SKIP TO MAIN CONTENT

उन्नतिशील भुटानी समुदायको कालो पाटो

सन् २०१२ मा भिक्टोरियाली सरकारबाट बहुसांस्कृतिक पुरस्कार र सन् २०१४ मा वर्षको सर्वश्रेष्ठ नयाँ अस्ट्रेलियाली पुरस्कार पाउने पहिलो व्यक्ति बनेका भुटानी पृष्ठभूमिका परशुराम शर्मा लुइँटेल आफ्नै समुदायबाट जातीय विभेदको सिकार भएको बताउँछन्।

भारतको एउटा मन्दिरमा गोप्य रूपमा लुइँटेल दम्पती
भारतको एउटा मन्दिरमा गोप्य रूपमा लुइँटेल दम्पती Source: Supplied

5 min read

Published

Updated

By Sameer Ghimire



Skip to article content

परशुराम शर्मा लुइँटेल आफ्नी एउटै श्रीमतीसँग चार चोटि विवाह गरेको बताउँछन्। पहिलो पल्ट दुई-चारजनाको अगाडि, अनि त्यसपछि कानुनी रूपमा, फेरि भारतको एउटा मन्दिरमा गोप्य रूपमा, अनि बल्ल केही वर्षपछि औपचारिक रूपमा।

“मानिसहरू बर्सेनि वैवाहिक बर्षगांठ मनाउँछन्। म त अझै रनभुल्लाहमा छु, कुन दिन मनाउने भनेर,” उनी हाँस्दै भन्छन्।

अनि चार चोटि विवाह चाहिँ किन? असीम प्रेमले गर्दा कि घरी घरी बेहुला हुन मन लागेर?

“हैन नि। मेरो विवाह अन्तर्जातीय हो। मेरी श्रीमती मगरकी छोरी हुन् र मचाहिँ बाहुन परे,” उनले भने।

"समाजलाई हाम्रो मिलन चित्त बुझेन, मेरै बा-आमालाई मेरो विवाह अपाच्य भयो।"

“त्यही भएर सुरुमा गोप्य रूपमा गरियो। अनि अन्तिममा आएर चाहिँ अलिक बढी आफन्तका साथ फेरि विवाह गरियो,” उनले भने।

हाल अस्ट्रेलियाको मेलबर्नमा बस्ने लुईटेलको जन्मथलो भने भुटान हो।

“त्यस बेला त्यहाँको समाज त्यस्तै थियो, आफूलाई मन पर्ने मान्छेको जात तल-माथि छ भने सामाजिक दबाब निकै चरम हुन्थ्यो,” उनले बताए।

तर झन्डै तीस वर्ष अगाडि, जुन विषयले गर्दा उनले लुकी-लुकी विवाह गर्नु परेको थियो र मन दु:खाउनु परेको थियो, त्यो अझै पनि अर्कै रूपमा आएर उनलाई सताइरहेको छ।

“अन्तर्जातीय विवाहको पीडा, मैले अझै पनि, यहाँ- अस्ट्रेलियामा भोगिरहनु परेको छ,” उनले दुखेसो पोखे।

अहिले अस्ट्रेलियामा ६ हजार पाँच सयभन्दा बढी भुटानी-मूलका मानिसहरू रहेको बताइन्छ।

“यस्तो विकसित र कानुनी देशमा आए पनि, उच्च जात भनाउँदाहरुको प्रवृत्ति अझै हेपाहा नै छ,” लुइँटेल बताउँछन्।

 

उनको गुनासो आफ्नो समुदायको उच्च भनाउँदा वर्गमा रहेको धार्मिक जडता र यसले ल्याएको जाति भेद प्रति लक्षित रहेको छ।

बढ्दै गरेको भुटानी समुदायमा सगोल रूपमा बस्ने परिवार पनि प्रशस्तै रहेको छ, र बुढा-पाकाहरूले पुराना संस्कार अझै त्याग्न सकेका छैनन्, लुइँटेल बताउँछन्।

आफू समुदायमा सामाजिक कामहरूका लागि स्थापित भइसकेकाले विभिन्न व्रतबन्ध, विवाहमा निम्तो आउनु सामान्य कुरा रहेको उनी बताउँछन्।

