भिक्टोरियाको बेण्डिगो सहरमा अवस्थित एक मस्जिदको विरोध गर्ने क्रममा आफ्ना दुई सहयोगीहरू सहित अपमानजनक जातीय विभेदकारी कार्यको दोषी ठहर गरिएका घोर दक्षिणपन्थी नेता ब्लेर कट्टरेलले अब उच्च अदालतबाट सफाइ पाउने बाटो बन्द भएको छ।
यूनाइटेड प्याट्रिअट्स फ्रन्ट नामक एक सानो उग्र दक्षिणपन्थी दलका नेता कट्टरेलले बेण्डिगोको उक्त मस्जिदको विरोध गर्ने क्रममा मुसलमानहरूलाई तल पार्ने खालको अभिव्यक्ति दिएको, उनीहरू माथि घृणा फैलाउने हरकत गरेको र एक पुतलीको टाउको शरीरबाट अलग पारेको भिडियो बनाएको दोषी पाइएको थियो।
सन् २०१७ को सेप्टेम्बरमा म्याजिस्टेट्स कोर्टको उक्त निर्णय लगतै कट्टरेलले त्यसको विरुद्ध भिक्टोरियाको हाई कोर्टमा अपिल दर्ता गरेका थिए।
तर, गत फेब्रुवरीमा हाई कोर्टद्वारा उनको “स्वतन्त्र बोल्न पाउने अधिकार” जिकिर गरिएको निवेदन खारेज गरिदिएको थियो।

कट्टरेलले भने अस्ट्रेलियाको संविधान अनुसार “अमान्य कानुन” अन्तर्गत आफ्नो नैसर्गिक अधिकार विरुद्ध आफूलाई दोषी ठहर गरेको बताएका थिए।
भिक्टोरियाको मानव अधिकार र जिम्मेवारीहरू सम्बन्धी घोषणापत्र विरुद्ध आफूलाई दोषी ठहर गरिएको उनको कथन थियो।
कट्टरेलका अनुसार उक्त घोषणापत्रले सुनिश्चित गरेको आफ्नो अन्तस्करण अनरुप कार्य गर्न, मन परेको धर्म मान्न र स्वतन्त्र भएर सोच्न एवं आफ्नो विचार अभिव्यक्त गर्न पाउने अधिकारको मर्म विपरीत आफूलाई दण्डित गरिएको छ।
हाई कोर्टले हराइदिएपछि भने उनले पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालत पुग्ने बाटो समातेका थिए।
तर, सर्वोच्छ अदालत आफूले उक्त मुद्दा हेर्न नमाने पछि भने अब यसको कार्यभार काउन्टी कोर्टमा रहेको छ।

तर, आफ्नो निर्णय सुनाउने क्रममा काउन्टी कोर्टकी न्यायाधीश लिसा हन्ननले वास्तविक तथ्यहरू माथि सुनुवाइ अझ बाँकी नै रहेको अवस्थामा कट्टरेलको पछिल्लो अपिल खारेज गरेकी हुन्।
आफ्नो इजलास यस्ता मुद्दाहरूको छिनोफानो गर्न पूर्ण रूपमा सक्षम रहेको बताउँदै अन्य अदालतमा मुद्दा सारिएको खण्डमा मामिला खण्डित मात्र हुने पनि न्यायाधीश हन्ननले उल्लेख गरेकी छिन्।
काउन्टी कोर्टले आगामी अगस्त ८ तारिख देखि १० दिन सम्मका लागि उक्त मुद्दाको सुनुवाइ हुने बताएको छ।
