SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा अबदेखि प्रतिघण्टा कम्तिमा पनि २१.३८ डलर कमाई, कम तलब पाए उजुरी गर्न सल्लाह

नयाँ आर्थिक वर्षसँगै अस्ट्रेलियाको न्युनतम तलब दरमा ५.२ प्रतिशतको वृद्धि भएको छ।

wage decline
Minimum wage has increased from July 1. Source: SBS

2 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियामा न्यूनतम ज्यालामा काम गरिरहेका मानिसहरूको तलब हप्तामा ४० डलर बढ्ने भएको छ।

फेयर वर्क कमिसनको निर्णय अनुसार, प्रतिघण्टा २०.३३ अस्ट्रेलियन डलर तलब पाउँदै आएका कामदारहरूले जुलाई १ तारिकबाट प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर पाउने भएका हुन्।

यसको मतलब न्यूनतम साप्ताहिक तलब अब ८१२.६० डलर कायम भएको छ।

फेयर वर्क कमिसनका अध्यक्ष इयन रसले जीवनयापनको बढ्दो लागत र बढ्दो मुद्रास्फीतिले तलब वृद्धि गर्नमा भूमिका खेलेको बताए।

"मुद्रास्फीतिले ज्यालाको वास्तविक मूल्य घटाउँछ र उनीहरूको जीवनस्तरलाई मुस्किल बनाउँछ," रोसले भने।

"बढ्दो मुद्रास्फीतिका कारण कम तलब पाउने मानिसहरू कमजोर बनेका थिए।"

कर्मचारी सङ्गठनहरूले भने बढ्दो मुद्रास्फितीसँग तालमेल मिलाउने गरी ५.५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका थिए।

उता, रिजर्भ बैङ्कका गभर्नर फिलिप लोवीले वर्षको अन्त्यसम्म मुद्रास्फीति बढेर ७ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

कति बढ्यो त तलब?

फेयर वर्क कमिसनको न्यूनतम तलबमा वृद्धि गर्ने निर्णयसँगै हाल प्रतिघण्टा २० डलर ३३ सेन्ट पाइरहेका कामदारहरूले नयाँ आर्थिक वर्षदेखि प्रतिघण्टा अतिरिक्त १ डलर ५ सेन्ट प्राप्त गर्ने भएका हुन्।

आजदेखि न्यूनतम तलब प्रतिघण्टा २१ डलर ३८ सेन्ट पुगेको छ।

योसँगै, न्युनतम तलबदरमा साप्ताहिक रूपमा फुलटाईम काम गर्ने मानिसको आयमा ४० डलरको बढोत्तरी भएको छ भने मासिक रूपमा १६० डलरले तलबमा बढेको छ।

गत वर्ष न्यूनतम ज्याला २.५ प्रतिशतले वृद्धि भएको थियो।

नयाँ तोकिएको तलबले न्यूनतम ज्यालामा काम गदै आइरहेका करिब २७ लाख मानिसहरू लाभान्वित हुन सक्ने बताइएको छ।

यसैबिच अस्ट्रेलियन काउन्सिल अफ ट्रेड एन्ड युनियनकी सचिव स्याली मक्मानसले तलब वृद्धिको घोषणाले सङ्गठनहरूलाई 'खुसीसँगै गर्व' लागेको बताएकी छन्।

"कम तलब पाइरहेका कामदारहरू माथिको दबाबलाई यसले कम गर्नेछ," उनले भनिन्।

"तलब वृद्धिले न्यूनतम तलबमा काम गरी रहेका मानिसहरूलाई घर भाडा तिर्न, खाद्यान्न किन्न र बिलहरू तिर्न सहज हुनेछ।"

घण्टाको २१.३८ डलरभन्दा कम तलब पाए के गर्ने?

मेलबर्न स्थिति माइग्रेन्ट वर्कर सेन्टरका हरि श्रेष्ठले न्युनतम तलबभन्दा कममा काम गरिरहेका कामदारहरूलाई आफ्नो रोजगारदाताहरू विरूद्ध उजुरी गर्न सल्लाह दिन्छन्।

उनी भन्छन् कि अस्ट्रेलियामा आफू ठगिएको उजुरी गर्दा भिसा लगायतका कुरामा अप्ठेरो पर्दैन।

साथै कामदारहरूलाई उनीहरूको हकहितका लागि थुप्रै सहयोगी सेवाहरू पनि उपलब्ध रहेको श्रेष्ठले एसबीएस नेपालीलाई बताए।

हरि श्रेष्ठले विशेषगरी अस्ट्रेलियामा पहिलो पटक आइपुगेका आप्रवासी र विद्यार्थीहरूले आफूले पाउनु पर्ने तलबका बारेमा सहि जानकारी राख्नुपर्नेमा जोड दिए।

"सबैभन्दा पहिले त नयाँ आउने भाइ-बहिनीहरूले (अस्ट्रेलियाको) मिनिमम वेज वा न्युनतम तलब कति हो भनेर बुझ्न जरूरी छ," उनले भने।

श्रेष्ठसँग गरिएको पुरा कुराकानी सुन्नुहोस् null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
READ MORE

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now