Key Points
- १२ वर्षसम्म लिबरल-नेश्नल गठबन्धन अस्ट्रेलियन लेबर पार्टीको पकडमा थियो।
- न्यु साउथ वेल्स राज्य संसद्मा लेबरले ५० स्थानसम्म जित्न सक्ने बताइएको छ।
- डोमिनिक पेरोटले पेरोटेले न्यु साउथ वेल्स राज्यको लिबरल पार्टी नेतृत्व छाड्ने पुष्टि गरेका छन्।
बाह्र वर्षसम्म लिबरल-नेश्नल गठबन्धनले आफ्नो पकडमा राख्न सफल न्यु साउथ वेल्समा, अस्ट्रेलियन लेबर पार्टीले हिजोको निर्वाचनमा राज्य सरकार बनाउने गरी भोट पाएपछि, टास्मेनियामा बाहेक सङ्घीय लगायत सबै राज्य तथा प्रादेशिक सरकारहरू लेबरमय भएको छ।
र, योसँगै सरकार गठन गर्न कम्तीमा पनि चाहिने ४७ सिटमा जित हासिले गरेपछि लेबरले न्यु साउथ वेल्समा सरकार बनाउने पक्का भएको हो।
तर, बहुमतको सरकार बनाउन क्रिस मिन्स सक्षम हुन्छन् कि हुँदैनन् भनेर जान्न चाहिँ केही समय थप लाग्नेछ।
समीक्षकहरूको अनुमान छ कि कूल ९३ सिट रहेको न्यु साउथ वेल्स राज्य संसद्मा लेबरले ५० स्थानसम्म जित्न सक्छ।
हिजो शनिवार, सिड्नीमा फुटबलको एउटा खेल हेर्न पुगेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले आफ्नो उक्त भ्रमण छोट्ट्याउँदै, पार्टीको विजयी कार्यक्रममा, न्यु साउथ वेल्स लेबरका क्रिस मिन्सलाई राज्यको ४७ औँ प्रिमियरका रूपमा चिनाउँदै स्वागत गरेका थिए।
“अस्ट्रेलियन लेबर पार्टीको सबै कुराहरूलाई मूर्तरूप दिने मानिस उहाँ हो,” प्रधानमन्त्रीले न्यु साउथ वेल्स लेबर नेताका बारेमा भने।
“उनको योजनहरू सधैँ नै मानव केन्द्रित हुन्छन्।”
ऐतिहासिक रूपमा यो राज्य लेबरको ठुलो सफलता हो।
किनभने, दोस्रो विश्वयुद्धपछि सन् १९७६ मा नेभील रान र सन् १९९५ मा बब कार पछि विपक्षी हुँदै न्यु साउथ वेल्समा सरकार बनाउने गरी राज्य लेबरले भोट पाएको यो जम्मा तेस्रो पटक हो।
क्रिस मिन्स भन्छन् कि लेबरले न्यु साउथ वेल्सका जनतालाई निराश तुल्याउने छैन।
यस पटकको आफ्नो चुनावी अभियान, भविष्यमा हुने निर्वाचनहरूका लागि एक नमुना रहेको पनि उनको भनाई छ।
साथै उनले गठबन्धनलाई राज्य चुनावमा नेतृत्व दिएका डोमिनिक पेरोटेलाई पनि धन्यवाद दिए।
यसअघि, पेरोटेले पनि मिन्सलाई शनिवार राती नौ बजे फोन गरेर बधाई दिएका थिए।
देशका लागि सबै मिलेर नयाँ प्रिमियरलाई साथ दिनुपर्ने पनि उनको भनाई छ।
“न्यु साउथ वेल्सभरका सबै मानिसहरूलाई, तपाईँहरूको राजनैतिक झुकाव जता भए पनि म उहाँको पछाडि लाग्न आग्रह गर्न चाहन्छु,” पेरोटेले भने।
“किनभने, जब न्यु साउथ वेल्सले राम्रो गर्छ, देशले राम्रो गर्छ र यो मेरो विश्वास छ कि यो कुरामा हामी सबैले एकता देखाउन सक्छौँ।”
उता, गठबन्धनको कार्यक्रममा भाग लिन सिड्नीको हिल्टन होटेल आइपुगेका पूर्व प्रधानमन्त्री जन हावर्डले लेबरको नयाँ वर्चस्वले लिबरल-नेश्ननल पार्टीहरूको भविष्यलाई लिएर के सन्देश दिएको छ भन्न मानेनन्।
“यसबारे अहिल्यै केही भनिहाल्नु निकै चाँडो हुन्छ,” उनले भने।

कस्ट अफ लिभिङ भनिने दैनिक रूपमा जीवन धान्न हुने खर्च वा महँगी आकासिँदै गएको बेला लगातार चौथो पटक चुनाव जित्नु गठबन्धनका लागि फलामको चिउरा चपाएको जस्तै गाह्रो काम रहेको केही लिबरल तथा नेश्नल पार्टीका नेताहरूले बताएका छन्।
तर, सरकारबाट बाहिरिने क्रममा रहेका प्रिमियर डोमिनिक पेरोटेले पार्टीका शुभचिन्तकहरूलाई सम्बोधन गर्दै भने कि गठबन्धनले न्यु साउथ वेल्सलाई थप साहसिलो र सफल राज्यका रूपमा छाड्दै छ।
साथै आफूले चुनावको नतिजालाई सम्मान गर्ने पनि उनको भनाई थियो।
योसँगै पेरोटेले न्यु साउथ वेल्स राज्यको लिबरल पार्टी नेतृत्व आफूले छाड्ने पनि पुष्टि गरेका छन्।
पार्टीको नयाँ नेतृत्वमा पदमुक्त भएका पूर्व ट्रेजरर म्याट कीइनको नाम सबैभन्दा अगाडी छ तर उनले यसबारे आफूले अहिल्यै केही नसोचेको बताए।

