पूर्व लेबर प्रधानमन्त्री बब हकले मेडीकेयरको स्थापना गरे पश्चात्, त्यस योजनामा लगानी गर्ने सबैभन्दा महत्त्वपूर्ण घोषणा विपक्षी लेबर पार्टीका नेता बिल शर्टनले गरेका छन्।
आसन्न आम निर्वाचनमा यदि अस्ट्रेलियन जनताले आफू र आफ्नो पार्टीलाई सरकार बनाउने मौका प्रदान गरे, अर्बुद रोग उपचारका क्रममा गरिने स्क्यानहरूको लागत मेडिकेयर मार्फत तिरिने उनले बताएका छन्।
क्यान्सर भनेर प्रचलित भाषामा चिनिने अर्बुद रोगलाई शर्टनले एक श्रापको संज्ञा दिँदै भने, “क्यान्सर एक श्राप हो। सक्ने भए म आज यहाँ उभिएर क्यान्सर सदैवका लागि निको हुने औषधोपचारको ग्यारेन्टी दिने थिएँ, तर कुनै पनि राजनीतिज्ञले त्यस्तो बचन दिनसक्दैन्।”

क्यान्सर पीडित अस्ट्रेलियनहरु तथा उनीहरूका आफन्तजनले निकै दुःख भोग्नु परेको बताउँदै उनले आफ्नो भाषणको क्रममा भने, “लेबरले सरकार बनाउन मौका पाएको खण्डमा क्यान्सर पीडित अस्ट्रेलियनहरुले आफू कङ्गाल बन्ने चिन्ता गर्नुपर्ने छैन।”
फार्मेसुटिकल बेनेफिट्स स्किम भनिने औषधि लाभ योजनामा सूचीबद्ध गर्न विशेषज्ञहरूद्वारा सिफारिस गरिएको सम्पूर्ण औषधीहरूलाई पनि यस योजनाले समेट्ने उनले ग्यारेन्टी दिए।
लेबरका आश्वासनहरू

- बलियो अधि शेष
- कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत मात्र रक्षामा लगानी गरिने
- विश्वविद्यालयले भर्ना लिन सक्ने सीमित सिट सङ्ख्याको खारेजी
- प्रि-स्कुल वा किन्डरमा हरेक ३ तथा ४ बर्से बालबालिकाहरूलाई हप्ताको १५ घण्टा पहुँच, वर्षको ४० हप्तासम्म
- टेफ तथा सिकारु प्रशिशार्थीहरुका लागि १ बिलियन डलर
सरकारी स्कुल तथा अस्पतालहरूबाट गठबन्धन सरकारले कटौती गरेको “हरेक सेन्ट” पुन: उनीहरूलाई दिने बाचा पनि शर्टनले गरेका छन्।
साथै, एनडीआइएसको कर्मचारी भर्ना सङ्ख्यामा लगाइएको रोक्का पनि आफूहरू सरकारमा पुगे हटाइने आश्वासन पनि उनले दिए।
थप कर कटौती

सरकारद्वारा कर कटौती बारे गरेको निर्णयलाई स्वागत गर्दै बिल शर्टनले आफ्नो नेतृत्वको सरकारले पनि उक्त निर्णयलाई लागु गर्ने बचन दिए।
साथै, मरिसन सरकारले भन्दा अझै एक कदम अगाडी बढेर आफ्नो सरकारले ४०,००० डलर भन्दा कम आर्जन गर्ने मानिसहरूले कर तिर्दा थप सहुलियत पाउने बताए।
“क्रिस बावनले आफ्नो पहिलो बजेट भाषणमा करिब ३६ लाख अस्ट्रेलियनहरुलाई थप कर छुटको व्यवस्था गर्नेछन्,” शर्टनले भने।
सरकारको प्रतिक्रिया

आफूले घोषणा गरेको बजेटको प्रतिउत्तर प्रति गठबन्धन सरकारले आफ्नो भनाइ राख्दै अस्ट्रेलियाले लेबरलाई धान्न नसक्ने प्रतिक्रिया दिएको छ।
अर्थ मन्त्री मथियास कोर्म्यानले सरकारको तर्फबाट प्रतिक्रिया व्यक्त गर्दै लेबरले अर्थतन्त्र एकचोटी पुन: खत्तम गर्ने बताए।
“बिल शर्टनसँग हाम्रो अर्थतन्त्रलाई बलियो राख्ने कुनै योजना छैन। उनको बजेट सम्बन्धी योजना लागु भयो भने हाम्रो अर्थतन्त्र पुन: धराशायी हुनेछ।”
“अघिल्लो पटक लेबर सरकारमा भएको बखत उनीहरूले लगातार ६ वर्षसम्म बजेट घाटाको उपहार अस्ट्रेलियन जनतालाई दिएका थिए।”
उनको अनुसार उक्त ६ बर्से अवधिमा लेबरको बजेट घाटा २४० बिलियन डलर रहेको थियो।
