अनुसन्धानका प्रमुख लेखक प्राध्यापक ट्रि फान भन्छन् कि बालबालिकामा दुई प्रकारको प्रतिरोधात्मक क्षमता हुन्छ।
पहिलो भनेको जन्मजात या प्राकृतिक प्रतिरोधात्मक शक्ति हो।
सङ्क्रमण रोक्ने पहिलो पक्ष - छाला र म्युकोसल सतहहरू बच्चाहरूमा 'निकै बलियो' हुन्छ र तिनले ब्याक्टेरिया विनाश गर्नका लागि इन्टरफेरन भनेर चिनिने रसायनहरू उत्पादन गर्दछन्।
यस कारण कुनै अन्य स्वास्थ्य समस्या नभएका बालबालिकाहरूमा कोभिडका मध्यम लक्षणहरू देखा पर्दछन् र उनीहरूलाई छिटै निको हुने प्राध्यापक फानले बताए।
तर यस किसिमको प्राकृतिक प्रतिरोधात्मक शक्ति उमेरसँग कम हुँदै जाने उनको भनाइ छ।

दोस्रो प्रकारको प्रतिरोधात्मक शक्ति भने परिस्थिति अनुसार अनुकूल हुने किसिमको हुन्छ।
बी र टी कोशिकाहरू मिलेर बनेको यस किसिमको प्रतिरोधात्मक शक्तिले जन्मजात क्षमता कम हुँदै गए पछि त्यसको ठाउँ लिन्छ।
बी कोशिकाहरूले एन्टीबडीहरू उत्पादन गर्दछन् भने टी कोशिकाहरूले भाइरस लागेका कोशिकाहरूलाई नष्ट गर्दछ, जसले तिनलाई शरीर भित्र बढ्न दिँदैन।
"बच्चाहरूको जन्मजात प्रतिरोधात्मक शक्ति यति बलियो हुन्छ कि त्यसले भाइरसलाई छिट्टै शरीरबाट हटाउँछ। त्यसैले बी र टी कोशिकाहरूसँग भाइरस अनुकूल बन्ने समय हुँदैन," प्राध्यापक फानले एसबीएसलाई बताए।
"बच्चाहरू कोभिडबाट पुनः सङ्क्रमित हुँदा बिरामी हुने जोखिम हुन्छ। त्यसैले खोप लगाउन जरुरी छ जस्तो हामीलाई लाग्दछ," उनले बताए।
पुनः सङ्क्रमण हुने जोखिम
बाल सङ्क्रामक रोग विशेषज्ञ तथा माइक्रोबायोलोजिस्ट प्राध्यापक ब्रेन्डन म्याकमलन भन्छन् कि नयाँ भेरिएन्टहरूले बालबालिकालाई फेरी सङ्क्रमित बनाउन सक्छन्।
"खोपको सुविधा पाँच वर्षदेखि त्यसभन्दा ठुला बालबालिकाका लागि र उच्च जोखिममा रहेका ६ महिनादेखि पाँच वर्षसम्मका बच्चाहरूका लागि उपलब्ध छ," म्याकमलनले बताए।
स्वास्थ्य विभागको तथ्याङ्क अनुसार २२ लाख अस्ट्रेलियाली बालबालिकाहरू कोभिड-१९ बाट सङ्क्रमित भएका छन्, जस मध्य पाँच लाख पाँच वर्ष या त्यसभन्दा कम उमेरका छन्।
महामारी सुरु भएदेखि २४ जना बालबालिकाको सङ्क्रमणका कारण ज्यान गएको छ।
तर अस्ट्रेलिया सरकारले पुनः सङ्क्रमणको भने तथ्याङ्क सङ्कलन गरेको छैन।
फेरी सङ्क्रमित हुने जोखिम उमेर, पहिलो सङ्क्रमण, भेरिएन्ट, प्रतिरोधात्मक शक्ति र खोप जस्ता विभिन्न पक्षमा भर पर्ने विभागको भनाइ छ।
"केही अध्ययनहरूले देखाएका छन् कि सार्स-कोभ-२ (SARS-CoV-2) को पुनः सङ्क्रमणको जोखिम वयस्कहरूमा भन्दा बालबालिकामा कम हुन्छ।"
"यद्यपि, विभिन्न उमेर समूहमा कोभिड-१९ पुनः सङ्क्रमणको बारे थप अनुसन्धानको आवश्यकता छ। त्यसमा प्रतिरोधात्मक शक्ति कम हुने प्रवृत्ति र सङ्क्रमणका लहरहरूको विषय पनि समावेश हुनु पर्छ।"
जामा नेटवर्क ओपनमा प्रकाशित एउटा नयाँ अध्ययनले अमेरिकामा अगस्ट २०२१ र जुलाई २०२२ को बीचमा सङ्क्रामक रोगबाट भएका बालबालिकाको मृत्युको प्रमुख कारण कोभिड-१९ रहेको देखाएको छ।"कोभिड-१९ अमेरिकामा ९,४०,००० भन्दा बढी मानिसहरूको मृत्युको कारण थियो, जसमा बालबालिका र शून्य देखि १९ वर्ष उमेर समूहका १,३०० जना थिए," उक्त रिपोर्टले बताएको छ।
बालबालिकामा खोपको आवश्यकता
बालबालिकाहरूमा कोभिड-१९ सङ्क्रमण धेरै गम्भीर नहुने र छिटो निको हुन्छ भन्ने विश्वासका कारण अभिभावकहरू ढुक्क भएको देखिन्छ।
विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ कि पाँच वर्षदेखि १५ वर्षको उमेर समूहमा केवल ५१% ले मात्र खोपका दुई खुराक लगाएका छन्।
प्राध्यापक फान भन्छन् कि बच्चाहरूलाई खोप लगाइदिनु राम्रो कुरा हो किनभने - खोप लगाएको र पहिला कोभिड सङ्क्रमण भइसकेको - यी दुवै पक्षहरू भएमा गम्भीर बिरामी र अस्पताल भर्ना हुने जोखिम कम हुन्छ।
एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।