“पूजा-आज गर्दा त यसले सामाग्री नछुवोस भन्ने सोचाई राखिन्छ; निम्तो त आउँछ, तर त्यो ठाउँमा पुगेपछि भने, व्यर्थ नै आइएछ जस्तो भान हुन पुग्छ,” लुइँटेल भन्छन्।

“मैले कतिपय ठाउँमा त यो आएर हाम्रो पूजाको महत्त्व खेरै फाल्ने भयो भन्ने भाव पाएको छु।”

आफूले अन्तर्जातीय विवाह गरेको कारणले यस किसिमको विभेद अनुभव गर्नु परेकोमा उनी पक्का छन्।

“पूजा-आजामा रहेका बहिनीहरू, पण्डितहरूको आदेश छ, तपाईँ चाहिँ यता नआउनु होस् भनेर सिधै भन्छन्। यसको के अर्थ त?,” उनी प्रश्न गर्छन्।

आफ्नी श्रीमतीलाई लिएर उनी पूजाको कार्यक्रमहरूमा जानै छोडिसके।

“कतै पूजामा गइयो भने उनलाई ग्लानि हुन्छ, किन पूजामा आइयो भनेर। उनलाई छुट्टाइन्छ, बेग्लै राखिन्छ। कतिन्जेल खप्ने? कहिलेसम्म सहने?” उनले प्रश्न गरे।

बहुसांस्कृतिक समाजलाई गर्वको रूपमा हेर्ने अस्ट्रेलियाको लागि लुइँटेल एक सफल पात्रका रूपमा अगाडी आएका छन्।

उनले समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै, सन् २०१४ मा सरकारले उनलाई पहिलो न्यु अस्ट्रेलियन अफ द ईयर लगायतका विभिन्न बहुसांस्कृतिक विभिन्न उपाधिले सम्मानित गरेको छ।

अस्ट्रेलियामा सन् २००२ मा आएका लुइँटेल, यहाँको भुटानी समुदायमा मात्र हैन, अन्य समुदायमा पनि सक्रिय रहेका छन्।

Parsuram Sharma-Luital at a award ceremony
Source: Supplied

तर आफ्नो समुदायमा देखिएको जातीय विभेदको कुराले उनको मन चस्स दु:ख्छ। आफू बाहेक समुदायमा यस किसमको पीडा सहने धेरै मानिसहरु रहेको लुइँटेलको दाबी छ।

“ठुला जाति भनाउँदाहरुको यति दह्रो दबदबा छ कि असहमति राख्नेहरू चुइँक्क पनि गर्न सक्दैनन्।”

“बोले भने उनीहरू आफ्नै घर, आफन्तबाट बहिष्कृत हुने खतरा हुन्छ,” उनको भनाई छ।

न्यु साउथ वेल्सको अल्बरीमा केही समय अघि घटेको एउटा घटनाले भुटानी समुदायमा निकै ठुलो खैला-बैला मच्चाएको थियो।

भुटानी समुदायकी एक युवतीले इरानी मूलको आफ्नो प्रेमीसँग विवाह गर्ने इच्छा राख्दा, त्यहाँ रहेको पण्डित वर्गले विवाह गर्न अस्वीकार गरेका थिए। ती युवतीले त्यस समय आफ्नो वेदना फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन्। पछि, उनको विवाह एक भारतीय मूलका पण्डितले सम्पन्न गरेका थिए।

समुदायमा रहेको यस किसमको भेद-भावको बारेमा भुटानी समुदायको युवा वर्गसँग हामीले थप जिज्ञासा राखेका थियौ। उनीहरू सबै, आफ्नो समुदायमा, जातपातको समस्या रहेको स्वीकार गर्छन्।

“हाम्रा बा-आमा शरणार्थी शिविरबाट अस्ट्रेलिया त आए, तर कहिले अस्ट्रेलियन भएनन्।”

“सधैँ भूटानी नै रहे, बर्षौदेखि उनीहरूको मन-मस्तिष्कमा रहेको धार्मिक जडता कहिले मेटिएन; यतिखेर आएर उनीहरूको विरोध गर्दा हामीलाई नै पाप लाग्ला भन्ने डर छ” उनीहरूको कथन छ।

 

सिड्नीको भुटानी समुदायमा सक्रिय रहेका डम्बर ढुङ्गेलका अनुसार आफूले अन्तर्जातीय विवाह गरेको भए पनि विभेदको अनुभव भने अहिलेसम्म भोग्नु नपरेको  बताउँछन्।

