पूर्व प्रधानमन्त्री म्याल्कम टर्नबुलसँग कुरो नमिलेपछि लिबरल पार्टी त्याग्दै आफ्नै नयाँ राजनैतिक दल खोल्न पुगेका दक्षिण अस्ट्रेलियाका सेनेटर कोरी बर्नाडी फेरी माउ पार्टीमा फर्किने सङ्केत देखा परेको छ।
स्काई न्युजका क्रिस केन्नीसँग मङ्गलवार कुरा गर्दै अस्ट्रेलियन कन्जरभेटिभ्स पार्टीका बर्नाडीले आफ्नो सोचमा कुनै सम्झौता नगरिकनै लिबरल पार्टीमा फर्कन प्रधानमन्त्री स्कट मरिसनसँग आफू वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्।
“पार्टी भित्रको राजनीतिका कारण म कुनै पनि सम्झौता गर्न तयार छैन तर म आफूलाई एक परम्परावादी लिबरल ठान्दछु,” उनले भने।
तर, लिबरल पार्टी भित्र अटाएका अर्का घोर दक्षिण पन्थी नेता एरिक आबेत्ज भने आफ्नो पार्टीमा प्रवेश गर्न आफूहरूले मान्ने १७ सिद्धान्तहरूलाई बिना कुनै सर्त मान्नु पर्ने बताउँछन्।
“कोरी पुन: लिबरल पार्टीमा आउन चाहन्छन् भने त्यो लिबरल पार्टीको दक्षिण अस्ट्रेलिया विभागले विचार गर्ने कुरो हो, उनले स्पष्ट पार्दै भने।
प्रधानमन्त्रीको तारिफ गर्दै उनले अगाडी भने, “स्कट मरिसनले दक्षिणपन्थीहरूका लागि राम्रो मानिएका धेरै स्थानमा जितेका छन्।”
“उनी धर्ममा आस्था राख्ने र निरन्तर अभियान चलाउन सक्ने मानिस हुन्। म चाहन्छु की यो सरकार सफल रहोस् र त्यसमा मेरो भूमिका के हुनेछ भनेर सोच्दै छु।“
बर्नाडी आफ्नो राजनैतिक जीवन बारे सोच मग्न रहेको र आफू भविष्यमा सङ्घीय राजनीतिको केन्द्रमा पुग्न के गर्नुपर्छ भनेर बिचार गर्ने समय आएको कुरा कसैबाट पनि नछिपेको पनि उक्त कुराकानीका क्रममा बताएका थिए।
उनको पार्टीले साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्स दुवै राज्यका निर्वाचनमा राम्रो नतिजा ल्याउन सकेको थिएन।

अङ्कगणितको राजनीति
सन् २०१६ मा लिबरल पार्टीका तर्फबाट पुन: निर्वाचित सेनेटर कोरी बर्नाडी लिबरल पार्टीमा प्रवेश गरे उपल्लो संसद्मा सरकारलाई बहुमत पुर्याउन ३ अतिरिक्त सेनेटरहरुको आवश्यकता पर्नेछ।
गत आम निर्वाचन पछि सिनेटको सम्पूर्ण नतिजा नआइसकेको हुनाले यसै होला भनेर किटानका साथ त भन्न नसकिएला तर लिबरल नेशनल गठबन्धनलाई आफ्ना कुनै पनि विधेयक पारित गर्न माथिल्लो सदनमा ४ अतिरिक्त सेनेटरहरुको सहयोग चाहिने लगभग पक्का-पक्की छ।
सेनेटर बर्नाडी बाहेक नव गठित सिनेटमा ३५ जना साम्साद गठबन्धनका तर्फबाट र विपक्षी लेबरबाट २६ अनि त्यस्तै गरी ग्रींसका ९, वन नेशन र सेन्टर अलायन्सबाट २-२ जना र एक जना स्वतन्त्र हुनेछन्।
