तयार रहनुहोस्: डढेलोबाट आफू र आफ्नो घरलाई जोगाउने तरिकाहरू

तपाईँको घर र परिवारलाई डढेलोबाट जोगाउनु भनेको तयार रहनु हो। आगोलागिको जोखिम रहेका ठाउँहरूमा बस्ने मानिसहरूले आपतकालीन समयका लागि पहिले नै योजना बनाउनु पर्ने विज्ञहरूको सल्लाह छ।

bushfires Australia

Source: Getty Images/John Crux Photography

अस्ट्रेलिया भरका डढेलो र आपतकालीन समस्या सम्बन्धी अधिकारीहरू बुशफायर सिजनको तयारीमा लागेका छन्।

क्याप्टेन फिल टाउनसेन्ड भिक्टोरियाको कीजबरो फायर ब्रिगेडको कन्ट्री फायर अथोरिटीमा (सीएफए) स्वयंसेवकको रूपमा कार्यरत छन्।

आगोलागि रोक्न गरिने तयारी, एउटा सानो जाँचबाट सुरु गर्नु पर्ने उनी बताउँछन्।

तपाईँको घरको कौसीमा आगो लाग्यो भने या जलेका रूखका हाँगाबिँगा र पात पतिङ्गरहरू खसे भने, त्यसलाई निभाउन तपाईँसँग पानी छ्याप्ने पम्प छ?

यस्ता कुराहरूको उचित तयारी भएका घरहरूमा आगो लागेको खण्डमा जोगिने सम्भावना बढी हुन्छ।

आफ्नो घरलाई जोखिमको लागि तयार पार्न यी सामान्य मर्मतका उपायहरू काम लाग्छन्:

  • तपाईँको नालीमा अड्केका पात पतिङ्गर र हाँगाबिँगालाई निकाल्नु होस्।
  • आफ्नो घरभित्र र घर वरिपरि बिग्रिएका ठाउँहरूको मर्मत गर्नुहोस्।
  • आफ्नो घरको नालीमा फयार स्प्रिन्क्लर प्रणालीको जडान गर्नुहोस्। यसले घरमा आगो लागेको खण्ड आफैँ पानी छर्कने काम गर्छ।
  • बगैँचाहरूको घाँसलाई छोटो काट्ने गर्नुहोस् र अन्य बोटबिरुवाहरू पनि राम्रो अवस्थामा राख्नुहोस्।
  • आफ्नो घर सम्म पुग्न सक्ने लामो होज तयार राख्नुहोस्। यो एक किसिमको ठूलो लचिलो पाइप हो।

यदि तपाईँ बुशफायर अर्थात् डढेलोको जोखिम रहेको ठाउँमा बस्नु हुन्छ भने, आपतकालीन समयमा आफ्नो घरबाट कसरी बाहिर निस्कने भन्ने सन्दर्भमा एउटा निकास योजना (evacuation plan) पनि तयार पार्न निकै आवश्यक रहेको क्याप्टेन टाउनसेन्ड बताउँछन्।

एउटा निकास योजना तयार पार्नुहोस्, र त्यसबारे घरका सबै सदस्यलाई थाहा दिनुहोस्। त्यसको अभ्यास गर्नु परे पनि गर्नुहोस्।

प्रत्येक राज्य तथा टेरिटोरीका आगोलागि सम्बन्धी अधिकारीहरूले एउटा प्रस्तावित निकास योजना आफ्नो वेबसाइटमा राखेका छन्।

उक्त योजनाले डढेलो लाग्ने कारणहरू, डढेलोको मौसम भर चाल्न सकिने कदमहरू, आगोको जोखिम हुने दिनहरू पछाडिका कारण र ती जोखिमयुक्त दिनहरूमा चाल्न सकिने कदमहरूको बारेमा बताउँछ।

त्यस्तै, आपत् परेको समयमा तुरुन्तै घरबाट निस्कनु पर्न सक्छ। त्यसता समयको लागि भनेर एउटा इमर्जेन्सी सर्भाइभल किट (emergency survival kit) तयार पार्न सकिन्छ। यसले आपत् परेको बेलामा तपाईँको ज्यान जोगाउन मद्दत गर्छ।

यस किटलाई एउटा पानीले नबिग्रने वाटर प्रुफ झोलामा, चाहिएको समयमा सजिलै लिन सक्ने ठाउँमा राख्नुहोस्। त्यस किट र त्यो राखेको ठाउँको बारेमा घरका सबै सदस्यहरूलाई थाहा दिनुहोस्।

तपाईँको इमर्जेन्सी सर्भाइभल किटमा यी समानहरू राख्न सक्नु हुन्छ:

  • फर्स्ट एड किट, अर्थात् प्राथमिक उपचारका लागि चाहिने सामग्रीहरू, र तिनको प्रयोग कसरी गर्ने भनी एउटा निर्देशन पुस्तिका पनि सँगै राख्नुहोस्।
  • महत्त्वपूर्ण कागजातहरू, मूल्यवान् वस्तुहरू र तस्बिरहरू
  • नगद, एटिएम कार्ड, क्रेडिट कार्डहरू
  • मोबाइल फोन र चार्जर
  • औषधीहरू र विशेष आवश्यकता भएका वस्तुहरू

यदि तपाईँलाई आफ्नो घरबाट निस्कने आदेश दिइन्छ भने, त्यसको पालना गर्न क्याप्टेन टाउनसेन्ड भन्छन्।

