चीन द्वारा चार अस्ट्रेलियाली कारखानाका मासुहरु आयात नगर्ने भनि घोषणा गरेपछि उक्त मामिलाबारे वार्ता गर्न भनि गरिएको अस्ट्रेलियाली सरकारको आग्रहलाई चीन द्वारा बेवास्ता गरिएको छ।
अस्ट्रेलियाली गाईको मासु निर्यातमा झन्डै ३५ प्रतिशत ओगटेको चार कारखानाका मासुहरुको प्याकेजिङ्गमा त्रुटीपूर्ण जानकारी रहेको भन्दै चीनले आयातमा प्रतिबन्ध लगाएको थियो।
सङ्घीय व्यापार मन्त्री साइमन बर्मिङ्घमले भनेका छन् कि चिनियाँ अधिकारीहरुको उक्त कदमबारे आफुले वार्ता गर्न चाहेता पनि बेइजिङ्ग स्थित आफ्ना समकक्षीसंग बाट त्यसबारे केहि प्रतिक्रिया आएको छैन।
"यो किन भएको हो मलाई थाह छैन। मा वार्ताको लागि तयार छु," नाइन नेटवर्कसंग कुरा गर्दै उनले भने।
"मैले मेरो समकक्षीसंग यसबारे वार्ता गर्न आग्रह गरेको छु, तर त्यो अहिले सम्म नभएता पनि हामी वार्ताका विकल्प खुला राख्नेछौं।"

विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीको श्रोतबारे स्वतन्त्र अन्तर्राष्ट्रिय छानबीन हुनुपर्ने माग प्रधानमन्त्री स्कट मोरिसनले गरेपछि अस्ट्रेलियाली सर-सामाग्रीलाई आफ्ना देशवासीहरुले बहिष्कार गर्नसक्ने चेतावनी क्यानबेराका लागि चिनियाँ राजदूतले केहि हप्ता अगाडी दिएका थिए।
अस्ट्रेलियामा उत्पादन हुने मध्ये १८ प्रतिशत वा वार्षिक ३ अर्ब डलर मूल्य बारबारको बीफ चीन निर्यात गरिन्छ।
गत आइतवार मात्र चिनियाँ अधिकारीहरुले आफ्नो देश भित्रिने अस्ट्रेलियाली जौं मा ८० प्रतिशतले कर बढाउने चेतावनी दिइएको थियो।
तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान ले चाहिं कोरोनाभाइरसबारे छानबीन हुनुपर्ने अस्ट्रेलियाली अडानका कारण ती कदमहरु चालिएको भन्ने भनाइको खण्डन गरेका छन्।
बीफ निर्यात गर्ने केहि अस्ट्रेलियाली व्यवसायहरु द्वारा क्वारेन्टिन र अनुगमनका नियमहरुको पटक-पटक पालना नगरिएको उदाहरणहरु भेटिएका कारण पछिल्लो प्रतिवन्ध लागु गरिएको उनले बताए।
तर दुई देश बीचको व्यापार संकट बढ्दै गएको संकेतका माँझ अस्ट्रेलियाका अन्य उद्योगहरुलाई लक्षित गर्दै चिनियाँ कदम आउनसक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।

यसैक्रममा चिनियाँ समाचार पत्रिका, ग्लोबल टाइम्स, ले चाहिं पछिल्ला कदमहरुले चीन द्वारा अस्ट्रेलियालाई आर्थिक रूपमा दण्ड दिइएको भनेर भन्न नमिलेता पनि, ती कदमहरुलाई नकार्न नमिल्ने बताएको छ।
"यसले चीनसंगको आर्थिक सम्बन्धबारे अस्ट्रेलियाको आँखा खोल्ने मौका प्रदान गर्न सक्ने छ," उक्त पत्रिकामा लेखिएको छ।
"अस्ट्रेलियाको लागि आफ्नो सरसामाग्री निर्यात गर्ने चीन एक मात्र विकल्प रहेता पनि चीनको लागि चाहिं अस्ट्रेलिया एक मात्र विकल्प रहेको छैन। "
लेबरका कृषि मामिला सम्बन्धि छायाँ मन्त्री जोल फिट्ज़गिबनले मोरिसन सरकार द्वारा आफ्नो प्रमुख व्यापार साझेदारसंगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्।
