सन् १९८४ पछि पहिलो पटक नोभेम्बर महिनामा यतिको मात्रामा पानी परेको मौसम विभागका रब टागार्डले एबीसीलाई बताए। अप्रिल २०१५ देखि कै सबैभन्दा बढी पानी परेको यो दिन "एक सय वर्षमा एक पटक आउने" दिन भएको पनि उनले बताए।
बुधवार बिहान ५:२० देखि ७ बजे सम्म सिड्नीको मिलर्स पोइन्ट स्थित अब्जरभेटरी हिलमा ८४.६ मिलिमिटर पानी परेको वेदरजोनले बताएको छ।
नोभेम्बर महिनाको सिड्नीको औसत वर्षा दर ८३.८ मिलिमिटर रहेता पनि उक्त औसत दुई घण्टा भन्दा कम समयमै टुटेको उक्त संस्था द्वारा सामाजिक सञ्जालमा बताइएको छ।
तर त्यसको केही घण्टा पछि अब्जरभेटरी हिलमा १०६ मिलिमिटर पानी परिसकेको छ। साथै उत्तरी सिड्नीको मोसम्यानमा १११ मिलिमिटर र सेन्ट्रल कोस्ट स्थित शोलहेभेनमा १५२ मिलिमिटर वा ५.९ इन्च पानी परेको छ।
अधिकारीहरूका अनुसार भारी वर्षा र कडा हावा हुरीका कारण मध्य व्यापारिक क्षेत्रका साथै सिड्नी शहरका विभिन्न स्थानहरूमा ५ हजार भन्दा बढी ग्राहकहरूको घर वा कार्यालयमा बिजुली बन्द भएको छ।
यातायात व्यव्यस्थापन केन्द्रका अनुसार रेल र सार्वजनिक बस सेवाहरू समय तालिका भन्दा धेरै ढिलो सञ्चालन भइरहेका छन्।
सिड्नी विमानस्थलको ३ मध्ये २ ओटा विमान धावनमार्ग बन्द हुनाले हवाई सेवाहरूमा पनि ढिलाइ वा केही फ्लाइटहरु रद्द पनि भइरहेको बताइएको छ।

राज्यको आपत्कालीन सहायता सेवा एसईएसले अहिले सम्म आफ्ना स्वयंसेवकहरूले २८० भन्दा बढी सहायताका लागि आएका फोन कलहरूलाई ध्यान दिएको बताएको छ।
विशेष गरी बाढी आएका वा पानी जमेका सडकहरूमा अझै पनि मानिसहरूले आफ्नो सवारी साधन चलाएका समाचारहरू आएको र पानीमा फसेका केहीको उद्धार पनि आफूहरूले गर्नुपरेको एसईएसको भनाइ छ।
न्यु साउथ वेल्स प्रहरीका सह- कमिशनर माइकल कोरबोइले पनि आजको जस्तो स्थिति आफूले कहिले नदेखेको भन्दै सवारी चालक देखि पैदल यात्रु सबैले धेरै नै सावधानी अपनाउन जरुरी रहेको बताए।
साथै उनले उत्तरी सिड्नी सबर्ब थोर्नलीमा एक जनाको गाडी दुर्घटनामा मृत्यु भएको पनि बताए।
दक्षिण सिड्नीको कुक र पश्चिम सिड्नीको पेरामाटा नदीहरूमा पनि बाढी आएको मौसम विभागले बताएको छ।