“हाम्रो ज्येष्ठ वर्गको सोचाई नेपालको सानो गाउँमा रहेका सामाजिक मान्यतामै आधारित छ। अस्ट्रेलिया आउँदा यत्रो ‘कल्चरल शक’मा परेको हाम्रा बाबु-बाजेहरूबाट एक दुई कुराहरू आए होलान् तर व्यक्तिगत रूपमा मैले आफूले अनुभव गरेको पनि छैन र देखेको पनि छैन,” उनले भने।

हाल क्यानबेरा निवासी अभिषेक गजमेर जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्न सक्रिय गैर सरकारी संस्था कोहिजन म्याटर्सका सचिव रहेका छन्।

“उपल्लो जात भनाउदाहरुका बाबु-बाजेहरूको चिन्ताले चाहिँ महत्त्व पाउने, अनि विभेद अनुभव गरेकोहरुको पिरमर्काको चाहिँ कुनै अस्तित्व नै छैन?” उनी प्रश्न गर्छन्।

“शक्ति र हैकम जमाउन समाजका केही वर्गले जातीयताको संस्कारलाई प्राण दिएका छन्।”

यही विषयमा, हामीले सिड्नीमा रहेका पण्डित वर्गसँग पनि कुरा गरेका थियौ। नाम नखुलाउन आग्रह गर्दै, एक पण्डितले पुराना थिति र परम्परा चट्टै छाड्न नमिल्ने बताउँछन्।

“आधुनिकताको नाममा सयौँ वर्षदेखि चली आएको परम्परा गलत रहेछ भन्नु अज्ञानता हो,” उनले भने।

“हो, शास्त्रका केही कुराहरू गर्दा अहिलेको समाज सरह ढाल्नुपर्छ, तर सबै कुराहरूमा परिवर्तन गर्न सकिँदैन।”

"गुनासो चाहिँ कुन कुरामा आएको हो?” उनले प्रतिप्रश्न गरे।

त्यस्तै, नाम नखुलाउन चाहने अर्का एक पण्डितले भने यस किसिमको जातीय भेदभावको लागि पण्डित-पुरेत वर्गभन्दा पनि सिङ्गो भुटानी समाज नै दोषी रहेको बताउँछन्।

“भोलि मैले तल्लो-जातको घरमा पूजा लगाएँ र यो कुरा फैलियो भने चिन्ने-जान्नेहरूले मलाई बेग्लै दृष्टिकोणले हेर्नेर्छन्। अनि अन्य कर्मकाण्डका निम्ति मलाई बहिष्कार गर्नेछन् भन्ने जान्दा-जान्दै म यो खतरा किन मोलूँ?” उनको भनाई थियो।

Parsuram Sharma Luital at a Bhutani Cultural Event
Source: Supplied

लुइँटेल भने, अहिले नै यो विषयमा केही नगरे पछि गएर यसले  समुदायमा ठुलै समस्या लिएर आउन सक्छ भनी चेतावनी दिन्छन्।

“कसैको विश्वासले अरूको अधिकार खोसिन्छ भने के यो जायज हो, के यो वैध हो त ?,” उनले प्रश्न गरे।

“यो समस्यालाई हामीले अहिले नै आपसी कुराकानी, समझदारी एवं शिक्षाबाट सुलझाएनौ भने, यसले थप समस्या सिर्जना गर्न सक्छ।”

उता, गजमेर भने शिक्षा एक्लैबाट यो समस्या हल नहुने बताउँछन्।

कानुनी प्रावधानको अवलम्बन र भेदभाव गर्नेहरूलाई दण्ड-सजायको व्यवस्थाले केही हदसम्ममा जातीय भेदभावमा कमी आउन सक्ने उनी आशा व्यक्त गर्छन्।

भुटानी समुदायलाई अस्ट्रेलियाकै एक सफल र उदाहरणीय समुदायको रूपमा हेरिन्छ। तर, यो छुवाछुत एवं जातपातको चलन यदि नजानिँदो रूपमा पोसिएको हो भने, आउँदा दिनहरूमा यस उन्नतशील समुदायको गौरवलाई ठेस नलाग्ला भन्न सकिन्न।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now