ठाउँ भन्दा अलि पर उनको अतितजेरे नाम गरेको समुदाय बसोबास गर्ने थलो छ।

सडक सञ्जाल सुधार भएमा उनी क्वीन्सल्यान्ड तर्फबाट थप सङ्ख्यामा पर्यटक, सस्तोमा खाद्यान्न र अन्य उपभोग्य वस्तुहरु सजिलै आउनेमा ढुक्क देखिन्छन्।
साथै एन्थोनी प्याट्रिक के पनि आसा राख्छन् भने, सडकको अवस्था राम्रो भएपछि आफ्ना नातागोता र साथीभाई, कार दुर्घटनामा परेको कहालीलाग्दो फोनहरु पनि बिस्तारै आउन बन्द हुनेछन्।
अहिले नै पनि उनको समुदाय बस्ने ठाउँलाई एलिस स्प्रिङ्ग्ससम्म जोड्ने उक्त मार्गको केही भाग मर्मत भएपछि बिरामी र बुढापाकाहरुलाई, अस्ट्रेलियाको मध्य भागमा अवस्थित त्यो ग्रामिण शहरको स्वास्थ्य केन्द्रमा, एक्लै समय बिताउनु पर्ने अवस्था लगभग अन्त्य भएको छ।
अनि सांस्कृतिक रुपमा स्थानियहरूलाई बुझ्ने मौका पनि उक्य पूर्वाधारले दिने बताउँछन्, एबोरिजिनल पृष्ठभूमीका प्याट्रिक।
“पर्यटकहरू आऊँदा हामीलाई मानून् र उनीहरुले पनि सत्कारको अनुभव गर्न सकून्,” उनले भने।
“एक-अर्काको आदर गर्ने दोहोरो काम होस्।”
यो क्षेत्रमा आदिवासी कलाकारका कृति र ग्यालरीहरु पनि मनग्य सङ्ख्यामा पाउन सकिन्छ।
राजमार्गको झण्डै ७० किलोमिटर खण्डमा केही कलाकृतिहरु “आउटडोर आर्ट ग्यालरी” भनेर प्रदर्शनीमा लागि राखिएका छन्।
अनि यात्रा गर्दै ती कलाकृतिसँगै टाँसिएको क्युआर कोड स्क्यान गरेर तपाईँले आफूलाई मन परेको चित्रकला किन्न पनि सक्नुहुन्छ।

यहाँ रहेका थुप्रै कुराहरू झैं यो काम गर्न तपाईँलाई धैर्यता चाहिन्छ, र के गर्या होला भनेर पनि मनमा कुरा खेल्न सक्छ, किनकी चर्को घाममा दिनका केही घण्टा ती साइनबोर्डमा के लेखिएको छ भनेर, बाटोबाट पढ्न लगभग असम्भवप्राय: हुन्छ।
तर, अतितजेरे समुदाय बसोबास गर्ने क्षेत्रमा ठडिएका केही कलाहरू सोही स्थानमा रचना नभएका भन्दै, केही स्थानियले यसलाई मन पराएका छैनन्।
अर्को तर्फ, राजमार्गको छेउ यसरी चित्रकलाहरू प्रदर्शनी गर्ने सोच, यहाँबाट हिँड्ने थुप्रै पर्यटकहरूले मन पराएको देखिन्छ किनभने यसले लामो र एकनासे यात्राबाट केही राहत दिएको महशुस तपाईँले गर्नसक्नुहुन्छ।
अतितजेरे समुदायका मानिसहरू चाहिँ बाटोको स्तरोन्नती भएपछि, कपाल फुलेका घुमन्तेहरू र परिवार सहित भ्रमणमा निस्कने, मानिसहरूको आगमनमा वृद्धि हुने आसा गर्छन्।
समुदायको आफ्नै स्वामित्वमा रहेको क्याम्पसाइट र नजिकैका स्थानिय आदिवासी पर्यटकिय आकर्षणका केन्द्रहरू यिनै घुमन्ते मानिसहरु माथि निर्भर छन्।
एलिस स्प्रिङ्ग्स तिर लाग्ने बाटो प्लेन्टि हाइवेमा यस्तै क्याम्पिङ र क्याराभान पार्क सञ्चालन गर्छन् एलेक्स चामर्स।

