SKIP TO MAIN CONTENT

“क्लास एक्सन” मुद्दा खेप्दै उबर

हज्जारौं ट्याक्सी तथा अन्य भाडाका कार चालकहरू तर्फबाट उबरद्वारा अस्ट्रेलियामा गैरकानुनी तवरले आफ्नो व्यवसाय सञ्चालन गरेको भन्दै “क्लास एक्सन” मुद्दा दायर गरिएको छ।

هزاران راننده تاکسی استرالیایی از شرکت اوبر شکایت کرده اند.
Source: AAP

2 min read

Published

Updated



Skip to article content

 

मुद्दा दायर गर्ने मरिस ब्लाकबर्न लयर्सका अनुसार भिक्टोरिया, न्यु साउथ वेल्स, क्विन्सल्याण्ड तथा वेस्टर्न अस्ट्रेलियाका करिब ६,००० भन्दा बढी मानिसहरूले उक्त कारबाहीमा सहभागिता जनाएका छन्।

 

उसले उबर माथि आफ्ना चालकहरूसँग उचित लाइसेन्स र आफूहरूसँग सही कागजात नभएको थाहा भए तापनि त्यसलाई नजरअन्दाज गर्दै आफ्नो व्यवसाय सञ्चालन गरेको आरोप लगाएको छ।

 

मरिस ब्लाकबर्नका एन्ड्रु वाटसनले भने, “यसमा कुनै द्विविधा नराख्नु होला, यो उबरको गैरकानूनी सञ्चालन सम्बन्धी एक ऐतिहासिक मुद्दा हुनेछ।”

 

“कानूनभन्दा माथि रहेर आफ्नो व्यापार-व्यवसाय सञ्चालन गर्न कसैलाई छुट छैन र गैरकानूनी धन्दा सञ्चालन गरेर अरूलाई अप्ठेरोमा पार्नु पनि सही छैन।”

 

दर्ता गरिएको उक्त “क्लास एक्सन” मुद्दाका अनुसार, उबरले आफू नियमहरू छल्न अनेक हथकण्डाहरु अपनाएको थियो र फलस्वरूप कानूनसङ्गत चलेका ट्याक्सी तथा आफ्ना अन्य प्रतिद्वन्द्वी कम्पनीहरू माथि अनुचित प्रतिस्पर्धात्मक लाभ पाएको थियो।

 

यो मुद्दाका प्रमुख वादी मेलबर्नको ब्रुन्स्विक निवासी ट्याक्सी चालक निक् एण्ड्रिएनाकिस् हुन् र उबरले आफ्नो जीविकोपार्जन उजाडिदिएको उनको भनाई छ।

 

“मेरा बुवासँग आफ्नै ट्याक्सीहरू थियो र उहाँ आफैँ पनि एक ट्याक्सी ड्राइभर हुनुहुन्थ्यो। त्यसैले सानैदेखि ट्याक्सी मेरो पनि जीवनको एक महत्त्वपूर्ण हिस्सा बन्न पुग्यो,” एण्ड्रिएनाकिस्ले भने।

 

“तर, अकस्मात उबरका गतिविधिका कारण यी सबै मबाट लुटियो।”

 

“मलाई राम्ररी याद छ त्यो दिन। शुक्रवारको राति थियो, एमसीजीमा भर्खरै फुटीको एक खेल सकिएको थियो। झमझम पानी परिरहेको थियो। म नजिकैको स्वान होटेल (पब) अगाडी आफ्नो ट्याक्सीमा ग्राहक कुरिरहेको थिएँ। मानिसहरू एमसीजीबाट फुतुफुतु निस्किरहेका थिए। उबरहरु आउँदै मानिस टिप्दै जाँदै थिए। यो क्रम करिब एक घण्टा जस्तो नै चलिरह्यो होला। निकै बेर पछि बल्ल मेरो ट्याक्सीको पछाडिको ढोका खुल्यो र एक युवती पछाडिको सिटमा देखा परिन।”

 

अनि उनले भनिन्, ‘म धेरै टाढासम्म त जाने यात्रु परिन है!’

 

मैले उनलाई जहाँसम्म जानुपर्ने हो, लगीदीहाल्छु नि भने।

 

उनले त्यसपछि मलाई जे भनिन्, त्यसले मेरो मुटु चसक्क गर्‍यो।

 

‘त्यसो त म उबर लिन्थे तर हेर्नुहोस् न, मेरो फोनको ब्याट्री सिद्धियो।’

 

मैले सहनै सकिन, उनलाई घर छोडिदिएँ र मेरी श्रीमतीलाई फोन गरेँ। र भने, ‘म घर आउन लागेँ। ट्याक्सीका दिन सक्कियो।’

 

आफ्नो जीवनभरको मिहिनत पलभरमै माटोमा मिसिएको अनुभूति भयो।”

 

“तर, यो मेरो मात्र कथा होइन - अस्ट्रेलियाभर नै यस्तो अनुभव गर्ने धेरै जना हुनुहुन्छ,” उनले थपे।

 

उता, उबर भने अहिलेसम्म आफ्नो कम्पनीले “क्लास एक्सन” बारे कुनै पत्र नपाएको बताएको छ।

 

उबरकी एक प्रवक्ताले भनिन्, “३८ लाखभन्दा बढी अस्ट्रेलियनहरुले हाम्रा सेवाहरू नियमित रूपमा एक भरपर्दो विकल्पका रूपमा प्रयोग गर्दै आइरहेकाछन्।”

 

“अनि, देशभरका सरकारहरूले पनि ‘राइड शेयर’लाई सार्वजनिक यातायातकै रूपमा मान्यता प्रदान गरिसकेको अवस्था छ।”

 

मरिस ब्लाकबर्नद्वारा उक्त “क्लास एक्सन” मुद्दा भिक्टोरिया राज्यको सर्वोच्च अदालतमा आज बिहान दर्ता गरिएको हो।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now