हामीलाई त्यसो गर्ने रहर भएर हामीले त्यसो गर्ने होइन, तपाईँको घर, तपाईँको सम्पत्ति र तपाईँको ज्यान जोखिममा भएर हामीले त्यसो गर्ने हो। त्यसैले, कसैले तपाईँको ढोकामा आएर घरबाट निस्कने आदेश दियो भने, त्यसको पालना गर्नुहोस् र छिट्टै निस्कनु होस्।

डढेलोको जोखिमको दर

Burnt trees,blackened tree trunks along side a road
Source: Getty Images/Vicki Smith

अस्ट्रेलियामा डढेलो लाग्ने मौसममा डढेलोको जोखिमको दर अर्थात् फायर डेन्जर रेटिंग पेस गरिन्छ। 

आगोलागिको परिणाम उच्च देखि अति उच्च हुने दिनहरूमा उक्त राज्यको फायर कमिसनरले टोटल फायर ब्यान डे समेत घोषणा गर्न सक्छन्।

त्यस्ता दिनहरूमा बाहिरी वातावरणमा आगो बाल्न मनाही छ, र सबै आगो बाल्ने अनुमतिहरूको (फायर पर्मिट) पनि निलम्बन गरिन्छ।

मौसम निकै नै तातो, सुख्खा र हावा चलेको भएको भने क्याम्प फायर, पकाउन बालिएको आगो र चुरोटका ठुटाहरूबाट तुरुन्तै आगो लाग्न सक्छ, त्यसले धेरै हामी पुराउँछ।

मौसम विज्ञान विभागकी विज्ञ क्लेर यिओले डढेलोको जोखिमको दर कसरी हिसाब गरिन्छ भन्ने बारे बताइन्।

फायर डेन्जर रेटिंगहरू यी पक्षहरूमा आधारित हुन्छन् - तापक्रमको पूर्वानुमान, मौसममा पानी लगायत अन्य ओसिला तत्त्वहरूको उपस्थिति, हावाको गति, र जङ्गल तथा ग्रास ल्यान्डको फ्युल। त्यसैले, यसले सुख्खापनलाई नाप्दछ।

आगोले जलेर घाउ भयो भने के गर्ने?

Couble camping around smokey fire on sunset
Source: Getty Images/Stuart Ashley

हाना मेनेजेस भिक्टोरियन अडल्ट बर्न्स सर्भिसमा नर्सको काम गर्छिन्।

आगोले जलेर हुने घाउहरू धेरै जसो १५ देखि ३५ वर्षका पुरुषहरूमा बार्बिक्यु गर्ने क्रममा प्रयोग हुने जल्न मद्दत गर्ने तरलहरूका कारण हुने गरेको उनी बताउँछिन्।

प्रायः मानिसहरूले बार्बिक्यु गर्दा छिटो हुनका लागि विशेष तरल पदार्थहरूको प्रयोग गर्छन् - त्यसैले बार्बिक्यु सम्बन्धी घटनाहरू धेरै देखिन्छन्।

तपाईँलाई या तपाईँले चिन्ने कसैलाई जलेर घाउ भयो भने सबै भन्दा पहिले घाउ माथिको लुगा र कुनै पनि गहना हटाउनु होस्। त्यसपछि कमसेकम २० मिनेटको लागि घाउमाथि धारा या कतैबाट बगिरहेको चिसो पानी (running water) लगाउनु होस्।

२० मिनेट सम्म कतैबाट बगिरहेको चिसो पानी लगाउनु सबै भन्दा प्रभावकारी तरिका हो। यसले टिस्यु अर्थात् छालामा भएको तातोलाई हटाउँछ - बरफको पानीले होइन।

छालाबाट जलेको तातो हटाउने यो सबै भन्दा प्रभावकारी तरिका भएको र फर्स्ट एडको ज्ञान सबैसँग हुन निकै जरुरी रहेको हाना मेनेजेसले बताइन्।

मैले दिनदिनै चोटहरू देखिरहेको हुन्छु, र राम्रो फर्स्ट एड दिने र नदिनेहरूमा फरक देख्न सकिन्छ। त्यसैले, क्याम्पिङ (वनभोज) जाँदै हुनु हुन्छ भने फर्स्ट एडको बारेमा थाहा हुन अत्यावश्यक छ।

डढेलोबाट आफ्नो घर जग्गा कसरी जोगाउने भन्ने विषयमा थप जानकारीका तपाईँको स्थानीय ग्रामीण सेवाको वेबसाइटमा जानुहोस्।

जलेर हुने घाउ र तिनको उपचारको बारेमा थप जान्न vic.burns.org.au मा जानुहोस्।

भाषा सम्बन्धी सहयोगको लागि अनुवाद र व्याख्या सेवाका १३ १४ ५० मा सम्पर्क गर्नुहोस् र आफ्नो भाषाको लागि सोध्नुहोस्।

fire and truck
Source: Getty Images/Gareth Griffiths

अस्ट्रेलिया भरका आपतकालीन अवस्थाहरूको बारेमा पछिल्ला जानकारी, लगायत आफ्नो ज्यान र घर जोगाउने तरिकाका लागि ABC Emergency मा जानुहोस्। 


Share

4 min read

Published

Updated

By Josipa Kosanovic




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now