जेमट्री नामक उनको व्यवसायले नजिकैका जिक्रोन नामक निलपत्थर र गार्नेट नामधारी बहुरङ्गी बहुमुल्य अन्य पत्थर खोज्ने टुरहरुको चलाउँछ।
क्वीन्सल्यान्ड जाने बाटो कालोपत्रे भइदियो भने त आफ्नो व्यसायको कायापलट हुने उनी बताउँछन् र बाटोको स्तरोन्नती कुर्दा-कुर्दै दशकौं बितिसकेको कुरा सुनाउँँछन्।
एक पटक आउटब्याक वे अभियान “रक टु रीफ”मा केन्द्रित रहको सम्झना गर्दै चामर्स भन्छन् कि, रोमाञ्चकारी स्नोर्कलिङका लागि उत्तरी क्वीन्ल्यान्डको स्वर्गरूपी ठाउँ र उलुरू जोड्ने, बाटो बन्ने खुब कुरा चलेको थियो।

महामारीका कारण अन्तराष्ट्रिय सिमा बन्द नै रहेको परिपेक्षमा उनको आसा छ, आन्तरिक सिमा सहज हुँदै गर्दा, देशको यस्ता टाढा-टाढा ठाउँहरु तर्फ धेरै मानिसहरु आकर्षित हुनेछन्।
“आउँदो साल पर्यटनका लागि बम्पर सिजन भयो भने म अचम्म हुन्न,” एलेक्स चामर्स भन्छन्।
आउटब्याक वेमा भ्रमण गर्दै जाँदा तपाईँ यदाकदा भिमकाय बी-ट्रिपल ट्रकहरू ग्राभेल उडाउँदै बाटो धुलाम्य गर्दै दौडिरहेको पनि देख्न सक्नुहुन्छ।
बाटोको अर्को तर्फ त्यही बेला गाडी चलाइराख्नु भएको छ भने चाहिँ तपाईँले आफ्नो स्टेरिङ बेस्कन समातेको पत्तै पाउनुहुन्न, डरका कारण।
यी सडकमा हिँड्न दरो मुटु चाहिन्छ र रोमाञ्चकता पनि यसैकारण अनुभव हुन्छ।
सरकारको सोच पनि दूर-दराजका यस्ता समुदायहरू समक्ष आधारभुत सेवाहरू विस्तार गर्न सकियो भने, मानिसहरूले “बुश एड्भेन्चर”लाई नियमित क्रियकलापका रूपमा अङ्गाल्नेछन्।
तर पनि उसले सतहमा देखिने सौनदर्यतामा मात्र होइन, जमिन मुनि भेटिने खजानामा पनि उत्तिकै ध्यान दिएको भान हुन्छ।

बार्नबी जोइस भन्छन्, “हामी उत्तरी एलिस स्प्रिङ्ग्सका बहुमुल्य खनिज पाइने इलाकासँग ल्याभर्टनको सुन पाइने क्षेत्र जोड्ने छौं।”
“औपनिवेशिक राजधानीहरूका रूपमा २०० वर्षभन्दा पनि पहिले स्थापित यी ठाऊँहरूमा अहिले अवसर, दक्षता र जनसङ्ख्या समानुपातिक रूपमा उपलब्ध छैनन्,” उप-प्रधानमन्त्री जोइस भन्छन्।
“हामीले गत शताब्दीको सुरुतिर क्यानबेरा निर्माणका समय देखाएको जोस जाँगर जस्तै, यी ठाउँहरूमा पनि पूर्वाधार निर्माणका लागि समान प्रोत्साहन नदिएसम्म केही परिवर्तन हुने वाला छैन।”
आउटब्याक वे सडक सञ्जालका सबै बाटाहरू नराम्रै भने छैनन्।
केही त यति विश्वस्तरका छन् कि तपाईँले नर्दर्न टेरिटेरी पुगेका सबै चाख्नै पर्ने त्रिकोणात्मक कार्टुनमा पाइने आइस कफि, एक पटक पनि कतै नपोखी पिउन सक्नुहुन्छ।
तर फेरी कुनै यस्ता पनि अवस्थामा सडकहरू छन् कि जहाँ पाङ्ग्रा कामै नलाग्ने भएर गाडी यात्रुहरूले त्यसै छाडेर आफ्नो बाटो लाग्नु परेको छ।
समयसापेक्ष रुपमा यी बाटोहरूको पुनर्निर्माण नहुने होइन तर यी ठाऊँमा कहिले काहीँ यस्तो ठूलो पानी पर्छ कि त्यसले ग्राभेलको माथिल्लो भाग पुरै बगाइदिन्छ र बाँकि रहन्छ त केवल खल्ड्याङ-खुल्डुङ परेको नाम मात्रको सडक।

