संसारभर १४,००० भन्दा पनि बढी मानिसहरूलाई सताइसकेको यो नयाँ किसिमको नोवेल कोरोनाभाइरस भनिने जीवाणुका कारण अस्ट्रेलियाका सहरहरूमा मानिसहरूले मास्क लगाउँदै हिँड्ने क्रम बढेको छ।
चिनियाँ अधिकारीहरूले त्यहाँ रहेका बासिन्दा सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनै पर्ने नियम लागू गरेपछि यसको प्रयोगमा वृद्धि हुँदै गएको हो।
तर, यसको प्रयोगबाट उक्त रोग रोकथाममा हुने सक्ने प्रभावकारिता बारे भने विज्ञहरू निश्चिन्त देखिएका छैनन्।
वर्क सेफ्टीद्वारा जारी एक रिपोर्ट अनुसार, भाइरसलाई फैलनबाट रोक्ने सबैभन्दा राम्रो तरिका भनेको राम्ररी हात धुने र खोक्दा मुख छोप्ने नै हो।

यता अस्ट्रेलियामा भने, यसपालिको डढेलो सङ्कटबाट उत्पन्न धुवाँबाट बच्न पनि मानिसहरूले विभिन्न किसिमका मास्क लगाउन सुरु गरेका थिए र त्यस मध्ये सर्जरी गर्दा लगाइने मास्कले धुवाँमा हुने प्रदूषणका स-साना कण रोक्न नसकेको पाइएको थियो।
हाल जारी कोरोनाभाइरस सङ्कट उत्पन्न गराउने जीवाणु पनि ती मास्कमा हुने क्षिद्रभन्दा निकै सानो हुने भएकाले श्वासप्रश्वास प्रक्रिया मार्फत सजिलै शरीर भित्र जान सक्ने बताइएको छ।
यसैकारणले ती सर्जिकल मास्क भन्दा रेस्पिरेटर्स भनिने अलिक बाक्लो खालको मुख छोप्ने वस्तुको प्रयोग गर्न विज्ञहरूले सुझाएको उक्त रिपोर्टमा उल्लेख छ।
तर, रेस्पिरेटर्स लगाउँदा भने सास फेर्न केही मात्रामा गाह्रो हुने पनि बताइएको छ।
सर्जिकल मास्क

- सर्जनहरूद्वारा शल्यक्रियाको बखत प्रयोग गर्न बनाइएको
- पहिरिने मानिसलाई ठुलठुला थोपा वा अरूहरूको शरीरबाट निस्कने शारीरिक एवम् सङ्क्रमित तरल पदार्थबाट बचाउन प्रयोग गर्ने गरिन्छ
- वायुमण्डलमा हुने प्रदूषणका स-साना कणलाई सास फेर्दा भित्र जानबाट रोक्न सक्दैन
- खुकुलो हुने भएकाले पहिरिने व्यक्तिद्वारा सास फेर्दा कणहरू छेउ कुनाबाट निस्किने डर हुन्छ
- श्वासप्रश्वास जीवाणु प्रतिरोधी नहुने ठानिएको
रेस्पिरेटर्स

- सबैजसो स-साना कणहरूलाई नाक र मुख भित्र छिर्नबाट रोक्ने गरी बनाइएको
- कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामीहरूको उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्न सिफारिस गरिएको
- सास फेर्न केही गाह्रो बनाउन सक्ने
- ठ्याकै मिल्यो भने मात्र प्रभावकारी हुने; दाह्री जुँगा भएका मानिस वा बालबालिका लागि अनुपयुक्त
