२०१७ मा तात्कालिन जल मन्त्री बार्नबि जोएसले कृषि तथा जलश्रोत विभागलाई कृषि सम्बन्धी एक कम्पनी इस्टर्न अस्ट्रेलिया एग्रीकल्चर बाट पानी किन्ने अनुमति दिएका थिए।
तर पूर्व उप-प्रधान तथा जलश्रोत मन्त्री जोएसले गठबन्धन सरकारका एक प्रमुख व्यक्तिको एक समयमा संलग्नता रहेको भनिएको उक्त कम्पनीसँग पानी किन्ने आफ्नो निर्णयको बचाउ गर्दै आएका छन्।
विवाद किन ?
वर्तमान ऊर्जा मन्त्री एंगस टेलर सह-संस्थापक रहेको उक्त कम्पनी ट्याक्स हेभन भनेर चिनिने केयमन आइल्यान्ड्समा अवस्थित पूर्वी अस्ट्रेलिया सिँचाई द्वारा नियन्त्रित रहेको छ।
एंगस टेलर उक्त अस्ट्रेलियन कम्पनीमा २००८ र २००९ मा निर्देशकका रूपमा रहेको भएता पनि २०१३ मा अस्ट्रेलियाको संसद्मा प्रवेश गर्नु पूर्व आफूलाई सो कम्पनीबाट अलग्ग्याएका थिए।

उनले एक वक्तव्य सार्वजनिक गर्दै आफूलाई इस्टर्न अस्ट्रेलिया एग्रीकल्चर मा कुनै रुचि नरहेको र पानी बिक्रीबाट कुनै फाइदा पनि नलिएको बताएका छन्।
साथै उनले पानी बिक्रीका लागी भएको सम्झौतामा आफ्नो संलग्नता नरहेको पनि प्रष्ट्याएका छन्।
एबीसी सँगको अन्तर्वार्तामा बार्नबि जोएसले सरकारका कुनै पनि सांसदले उक्त खरिद प्रक्रियाबाट फाइदा नलिएको बताएका छन्।
उनले भनेका छन्, "म शत प्रतिशत विश्वस्त छु शत प्रतिशत, राजनीतिक जीवनमा त्यो विरलै हुन्छ, म शत प्रतिशत विश्वस्त छु कि मैले आफ्नो काम भन्दा बाहेक केही गरेको छैन, जुन लुकाउनु परोस्।"
साथै उनले पटक- पटक उक्त खरिद प्रक्रिया सहज बनाउनमा विपक्षी लेबर पार्टीको भूमिका उल्लेख गरी रहे।
आरोप प्रत्यारोप
२०१५ मा क्विन्सल्याण्डका लेबर पार्टीका राज्य विकास, प्राकृतिक स्रोतसाधन मन्त्री एन्थोनी लाइन्ह्यामले सङ्घीय सरकारलाई इस्टर्न अस्ट्रेलिया एग्रीकल्चर सँग पानी खरिद गर्न आव्ह्वान गरेका थिए।
सङ्घीय लेबरले कृषि तथा जलश्रोत विभागसँग उक्त सम्झौतासँग सम्बन्धित सम्पूर्ण कागजात जस्ताको तस्तै सार्वजनिक गर्न माग गरेको छ।
बार्नबि जोएसले एबीसी सँग कुरा गर्दै आफूले लुकाउनु पर्ने केही काम नगरेको भन्दै कागजात सार्वजनिक गर्ने बारे आफूलाई कुनै मतलब नभएको बताएका छन्।

साथमा उनले एक पटक लेबर पार्टीले पनि इस्टर्न अस्ट्रेलिया एग्रीकल्चरसँग पानी किनेको उल्लेख गरे।
"लेबर पार्टी आफ्नो कर नीतिबारे यति अनिश्चित छ कि यो विषयलाई खोतल्न खोजिरहेको छ- त्यसो भए यस बारेमा यदि कसैले उत्तर दिनु पर्छ भने त्यो वोङ्ग र बर्क ले दिनु पर्छ किनकि यसको सुरुवात उनीहरूले गरेका हुन्।"
उक्त सम्झौताको बचाउमा गठबन्धनले २००८ मा लेबरले ३० करोड बढी रकम पानी खरिद गर्दा खर्च गरेको बताएको छ।
तर लेबरले भने आफूहरूले प्रतिष्पर्धात्मक टेन्डर आह्वानबाट सो खरिद प्रक्रिया अगाडी बढाएको दाबी गरेको छ।
निर्वाचन र चन्दा
प्रधानमन्त्री स्कट मोरिशनले २०१७ भएको खरिद सम्झौता मन्त्रीहरूको पहुँचबाट टाढा रहेको बताएका छन्।
साथै उनले एबीसीसँग को कुराकानीका क्रममा इस्टर्न अस्ट्रेलियाले २०१३ को निर्वाचनमा लिबरल पार्टीलाई दिएको चन्दा सँग यो सम्झौताको कुनै सम्बन्ध नरहेकोमा पनि जोड दिएका छन्।
इएए ले लिबरल पार्टीको न्यु साउथ वेल्स शाखालाई २०१२ मा भएको निर्वाचनमा २० हजार र २०१३ मा ३५ हजार डलर चन्दा दिएको थियो।
अनुसन्धान आयोग गठन गर्न माग
विपक्षी नेता बिल शर्टनले मानिसहरूलाई प्रमाण दिन बाध्य पार्ने किसिमको कानुनी अनुसन्धान आवश्यक रहेको बताएका छन्।
टोनी विन्डजर् को न्यु इङ्ग्ल्यान्डको सिटमा २०१३ मा बार्नबि जोएसले जित हासिल गरेका थिए।
र विन्डजर् ले पनि उक्त अनुसन्धानको पक्षमा आफ्नो मत राख्दै एसबीएस न्युजको अन्तर्वार्तामा भने, अस्ट्रेलियालीहरू आफूले तिरेको कर नदी व्यवस्थापन प्रणालीमा कत्तीको उचित ढङ्गबाट प्रयोग भएको छ भन्ने बारे विश्वस्त हुन चाहन्छन्।
कृषि मन्त्री डेभिड लिटलप्राउडका अनुसार उनले लेखा परीक्षकलाई पत्राचार गरिसकेको र २००८ देखि भएका पानी खरिदको समीक्षा उपलब्ध गराउन आग्रह गरेको पनि बताएका छन्।
उनले आफूलाई लेखा परीक्षकमाथि पूर्ण विश्वास रहेको भन्दै यसमा शाही आयोगको उपस्थिति आवश्यक नदेखेको पनि बताएका छन्।
पानी खरिद प्रक्रिया के हो?
नदी व्यवस्थापन प्रणाली अन्तर्गत विभिन्न क्षेत्रहरूका लागी छुट्ट्याइएको नदीको पानी यदि कुनै क्षेत्रलाई आवश्यकता भन्दा बढी भयो भने उक्त उब्रिएको पानी सरकारलाई बेच्न पाउने व्यवस्था रहेको छ।

यसरी कृषकहरूलाई सिँचाई का लागी चाहिने पानी आवश्यकता अनुसार किन्न र बेच्न पनि पाउने गर्दछन्।
तर मर्रे- डार्लिंग नदी बेसिन बाट धेरै मात्रामा पानी लिने गरिए पछि सरकारले २००८ मा पानी खरिद गर्ने र नदीमै फर्काउने व्यवस्था गरेर वातावरण सन्तुलन कायम राख्ने कदम चालेको थियो।