यी कतिसम्म बिग्रेका हुनसक्छन् भने गाडी गुडाउँदा थर्किएर शरिरका हड्डीहरू नै फुस्कने त हैनन् भन्ने सोच हावी हुन थाल्छ।
नभए, स्टेरिङबाट हात कति खेर छुट्ने हो भनेर मनमा एक किसिमको सन्त्रासले ठाऊँ लिइ नै रहेको हुन्छ।
बाटो कत्तिको राम्रो र नराम्रो हुनसक्छ भन्ने उदाहरण उलुरू कता-टीजुता राष्ट्रिय निकुञ्ज नजिकैको सडक खण्डमा प्रस्ट देख्न सकिन्छ।
विश्व प्रसिद्ध पार्क अगाडिको बाटो त चिल्लो र समथर छ, तर जब तपाईँ त्याहाँबाट पश्चिम तर्फ लाग्नुहुन्छ, सडक अनायसै सकिएको भान हुन थाल्छ।
अझ मोटरसाइकलमा हुनुहुन्छ र पानी परेको बेला त्याहाँ पुग्नुभयो भने बेकारमै यता आएछु भन्नु पर्ने अवस्था आइलाग्न सक्छ।

तर, महामारी लम्बिँदै जाँदा थोत्रा र सेकेन्ड ह्यान्ड भ्यान र ठुला कार लिएर रोमाञ्चक यात्रा गर्ने मानिसहरुको लर्को भने हाल सुक्दै गएको छ।
बाटोको अवस्था सुध्रियो भने आपूर्ती हुने खाद्यान्न लगायतका सेवा र अन्य सुविधाहरू सबको स्तरोन्नती हुनेमा दुईमत छैन तर काम भने निकै छ।
हाल आउटब्याक वेको १,२०० किलोमिटर वा ४० प्रतिशत सडक कालोपत्र गरिएको छैन।
आउटब्याक वे हाइवे डिभलप्मेन्ट काउन्सिल इन्करपोरेटेड राज्य, प्रदेश र सङ्घीय सरकारसँग लबि गर्ने समुह हो जसले सो सडक सञ्जालको स्तर बढाउन सन् १९९७ देखि आवाज उठाउँदै आइरहेको छ।

यो समूहका अनुसार ३०० किलोमिटर सडक खण्डका लागि रकम पहिले नै छुट्याइसकिएको कारण अब बाँकि ९०० किलोमिटरका लागि मात्र भुक्तानि दिनुपर्नेछ।
उनीहरूले आर्थिक वर्ष २०२५/२६ सम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी रकम जोहो गर्ने लक्ष्य लिएका छन्।
यसका लागि महामारीका कारण सृजित विषम परिस्थितीबाट बाहिर निस्कन सरकारले चलाएको आर्थिक पुनर्जागरण अभियान अन्तर्गतबाट पाइन सकिने सहयोग र राष्ट्रिय सुरक्षाका लागि विनियोजित कोषसम्ममा सो संस्थाको आँखा परेको छ।

तर, एनेट मौन्डर जस्ता यात्रीका लागि भने आउटब्याक वेमा सफर गर्नु जीवनमा एकपटक गर्नै पर्ने क्रियकलापहरु मध्येको एक हो।
“बाटोको स्थिती सुध्रियो भने हामी जस्ता बुढ्यौली लागेका मानिस र परिवारहरूलाई सजिलो हुने थियो,” फोर ह्विल गाडीको सामाग्रीबाट बनेको ढोकामा उभिँदै उनी भन्छिन्।
“सूर्योदय, सूर्यास्त र मन्त्रमुग्ध पार्ने रङ्गहरू अनि राती देखा पर्ने झिलमिल ताराहरू, मानिसहरूले यो हेर्न आउनै पर्छ, यसको वर्णन गरेर साध्यै छैन।”
अन्ना हेन्डरसनले माइकल गर्डन फेलोशिप अन्तर्गत यो अङ्ग्रेजी भाषामा तयार पारेकी हुन्। सो फेलोशिप सामाजिक न्याय पत्रकारिता सक्षमताका लागि राष्ट्रिय पहल हो।