कमनवेल्थ बैंक द्वारा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार धेरै अस्ट्रेलियालीहरुले आपतकालीन परिस्थितिका लागि केहि पैसा नछुट्टाएको र तीस प्रतिशतले आय भन्दा बढी खर्च गरि रहेकाछन्।
भिक्टोरियाको सामाजिक सेवा परिषदका अनुसार आफ्नो बजेट खर्च सन्तुलनमा राख्न मानिसहरुलाई समस्या रहेको कुनै नयाँ कुरा नभएता पनि पछिल्ला समयमा उक्त समस्या झनै गारो हुँदै गएका छन्।
परिषद कि कार्यकारी प्रमुख एम्मा किङ्ग भन्छिन कि यस्तो स्थिति जारी रहने हो भने यसले ठुलो संकट निम्त्याउन सक्ने छ।
बिजुली, खाना, यातायात लगायतका सेवाहरुको शुल्क मानिसहरुको तलब भन्दा बढी दरले वृद्धि भैरहेकोले पनि आफ्नो आय र खर्च माथि ध्यान दिनु धेरै जरुरी रहेको उनको भनाइ छ।
कमनवेल्थ बैंकको अध्यन अनुसार झन्डै पचास प्रतिशत अस्ट्रेलियालीहरु आफुले गर्ने खर्च प्रति सन्तुस्ट रहेका छैनन्।
साथै पचास प्रतिशत भन्दा बढीले आफुसँग अस्थाई रूपमा आय श्रोत नरहेको अवस्थाका लागि उपयुक बचत नरहेको पनि बताएका छन्।
तीस प्रतिशतले भने आपतकालीन परिस्थितिमा प्रयोग गर्न पाँच सय डलर पनि जम्मा गर्न नसक्ने आवस्थामा रहेको बताएका छन्।
क्रेडिट कार्डमा रहेका ऋण, घरहरुको बढ्दो भाउ र बढ्दो घर भाडा दरका कारण पनि अस्ट्रेलियालीहरु ठुलो आर्थिक दबाबमा रहेको राष्ट्रिय ऋण हेल्पलाइनको भनाइ छ।
