अन्य राज्यहरुलाई सीमा खोल्न न्यु साउथ वेल्सको सुझाव

अन्य राज्यहरुले कोरोनाभाईरसको संक्रमणको क्रममा बन्द गरेका सीमा खोल्न पर्ने न्यु साउथ वेल्स राज्यको आग्रहले विवाद ल्याएको छ।

NSW Premier Gladys Berejiklian announced the pay freeze on Wednesday.

NSW Premier Gladys Berejiklian Source: AAP

कोरोनाभाईसको प्रभाव अस्ट्रेलियामा कम हुँदै गर्दा, यहाँको जनजीवन बिस्तारै सामान्य हुन लागेको छ। यहाँका विभिन्न राज्यहरुले फरक फरक नीति तथा कडाई गरेर कोभिड-१९ को महामारीलाई कम गर्ने प्रयास गर्दै आएका छन्। 

विभिन्न राज्यहरुले आपनाएको नीतिहरुमध्ये- आफ्नो सीमालाई बन्द गर्ने पनि रहेको छ। भिक्टोरिया, ए सि टि र न्यु साउथ वेल्सबाहेक देशका सबै राज्यहरुले आफ्नो सीमा बन्द गरेका छन्। यी राज्यहरुमा अझ केहि समय सीमा बन्दनै रहने बताईन्छ। 

यता न्यु साउथ वेल्समा आउँदो सोमबारदेखि विधालयहरु पूर्ण रुपले खुल्ने भएको छ।

यसले गर्दा यहाँको जनजीवन बिस्तारै सामान्य हुदै जाने छ। आउँदो जुन महिनादेखि आन्तरिक पर्यटनका लागि भ्रमण पनि गर्न पाईने भएको छ।

तर सीमा बन्द भएका राज्यहरुले अहिलेनै सीमा नखोल्ने बताएका छन्।

क्विन्सल्याण्ड राज्यकी प्रिमियर एनाटास्सिया पालासेले न्यु साउथ वेल्स र भिक्टोरियामा समुदायमा सर्ने कोरोनाभाईरसको संक्रमण कम भएमा यसमा विचार गरिने बताएकी छिन्।

आउँदो सेप्टेम्बर महिनासम्म सीमा यसरी बन्द हुन सक्ने पनि उनले बताईन्। 

यता न्यु साउथ वेल्सकी प्रिमियर, ग्लयाडिस बर्जेक्लिनले भने सीमा बन्द राखेर अहिलेको अवस्थामा कुनै लाभ नरहेको बताउछिन्।

“अहिलेको समय भनेको अर्थतन्त्रलाई बलियो आधार प्रदान गर्नु हो। राज्यहरुबिच रहने व्यवसायिक कारोबार सीमा बन्द भएको अवस्थामा निकै प्रभावित हुन्छ,” उनले बताईन्।

उनको भनाईमा सीमा बन्द भएका राज्यहरुले उक्त प्रतिबन्ध हटाउनु पर्छ, जसले गर्दा आर्थिक गतिविधिले केहि मात्रामा भए पनि बढ्न शुरु हुन्छ।

तथ्यांकहरुका अनुसार, आन्तरिक पर्यटनका लागि न्यु साउथ वेल्स अग्रणी राज्य मानिन्छ। गत बर्ष मात्रै झ्ण्डै २३ अर्ब रकम बराबरको अन्तरिक पर्यटनको व्यवसाय भएको थियो।

अन्य राज्यहरुमा सीमा बन्दको क्रम रहिरहेमा, राज्यको आम्दानीलाई यसले प्रभाव पार्ने पक्का छ।

Tourists visiting Sydney's world famous icons, the Sydney Harbour Bridge and the Sydney Opera House
Tourists visiting Sydney's world famous icons, the Sydney Harbour Bridge and the Sydney Opera House Source: AAP Image/Dean Lewins

तर उता पश्चिम अस्ट्रेलियाका प्रिमियर मार्क मक्गोवनले न्यु साउथ वेल्सले सीमा सुरक्षाको कुरालाई लिएर अन्य राज्यहरुलाई सुझाव दिन नसुहाउने बताएका छन्।

“रुबि प्रिन्सेसको घटनाले नै त्यहाँ कति समस्या ल्यायो? अहिले आएर हामीलाई सीमा फुकुवा गर भनि सल्लाह दिनु पटक्कै सुहाउदैन,” उनले भने।

न्यु साउथ वेल्समा रोकिएको रुबि प्रिन्सेस पानी-जहाजबाट ओर्लेका यात्रुहरुमार्फत यहाँ कोरोनाभाईरसको संक्रमण ठूलो रुपले सरेको थियो।

हाल पश्चिम अस्ट्रेलियामा, त्यस राज्यभित्रै विभिन्न ठाउँहरु जान पनि प्रतिबन्ध लगाईएको छ। यस राज्यमा कोरोनाभाइरसको संक्रमण तुलनात्मक रुपमा निकै कम देखिएको छ।

यस्तै क्विन्सल्याण्ड राज्यले पनि आफ्नो सीमा न्यु साउथ वेल्सको सल्लाह अनुसार नखोल्ने बताएको छ।

त्यहाँका पर्यटनमंत्री मार्क बेलिको भनाईमा न्यु साउथ वेल्सले आफ्नो राज्यमा कोरोनाको संक्रमण अझ कम गर्न ध्यान दिनु पर्छ, अन्य राज्यको आन्तरिक मामिलामा हैन, भनि बताएका छन्।

सबै राज्यहरुले आफ्ना नीतिहरु, राज्यका स्वस्थ्य अधिकारिहरुको सल्लाह अनुसार परिमार्जन गरिदै आएको जानकारी दिएका छन्।

 

 

 

 


3 min read

Published

Presented by SBS Nepali

Source: SBS News



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now