न्युजील्याण्डबाट अस्ट्रेलिया आएर काम गरिरहेकी एक महिलाले आफ्नो अस्ट्रेलियन हाकिमद्वारा आफूलाई "किवी" भनेर पुकारे पछि उनले आफूमाथि भेदभावपूर्ण व्यवहार भएको भनी समान अवसर आयोगमा दिएको उजुरी माथि सुनवाई गर्दै आयुक्त निकी भिन्सेन्टले "किवी" भनेर कसैलाई बोलाउनु भेदभावपूर्ण व्यवहार नभएको बताएकी छिन् ।
जुली स्याभेज नाम गरेकी न्युजिल्याण्डकी केक बनाउने महिलालाई उनले काम गर्ने बेकरीमा मालिक भिली मिलिसिट्सले "किवी" भनेर उपनाम दिएका थिए।
स्याभेजका अनुसार आफ्ना अन्य सहकर्मीहरूले बेकरीका मालिकले आफूलाई होच्याउने खालको उपनाम दिएको चाल पाएपछि उनीहरू सबैले उनको साबिकको नामको सट्टा "किवी" नै भनेर बोलाउने गरेका थिए।
त्यसरी जिस्काउने क्रम बढेपछि उनले त्यहाँ काम छाडेर समान अवसर आयोग समक्ष उजुरी दिएकी थिइन्।
आयोगले भने उक्त उजुरी दक्षिण अस्ट्रेलियाको रोजगार ट्रिब्युनलमा बुझाएको थियो। ट्रिब्युनलले त्यस उजुरीलाई यो हप्ता खारेज गरिदिएको छ।

ट्रिब्युनलकी न्यायधिस लियोनि फ्यारेलका अनुसार त्यसरी उपनाम बोलाउन्दैमा स्याभेजले आफ्नो जागिरको हकमा प्रगति वा अन्य कुनै अनुचित व्यवहारको सामना गर्नु नपरेको भन्दै उक्त उजुरी खारेज गरेकी हुन्।
उनको अनुसार कुनै न्युजिल्याण्ड बासीलाई "किवी" भन्नु आफैँमा आपत्तिजनक एवं अपमान गर्ने खालको शब्द नभएको बताएकी छिन्।
न्युजिल्याण्डमा मात्र भेटिने एक सानो चराको नामबाट अभिप्रेरित भई ममतापूर्ण भाकामा न्युजिल्याण्ड बासीलाई सम्बोधन गर्न प्राय प्रयोग हुने शब्द हो "किवी", उनले थपिन।
"यसरी बोलाउनुको मर्म जातीय विभेद होइन," न्यायधिस फ्यारेलको टिप्पणी थियो।
आफैँ हंगेरीबाट एक शरणार्थीको रूपमा अस्ट्रेलिया आउँदा जातीय विभेदको शिकार भइसकेका मिलिसिट्सका अनुसार न्यायधिसले उचित कुरा गरेको प्रतिक्रिया दिएका छन्।
