अस्ट्रेलियाका लागि चिनियाँ राजदूत द्वारा आर्थिक बहिष्कारको चेतावनी दिइएको आरोपबारे विदेश मन्त्रालय द्वारा स्पष्टिकरण माग गरिएको सङ्घीय व्यापार मन्त्री साइमन बर्मिन्घामले पुष्टि गरेका छन्।
विश्वभर महामारीको रूपमा फैलिएको कोभीद-१९ को सङ्क्रमण सबै भन्दा पहिला चीनको हुबेइ प्रान्तमा देखिएको थियो।
र उक्त भाइरसको श्रोतबारे स्वतन्त्र छानबीन हुनुपर्ने अस्ट्रेलियाली सरकार द्वारा माग गरिदा क्यानबेरा स्थित चिनियाँ राजदूत जिङ्गयी चेङ्गले त्यस्ता भनाइले भविष्यमा आफ्ना देशवासीले अस्ट्रेलियाली सामाग्री र सेवाहरुको बहिष्कार गर्न सक्ने चेतावनी दिएका हुन्।

अस्ट्रेलियन फाइनान्सियल रिभ्युसंगको कुराकानीमा चेङ्गले आम चिनियाँहरुले किन अस्ट्रेलियाली वाइन पिउने वा अस्ट्रेलियाली बीफ खाने भनेर सोच्न सक्ने तर्क राखेका थिए।
गत हप्ता मात्र गृह मामिला मन्त्री पिटर डटनले स्वतन्त्र छानबीनको मामिलालाई उठाउने आफ्ना सहकर्मी र विदेश मन्त्री मारिस पेयेनको समर्थनमा बोले पछि, चिनियाँ दुताबासले डटन "एक अमेरिकी मुखपत्र" रहेको आरोप लगाएको थियो।
तर उक्क्त विषयलाई लिएर चिनियाँ विद्यार्थी, पर्यटक, र उपभोक्ताहरुले पनि अस्ट्रेलियालाई बहिष्कार गर्न सक्ने चेतावनी चाहिं दुतावास द्वारा पहिलो पटक व्यक्त गरिएको हो।
यसैक्रममा मन्त्री बर्मिन्घामले चाहिं चिनियाँ राजदूतको भनाइ "निराशजनक" रहेको भन्दै स्वतन्त्र छानबीनको आफ्नो अडानलाई सरकारले परिवर्तन नगर्ने जोड दिएका छन्।
"प्रमुख जनस्वास्थ्य र राष्ट्रिय सुरक्षाका मामिलामा आर्थिक धम्की र चेतावनीहरुका कारण सरकारले आफ्नो नीति परिवर्तन गर्दैन," उनले एबीसीलाई बताए।
साथै विदेश मामिला र व्यापार मन्त्रालयकि सचिव फ्रान्सेस आडमसनले चिनियाँ राजदूतको पछिल्लो भनाइ पछि स्पष्टिकरण माग गरिएको पनि उनले पुष्टि गरे।

एडमसन र जिङ्गयी चेङ्ग बीच उक्त विषयबारे कुराकानी भएको तर उक्त कुराकानीको नतिजा के रह्यो भन्नेबारे चाहिं सरकार द्वारा केहि बताइएको छैन।
संघीय विपक्षी लेबर पार्टी द्वारा पनि कोरोनाभाइरस बारे स्वतन्त्र छानबीन हुनुपर्ने मोरिशन सरकारको मागको समर्थन गरेको छ।
पार्टी नेता एन्थनी अल्बनेजी भन्छन कि अस्ट्रेलियाले चीनसंग सकारात्मक सम्बन्ध राख्न चाहेको छ तर उक्त सम्बन्ध आपसी विश्वास र पारदर्शितामा निर्भर रहन्छ।
"भाइरस कहाँ बाट आयो भन्नेबारे पारदर्शी रूपमा कदम चालिनु जरूरी रहेको छ." उनले भने।

