प्रहरीका अनुसार कुनै हिंसात्मक घटना नभएता पनि ३ जना प्रदर्शनकारीहरूलाई पक्राउ गर्नुकासाथै अन्य धेरैलाई नियन्त्रणमा लिइएको थियो।
उग्र दक्षिणपन्थी प्रदर्शनकारीहरूले उक्त घटनाका लागी उक्साउने गरी आपराधिक र रंगभेदी गतिविधि गरेको जनाइएको छ।
प्रधानमन्त्री स्कट मोरिशनले दक्षिणपन्थी अभियन्ताहरूको संलग्नता रहेको उक्त घटनालाई ’भद्दा रंगभेदी प्रदर्शन’ को संज्ञा दिएका छन्
आइतबार ट्रेजरर जोस फ्राइडेनबर्गले प्रधानमन्त्री मोरिशनको चिन्तालाई दोहोर्याउँदै भने, “अशहिष्णुता को लागी अस्ट्रेलियामा कुनै स्थान छैन र हिजो जस्तो आप्रवासी विरोधी दृष्टिकोणहरू देखिए त्यो अस्ट्रेलियामा स्वीकार्य छैन।”
लेबर नेता बिल शर्टनले सामाजिक सञ्जाल ट्विटर मार्फत अल्पसङ्ख्यक प्रति लक्षित घटना भन्दै आलोचना गरेका छन्।
क्विन्सल्याण्डका स्वतन्त्र सिनेटर फ्रेजर येनिंग जसले संसद्मा आफ्नो पहिलो सम्बोधन गर्ने क्रममा ’फाइनल सलुशन’ भन्ने शब्दहरूको प्रयोग गरेर विवादित थिए, उनले उक्त र्यालीमा उग्र दक्षिण पन्थीहरूको साथमा उभिएका थिए।
उक्त समूहले ‘अजि, अजि, अजि, ओइ, ओइ, ओइ’ भनी गाएका थिए भने उनीहरूको विरुद्ध सडकमा उत्रिएका प्रदर्शकारीहरूले ‘आप्रवासीलाई स्वागत छ, रङ्ग विभेदीहरूलाई होइन’ भनी नारा लगाएका थिए।

अस्ट्रेलियाको यहुदीहरूको परिषद्का उप प्रमुख पिटर वेरथिएमले यदि कुनै समूहले आफ्नो विचार राख्न चाहन्छ भने पनि यसरी हिट्लर समर्थक (नाजी) हरूको स्वस्तिक चिन्हलाई लिएर र हिट्लरको जस्तो सलामी दिएर आफ्नो आवाज सुनाउन खोज्नु राम्रो तरिका नभएको बताएका छन्।
अस्ट्रेलियाको बहुसांस्कृतिक संस्थाका कार्यकारी निर्देशक हास् डेल्लालले रङ्ग र जातका आधारमा हुने विभेदलाई बहुसङ्ख्यक अस्ट्रेलियाली नागरिकहरूले नस्विकार्ने विश्वास व्यक्त गरेका छन्।
वेन्टवर्थ निर्वाचन क्षेत्रकी सांसद केरिन फेल्पसले अस्ट्रेलियाका राजनीतिक नेताहरूले यस्ता उग्र दक्षिणपन्थीहरूको सामना गर्न सक्ने जति गर्नु पर्ने बताएकी छन्।
फेल्पस लगायत लेबर पार्टीकी उपनेत्री तान्या पिल्बर्सेक र ग्रिन्स कि सिनेटर साराः हयान्सन योङ्गले उत्तेजित पार्ने किसिमले आप्रवासनका बारेमा बोलिएको उक्त कार्यक्रममा क्विन्सल्याण्डका स्वतन्त्र सिनेटर फ्रेजर येनिङ्गले उपस्थिति जनाएकोमा आलोचना गरेका छन्।
तर सिनेटर येनिङ्गले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व मात्र गरेको भन्दै क्विन्सल्याण्डले पनि आपराधिक समूहहरूको सामना गर्नु परेकोमा जोड दिएका छन्।
साथमा उनले प्रदर्शनमा सहभागी हुन मेलबर्न जान र फर्कन करदाताहरूको नै रकम खर्चिने बताउँदा यहुदीहरूको सङ्गठनका पिटर वेरथिएमले अधिकांश अस्ट्रेलियालीहरू आफूले तिरेको करबाट येनिङ्गले यात्रा गरेको भन्ने थाहा पाउँदा अचम्मित हुने बताएका छन्।
उता येनिङ्गले भने सो भ्रमण सिनेटरको हैसियतले गरेको हुँदा सरकारी खर्चमा गएको अन्यथा आफैँले तिर्ने थिएँ भनेका छन्।
