आजैको मितिदेखि लागु हुने गरी वुल्वर्थ्स अन्तर्गतका पसलहरूले प्रति लिटर १ डलर दर भाउ रहेका दूधको मूल्यमा प्रति लिटर १० सेन्टले वृद्धि गरे पनि कोल्स तथा आल्डिले वुल्वर्थ्सको उक्त कदम अनुसरण नगरेका कारण मन्त्री लिटलप्राउडको उक्त भनाई आएको हो।
करिब आठ वर्ष अघिदेखि यी ठुला पसलहरूले दूध उत्पादन गर्ने कृषकहरूलाई कम मूल्य चुक्ता गर्दै उनीहरूद्वारा उत्पादित आफ्नै ब्रान्ड नाम राखेर सस्तोमा बेच्दै आइरहेका थिए।
तर पछिल्लो समयमा आएर, खडेरीको मार परेका दुग्ध कृषकहरूले आफूहरूलाई यी ठुला पसल चलाउने कम्पनीहरूले अन्याय गरेको बताएका थिए। बोतल बन्द पानी भन्दा पनि दूध कसरी सस्तो भयो भनेर यसको विरोध गर्दै उनीहरूले क्यानबेरामा सरकार तथा विपक्षी दलका नेताहरूलाई गुहारेका थिए।

कोल्सले आफ्ना ग्राहकहरूलाई महंगाईको मारले यसै पनि थिचिरहेको अवस्थामा प्रति लिटर १ डलर पर्ने दूधको बेचबिखन रोक्का गरेर उनीहरूलाई थप अप्ठेरोमा पार्न नचाहेको भन्ने प्रतिक्रिया दिएको छ।
बरु अन्य उपायहरू अवलम्बन गरी ती पीडित कृषकहरूलाई सहयोग गर्ने उसले बताएको छ। कोल्सका अनुसार,अर्को हप्तादेखि आफ्ना ग्राहकहरूले दान दिने हरेक १ डलरमा उसले पनि एकै डलर थपिदिएर जम्मा भएको रकम किसानहरूलाई हस्तान्तरण गर्ने उसको योजना छ।
गएको ६ महिनामा आफूहरूले १ करोड ६० लाख डलर बराबरको प्रतिबद्धता दूध बेच्ने किसानहरूलाई दिइसकेको बताउँदै कोल्सले थप पहलका निम्ति दुग्ध उत्पादन उद्योग तथा उपभोकता व्यापार नियमन संस्था अस्ट्रेलियन कम्पिटिसन तथा कन्स्युमर कमिसन (एसीसीसी)सँग पनि सहकार्य गरिरहेको बताएको छ।
कोल्सले यस्तो भनेकै पनि ६ महिना पुगिसकेको छ भन्दै मन्त्री लिटलप्राउडले भने, “उनीहरूले ती कृषकहरूसँग दूध कौडीको भाउमा किनिरहेका छन्।”
“अब कि काम गर्नुपर्यो होइन भने व्यर्थको वक्तव्य बाजी बन्द हुनुपर्यो। कोल्सले आफू एक सभ्य कर्पोरेट नागरिक भएको ढोँग गर्न छाडेर साँच्चीकै असल भएको देखाउनुपर्यो,” उनले भने।
“आफूकहाँ सामान किन्न आउने ग्राहकहरूलाई बिल तिर्ने बेलामा खडेरी पीडित कृषकहरूका लागि दान दिनुहोस् भनेर गर्ने प्रचार बाजी केवल आँखामा छारो हाल्नु हो,” उनले थपे।
“यदि कोल्स तथा आल्डिले उचित दरमा दूध खरिद गरेका भए सर्वसाधारणहरूले ती मर्कामा परेका कृषकहरूलाई दान दिनै पर्दैनथ्यो,” उनले अगाडी भने।
आल्डिले पनि आफूले बेचिरहेको आफ्नै ब्रान्ड अन्तर्गतको दूधको मूल्य बढाउने कुनै सङ्केत देखाएको छैन।
आफ्ना ग्राहकहरूलाई सदैव सुपथ मूल्यमा सामानहरू बेच्ने आफ्नो मुलमन्त्र रहेको र त्यस कारण पनि आफूले उपभोक्ताहरूलाई दिएको आफ्नो बचन तोड्ने किसिमका कुनै गतिविधि नगर्ने उसले बताएको छ।
जर्मन स्वामित्वको आल्डिले केही पनि नभएको जस्तो चाल गर्दै भर्र्याङ्ग मुनी लुकेर बसेको टिप्पणी गर्दै मन्त्री लिटलप्राउडले भने, “यो ठुलो जर्मनले पनि अस्ट्रेलियन जनतालाई आफ्नो मुख देखाउन सक्नुपर्छ।”

आल्डि भने आफूले सिधै किसानहरूबाट दूध नकिन्ने, बरु आफ्ना पसलहरूबाट बेचिने सबै दूध प्रसोधनकर्ताहरु मार्फत खरिद गरिने भएकोले ती प्रसोधनकर्ताहरुले नै दूध उत्पादन गर्ने कृषकहरूलाई उचित दाम दिएर दिर्घकालसम्म उनीहरूलाई सहयोग गरिनुपर्नेमा जोड दिएको छ।
“अस्ट्रेलियाको दुग्ध उद्योगलाई दिर्घजीवी बनाउने हेतुले दूध प्रसोधनकर्ताहरुले मूल्य वृद्धि गरेर दूध हामीलाई बेचे आल्डिले त्यस्तो निर्णयलाई स्विकार्नेछ। बजारमा देखिएको असहजता लाई अन्त्य गर्ने यो नै एक मात्र उपाय हो,” आल्डिका कार्यकारी निर्देशक अलिभर बंगार्टले भने।
मन्त्री लिटलप्राउड भने उपभोक्ताहरूले ती दुवै कम्पनीका पसलहरूलाई बहिष्कार गर्दै तिनीहरूलाई उचित सन्देश दिनुपर्ने बताउँछन्।
वुल्वर्थ्सले १ डलर प्रति लिटर मूल्यमा आफ्नो होमब्राण्ड दूध बेच्न बन्द गरिसकेको छ।
