हालै मात्र पत्ता लागेको उक्त भाईरसका कारण अहिलेसम्म १७ जनाको ज्यान गईसकेको छ र पाँच सयभन्दा बढी मानिसहरु यस रोगबाट संक्रमित भएका छन्। तर यो संख्या निकै बढी हुन सक्ने अनुमान लगाईएको छ।
कोरनाभाईरसको शुरुवात वुहान शहरबाट भएको हो। यस शहरलाई माछा-मासुको आपुर्तिको एक केन्द्रको रुपमा पनि हेरिन्छ र यो रोग यहि रहेको पशु-पंक्षी बजारबाट शुरु भएको अनुमान लगाईएको छ।
अहिले त्यहाँका अधिकारीहरुले त्यस शहरलाई जोड्ने सबै यातायात र उडान रद्द गराएका छन्। एक करोड दस लाख जनसंख्या भएको उक्त शहरका मानिसहरुलाई विशेष कारण बिना शहर नछोड्न आदेश दिएको छ।
कोरोनाभाईरसको संक्रमणको संकेत चीन बाहेक हङ्गकङ्ग, अमेरिका, थाईल्याण्ड, जापान, मकाउ र दक्षिण कोरियामा पनि देखिएको छ। यता अस्ट्रेलियामा भने ब्रिसबेनमा एक व्याक्तिलाई यस रोगको संक्रमणले समातेको शुरुमा आशंका गरिए पनि उनमा गरिएको परीक्षणले त्यस्को विपरित नतिजा दिएको छ।
चिनियाँहरुको नयाँ बर्ष आउनै लाग्दा कोरोनाभाईरसको संक्रमणका कारण त्यहाँको कतिपय शहरहरुमा उत्सवका कार्यक्रमहरु रद्द भएका छन्।
चीनमा, त्यहाँ मनाईने नयाँ बर्ष सबैभन्दा ठूलो पर्वको रुपमा हेरिन्छ। १० ज्यानुवरी देखि १८ फ्रेबुररीसम्म मनाईने यो पर्वमा झण्डै तिन अर्ब यात्राहरु तय गरिने अनुमान लगाईएको छ।
यस नयाँ बर्षको समयमा त्यहाँका नागरिकहरु आफ्नो परिवारसँग भेट्ने क्रम विदा मिलाई घर फर्कने गर्छन्।
यसै बेला, विदेशबाट पनि धेरै चिनियाँहरु देश फर्कन्छन्। तर यसपल्ट भने कोनोराभाइरसको डरका कारण आशा अनुरुपले मानिसहरु चीन भ्रमण नगर्न पनि सक्ने बताईएको छ।
मेलबर्नका जेम्स ली यो समयमा चीन जानका लागि ६ महिना अघि टिकट काटेका थिए।

तर उनको आमा-बाबु वुहान शहर नजिकै बस्छन्, र यसले गर्दा जेम्सले आफ्नो भ्रमण योजना रद्द गरेका छन्।
“हाम्रो दुई साना नानीहरु छन्- तिन बर्षे र आठ महिनको। त्यो कारणले पनि हामीलाई जोखिम लिन सकेनौ,” लीले एसबीएसलाई बताए।
उता उनका बुबाले भने छोरो र उनको परिवार आउने आशामा आफ्नो घरमा मर्मतसम्हार पनि गराईसकेका थिए।
यसैबिच, असट्रेलियाको सरकारले वुहान शहर जानेलाई थप सतर्कता लिन अपील गरेको छ। हिजो जारी गरेको एक विज्ञप्तिमा त्यहाँ भ्रमणको क्रममा कुनै पनि श्वास-प्रश्वासको सम्सया भएमा तुरुन्तै चिकित्सकलाई भेट्न सल्लाह दिईएको छ।

वुहान र सिड्नीबिच सोझो हवाईमार्ग स्थापित रहेको छ र हाल हफ्तामा तिन वटा उडान रहेको छ। यसै कुरालाई ध्यानमा राख्दै, अस्ट्रेलियाको सरकारले यहाँको विमानस्थलमा यस किटाणुबाट सुरक्षित रहन थप प्रबन्ध गरेको बताएको छ।
