SKIP TO MAIN CONTENT

सन् २०३२ को ओलम्पिक्स क्विन्सल्यान्डको राजधानी ब्रिसबेनमा हुने

अस्ट्रेलियाले तेस्रो पटक ओलम्पिक्स खेलहरूको आयोजना गर्ने भएको छ।

President of the International Olympic Committee Thomas Bach announces Brisbane as the 2032 Summer Olympics host city during the 138th IOC Session at Hotel Okura in Tokyo, Wednesday, July 21, 2021. (Toru Hanai/Pool Photo via AP)
President of the International Olympic Committee Thomas Bach announces Brisbane as the 2032 Summer Olympics host city Source: Pool Getty Images

2 min read

Published

Updated



Skip to article content

सन् २०३२ को ओलम्पिक्सका लागि बुधवार जापानमा भएको एक मतदानमा ब्रिसबेन छनौट भएपछि सन् १९५६ र २००० पछि अस्ट्रेलियाली भूमिमा तेस्रो पटक आयोजना हुन लागेको हो।

योसँगै ब्रिसबेन तथा दक्षिण-पूर्वी क्विन्सल्यान्डले अस्ट्रेलियाको इतिहासमा दोस्रो पटक पारालम्पिक्सको पनि आयोजना गर्ने छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटीका अध्यक्ष थोमस वाकले टोकियो स्थित एक होटेलमा यसबारे घोषणा गरेका थिए।

मतदान गर्ने कुल ८७ राष्ट्र मध्ये प्रिमियर अनास्टेसिया पलाशेको प्रस्तुतिलाई ७२ मुलुकका प्रतिनिधिहरुले रुचाएका थिए।

प्रधानमन्त्री स्कट मोरिसनले ११ वर्ष पछि हुने यी खेलहरू ब्रिसबेनले हात पार्नु देशका लागि गजबको उपलब्धि रहेको बताएका छन्।

उनी भन्छन् कि यो ब्रिसबेन र क्विन्सल्यान्डका लागि मात्र नभएर पुरै देशका निमित्त ऐतिहासिक दिन हो।

"केवल विश्व स्तरका शहरहरुले ओलम्पिक खेलहरू आयोजना गर्न पाउँछन् र ब्रिसबेनका लागि यो निकै सुहाउँदो सम्मान हो।"

उनले यस्ता ठुला स्तरका महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरेर अस्ट्रेलियाले उच्च आर्थिक वृद्धि र त्यसबाट प्राप्त हुने सामाजिक फाइदाहरू वर्षौँसम्म लिन सक्ने पनि उल्लेख गरेका छन्।

दुई दशक अघि सिड्नी खेलहरूको स्मरण गर्दै प्रधानमन्त्रीले भने कि उक्त आयोजनाले सिड्नीको कायापलट गरिदिएको थियो र अब ब्रिसबेन तथा क्विन्सल्यान्डभरका समुदायहरूले पनि यस्तै अपेक्षा राख्न सक्छन्।

क्विन्सल्यान्ड ओलम्पिक परिषद्की अध्यक्ष तथा पूर्व स्वर्ण पदक विजेता न्याटाली कूकले अब ब्रिसबेन पहिलेको जस्तै नरहने बताएकी छिन्।

"यसलाई शब्दमा बयान गर्न गाह्रो छ," उनले भनिन्।

यस्तै क्विन्सल्यान्डकी प्रिमियर अनास्टेसिया पलाशेले पनि सबै राज्यवासी गौरवान्वित हुनुपर्ने भन्दै टोकियोबाट ट्विट गरेकी छिन्।

खेलकुद सम्बन्धी सङ्घीय मन्त्री रिचर्ड कोल्बेकले यसरी विश्वकै सबैभन्दा ठुलो खेलकुद कार्यक्रम सुरक्षित गर्नु अस्ट्रेलियाली बालबालिकाका निम्ति ठुलो सपना देख्न अभिप्रेरित गर्ने किसिमको रहको बताएका छन्।

उनी भन्छन् कि यदि कोही स-साना नानीहरू जो खेलकुदका पारखी वा शौकिन छन् र ओलम्पिक्समा भाग लिन्छु भन्ने भावना उनीहरूसँग छ भने अब ती बालबालिकाले केही ठोस लक्ष्य लिन सक्नेछन्।

"उनीहरूले अबको एक दशकमा आफ्नै भूमिमा प्रतिस्पर्धा गर्न सक्नेछन्।"

"यो निकै नै ठुलो अवसर हो। हामीले सन् २००० मा देखिसकेका छौँ जब क्याथी फ्रीम्यान र उनी जस्ता थुप्रैले उत्कृष्ट खेल प्रदर्शन गरेर नयाँ पिँढीका खेलाडीहरूलाई प्रेरित गरे," उनले भने।

ओलम्पिक्सको आयोजनासँगै पूर्वाधार विकासमा पनि लगानी महत्त्वपूर्ण हुने तथ्य औँल्याउँदै उनले भने कि यातायात तथा खेल आयोजना स्थलहरू दीर्घकालीन फाइदाका लागि निर्माण हुनेछन्।

अन्तर्राष्ट्रिय संस्था केपीएमजीका अनुसार सन् २०३२ ओलम्पिक्सबाट क्विन्सल्यान्डले झन्डै ८ अर्ब डलरको आर्थिक एवं सामाजिक फाइदा उठाउन सक्नेछ भने अस्ट्रेलियामा ती खेलहरू सम्पन्न हुँदासम्म झन्डै १८ अर्बको वित्तीय गतिविधि हुनेछ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now