बिग ब्याश २०१८ : अहिलेसम्मको सर्वाधिक विकेट लिने खेलाडी बने सन्दीप लामिछाने

सन्दीप लामिछाने अहिलेसम्मको बिग ब्याशको खेलमा, प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बनेका छन्।

Sandeep Lamichanne

Source: Twitter (cricket Australia)

आज सिड्नीमा भएको मेलबर्न स्टार्स र सिड्नी सिक्सरबिचको खेलमा २ विकेट लिएर सन्दीप लामिछाने अहिलेसम्म प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बनेका छन्।

सिक्सरका कप्तान मोसिक हेनरिक्स लगायतकालाई पनि आउट गर्न सफल भएका लामिछानेले आजको खेलमा ४ ओभरमा १८ रन दिई २ विकेट लिएका थिए।

अहिलेसम्म उनले प्रतियोगिता मा ७ विकेट लिइसकेका छन्।

पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सका तर्फबाट खेलेका नेपाली स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनका साथ नेपाली लगायत अस्ट्रेलियालीहरूको पनि मन जितिरहेका छन्।

सिड्नी क्रिकेट ग्राउण्डमा बिहीबार सिड्नी सिक्सर्सका विरुद्ध भएको खेलमा त खेल अवधिभर सन्दीप कै चर्चा भयो।

बिग ब्यासमा मेलबर्न स्टार्सको तर्फबाट तेस्रो पटक खेल मैदानमा आएका सन्दीपले फेरी पनि २ विकेट लिएपछि खेल अवधिभर कमेन्टेटरहरूले उनको प्रशंसा गरेका थिए।

सन्दीप लामिछानेले एलबिडब्लु गरेका सिक्सर्सका कप्तान मोइसेस हेनरिक्सलाई कमेन्टेटरहरूले सन्दीपको सामना गर्न हिच्किचाएको हो भनेर प्रश्न गर्दा हेनरिकले सन्दीपको लेग स्पिन राम्रो भएको भन्ने जवाफ दिएका थिए।

१८ वर्षका बच्चा जस्तो अनुहार भएको व्यक्तिको अद्भुत कला भन्दै सन्दीपको बलिङ टेक्निक विश्वास गर्न नसकिने खालको भएको उनीहरूको भनाइ थियो।

सन्दीपको बल नियन्त्रण र लेग स्पिनको भरपुर प्रशंसा त भयो नै साथमा उनले विकेट लिइसकेपछि आफूलाई नै प्रोत्साहित गर्नका लागी हात उठाएको विषयलाई उद्धृत गर्दै उनलाई उत्कृष्ट व्यक्तित्व भन्दै पटक पटक टेलिभिजनमा देखाइएको थियो।

खेल अवधिभर सन्दीपको तारिफमा धेरै शब्दहरू खर्चिने मात्र होइन क्यामराले समेत उनलाई नै पछ्याई रहेको देखिन्थ्यो। साथै खेलको बिचमा सन्दीपको गायन कलालाई प्रष्ट्याउने एक सामाग्री समेत प्रस्तुत गरिएको थियो।

जब जब स्क्रिनमा सन्दीपलाई देखाइन्थ्यो दर्शकदीर्घामा बसेका नेपालको झन्डा बोकेर सन्दीपलाई हौसल्ला दिइरहेका नेपालीहरूको उत्साह झन् दोब्बर भएको देखिन्थ्यो।

नेपालीहरूबाट सन्दीपलाई प्राप्त समर्थनको निकै तारिफ गरिएको थियो भने सन्दीप पनि बेला बेलामा दर्शक तर्फ फर्किएर धन्यवाद दिइरहेका देखिए।

र बेला बेला मा उनले फिल्डिंग गर्दा नेपाली प्रशंसकहरूको नजिक उभिँदा उनीहरूबाट आएका प्रतिक्रियाबाट हासीरहेका थिए। र उक्त समयमा कमेन्टेटरहरूले त्यस्तो उत्कृष्ट प्रदर्शन गरेका उनी त्यति खुसी र माया पाउन योग्य रहेको बताएका थिए।

टस जितेर पहिले फिल्डिंग रोजेको स्टार्सले ९ विकेट लियो र १३० रनको लक्ष पाएको थियो। तर स्टार्सले ५.१ ओभर बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष प्राप्त गरेको थियो।

दोस्रो इनिङ्ग सुरु हुनु पूर्व कस्तो लागिरहेको छ भन्ने प्रश्न गर्दा सन्दीपले नेपाली क्रिकेट प्रशंसकहरूको बिचमा खेल्न पाउँदा आफूलाई खुसी लाग्नुका साथै भाग्यमानी महसुस भएको बताएका थिए।

साथै, लामिछानेले आउँदा दिनहरूमा अन्य नेपाली क्रिकेट खेलाडीहरूले यहाँ खेलिरहेको हेर्न पाइयोस् भन्ने आशा व्यक्त गरेका थिए।

बिग ब्यास लिगमा मेलबर्न स्टार्सको पहिलो खेल शुक्रवार (२१ डिसेम्बर) सिड्नी थंडर्सका विरुद्ध भएको थियो। जसमा सन्दीपले आफ्नो बिग ब्यासमा पहिलो खेलको पहिलो ओभरमा नै विकेट झारेका थिए।

उक्त खेलमा ४ ओभरमा ३६ रन दिँदै २ विकेट लिएका सन्दीपले अनुभवी अस्ट्रेलियाली खेलाडी शेन वाट्शनको विकेट लिएका थिए।

दोस्रो खेल होबार्ट हरिकनका विरुद्ध भएकोमा सन्दीपले ३ विकेट लिएर स्टार्सका उत्कृष्ट बलर बन्न सफल भएता पनि खेल होबार्ट हरिकनले जितेको थियो।

उक्त खेलमा ३ विकेट लिन उनले ४ ओभरमा २४ रन मात्र खर्चिएका थिए।

सन्दीपलाई समर्थन गर्दै नेपाली जनसमूह पनि सिड्नी क्रिकेट ग्राउण्ड पुगेको थियो। कतिले नेपाली झन्डा फहराउँदै सन्दीपलाई उत्साह दिइरहेका थिए।

यसरी मेलबर्न स्टार्सका सन्दीपले सिड्नीको पनि मन जितेका छन्।


3 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now