पुर्व लिबरल पार्टी कर्मचारी ब्रिटनी हिग्गिन्सद्वारा आफु बलात्कृत भएको भनि गरेको उजुरीबारे चालिएका प्रारम्भिक कदम उपयुक्त नभएको भन्दै प्रधानमन्त्री स्कट मोरिसनले हिग्गिन्स समक्ष माफी मागेका छन्।
च्यानल टेनको "द प्रोजेक्ट" नामक कार्यक्रमसँगको एक अन्तर्वार्तामा दुई वर्ष अगाडी एक पुरुष सहकर्मीद्वारा आफुलाई तत्कालिन रक्षा मन्त्री लिण्डा रेनोल्ड्सको कार्यालयमा कथित बलात्कार गरेको आरोप हिग्गिन्सले लगाएकी थिइन्।
संघीय संसदमा आफ्नो जागिर अन्त्य हुने भयका कारण सन् २०१९ को मार्च महिनामा भएको उक्त कथित घटनाबारे आफुलाई प्रहरी समक्ष उजुरी नगर्ने निर्णय गरेको पनि हिग्गिन्सले बताइन।
साथै, घटना पछि आफ्नो रोजगार सम्बन्धि आधिकारिक छलफलको लागि रक्षा मन्त्री रेनोल्ड्सले आफुलाई कथित घटना भएको कार्यालयमै बोलाएको पनि उनको भनाइ थियो।

सोमबार संसदीय बैठकलाई सम्बोधन गर्दै मन्त्री रेनोल्ड्स ले आफु "आफ्नो पुर्व कर्मचारीको हीत प्रति धेरै चिन्तित रहेको" बताउँदै, आफ्नो हिग्गिन्ससँगको प्रारम्भिक बैठकमा "आफ्नो कार्यालयमा भएको कथित घटनाबारे पूर्ण विवरण नरहेको" जोड दिईन।
"यदि मलाई त्यसबारे थाह भएको भए मैले बैठक अर्कै स्थानमा गराउँथे।"
आज, मङ्गलबार, संसद भवनमा पत्रकारहरुसंग कुरागर्दै प्रधानमन्त्री स्कट मोरिसनले सरकारी अधिकारीहरुको प्रारम्भिक कदमलाई लिएर ब्रिटनी हिग्गिन्स समक्ष माफी मागेका छन्।
"एक जोखिमपूर्ण अवस्थामा आफुलाई पाउने वातावरण उक्त महिलाले सामना गर्नुपरेको गलत हो", मोरिसनले भने।
कथित घटना भएको समयमा २४ वर्ष कि रहेकी हिग्गिन्सले आफ्नो सरकारी पद बाट राजिनामा दिसकेकी छन् र आफु माथि भएको कथित बलात्कारबारे प्रहरीका साथै मन्त्रीहरुको कार्यालयमा काम गर्नेहरुले हालेका उजुरीहरुको छानबीन गर्ने जिम्मा पाएको अर्थ विभाग समक्ष पनि आधिकारिक रूपमा आफ्नो घटनाबारे उजुरी गर्ने उनले बताएकी छन्।

कथित घटना के हो?
गत सोमबार news.com.au ले पहिलो पटक प्रकाशित गरेको समाचारका अनुसार सन् २०१९ मा ब्रिटनी हिग्गिन्स तत्कालिन सङ्घीय रक्षा मन्त्री लिण्डा रेनोल्ड्सको कार्यालयमा कार्यरत रहेकी थिइन्।
एक दिन राजधानी क्यानबेरामा भएको एक कार्यक्रममा आफ्ना सहकर्मीहरुसंग मद्यपान गरेपछि आफु "अत्यन्तै नशा" मा रहेकोले घर फर्कन आफु एक सहकर्मीसंग ट्याक्सीमा गएको उनले बताइन।
तर आफुलाई घर पुर्याउनुको सट्टा उक्त पुरुषले आफुलाई संसद भवन लगेको र त्यहाँ आफु मन्त्री रेनोल्ड्सको कार्यालयमा रहेको एक सोफामा निधाएको हिग्गिन्सको भनाइ छ।
आफु होसमा आउँदा, आफ्नो अनुमति बिना उक्त सहकर्मीले आफुसंग यौन सम्पर्क गरेको आरोप उनले लगाएकी छन्।
"मैले उनलाई आधा दर्जन भन्दा बढी पटक रोक्न आग्रह गरें" र त्यो पुरै समयमा "आफु रोहिरहेको" पनि हिग्गिन्सले च्यानल टेनलाई बताइन।

उक्त घटनाबारे आफुले मन्त्री कि मुख्य सचिवलाई बताएता पनि त्यसपछि उक्त घटना कर्मचारी र मानवीय समस्याको सट्टा राजनीतिक समस्या बनेको आफुले महसूस गरेको पनि उनको भनाइ थियो।
साथै संघीय निर्वाचन अगाडी कुनै प्रकारको राजनीतिक समस्या आफ्नो कारण सुरुभए, आफुले अरुसबैलाई पनि असर पुर्याउने भय हिग्गीन्सले महसूस गरिन।
सोमबार संसद समक्ष बोल्दै मन्त्री रेनोल्ड्स ले भनिन कि आफ्ना कर्मचारीले उक्त घटनाबारे कस्तो कदम चाल्नेबारे आफुले निर्णय गर्न सक्ने अवस्थामा रहेको सुनिश्चित गर्न आफुले पहल गरेकी थिइन्।
प्रधान मन्त्री स्कट मोरिसनको कार्यालय द्वारा पनि, घटना पछि यदि सुश्री हिग्गिन्सले कथित घटनाबारे प्रहरी लगायत समक्ष उजुरी गर्न चाहेको भए त्यसप्रति आफ्नो र सम्बन्धित मन्त्रीको कार्यालयबाट पनि पूर्ण समर्थन पाउने भनि उनलाई बताएको एक विज्ञप्ति प्रकाशित गरिएको छ।

यसैक्रममा सङ्घीय बिपक्षी लेबर पार्टीद्वारा भने ब्रिटनी हिग्गिन्स सम्बन्धि कथित घटनाबारे चालिएका प्रारम्भिक कदमबारे मन्त्री रेनोल्ड्सले सार्वजनिक रूपमा प्रष्ट पार्नुपर्ने माग गरिएको छ।
लेबर कि छायाँ गृह मामिला मन्त्री क्रिस्टिना कनेली भन्छिन कि "उक्त महिलाले आफ्नो जागिर जोगाउने कि प्रहरी समक्ष उजुरी गर्ने बारे चुन्न दबाब महसूस गरेकी थिइन् कि थिइनन् भन्नेबारे प्रश्नहरुको जवाफ चाहिन्छ।"
यदि तपाईं वा तपाईंले चिनेको कोहि यौन हिंसाबाट प्रभावित रहनुभएको छ भने, तपाईंले 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्न सक्नुहुन्छ अथवा 1800RESPECT.org.au हेर्नुहोस्।
