कोरोनाभाइरस सङ्क्रमण फैलन बाट रोक्न र सङ्कटमा परेकाहरुको सहयोगका लागि सरकार द्वारा सुरु गरिएका आर्थिक प्याकेजका समाचारहरुका माँझ ठगि गर्ने लक्ष्यका साथ् नक्कली एसएमएस र इमेलहरुका साथै नक्कली वेबसाइटहरु पनि स्थापना भएको बताइएको छ।
अस्ट्रेलियाली सरकार अन्तर्गत रहेको स्क्यामवच नामक निकायका अनुसार कोभिड-१९ को महामारी सुरु भएदेखि, ठगिका हजारौ रिपोर्टहरु उक्त निकाय समक्ष आएका छन्।
नक्कली हो कि हैन भन्ने छुट्टाउन गारो हुने सूचनाहरुका कारण धेरै मानिसहरु झुकिएको र ठगि बाट पीडित भएको बताइएको छ।
मानिसहरुको व्यक्ति र बैंकिंग जानकारीको चोरी गर्ने देखि, अनलाइन किनमेल र सुपरएनुएशन ठगिका उदाहरणहरु धेरै रहेको स्क्यामवचको भनाइ छ।

नक्कली सूचनाका उदाहरण
स्क्यामवचका अनुसार अस्ट्रेलिया सरकार द्वारा संचालित माइ-गव नामक अनलाइन सेवाका साथै, मेडिकेयर, कर कार्यलय, बैंक र अन्य सेवाहरुका नाम र लोगो प्रयोग गर्दै ठुलो सङ्ख्यामा मोबाइल फोनमा नक्कली एसएमएस वा इमेल पठाइएका छन्।
साथै कोभिड-१९ बाट आफुलाई कसरी सुरक्षित राख्नेबारे जान्न यो भिडियो हेर्नुहोस् भन्ने धेरै नक्कली सूचनाहरु पनि ठुलो संख्यामा रहेका छन्।
ती सूचनाहरुमा प्राय "थप जानकारीका लागि क्लिक गर्नुहोस्" भनेर लिङ्क राखिएका हुन्छन्। ती लिङ्कमा रहेका वेबसाइट ठेगानाहरु पनि आधिकारीक सरकारी निकायको ठेगाना जस्तो देखिने गरेको बताइन्छ।
त्यस्ता लिङ्कहरुमा क्लिक गरिए फोन वा कम्प्युटरमा भाइरस डाउनलोड हुने र मानिसहरुको व्यक्तिगत जानकारीहरु चोरी हुने चेतावनी स्क्यामवचको वेबसाइटमा रहेको छ।
"तपाईंको नजिक कोरोनाभाइरस सङ्क्रमित भेटिएको र आफ्नो जाँच कहाँ गराउनेबारे बुझ्न यो लिङ्कमा हेर्नुहोस् वा अस्ट्रेलियाली कर कार्यालय बाट तपाईंको लागि रकम उपलब्ध रहेको छ, रकम लिन यहाँ क्लिक गर्नुहोस्", भन्ने जस्ता सूचनाहरुमा क्लिक गर्नु सट्टा प्रतक्ष्य रूपमा आफैले कर कार्यालय वा संदेश आएको कथित सरकारी निकायलाई सम्पर्क गरेर उत्क जानकारी सहि हो कि हैन भन्नेबारे पुष्टि गर्न उपयुक्त हुने सरकारी निकायको भनाइ छ।

सुपरएनुएशन ठगि
कोरोनाभाइरसका कारण आग्नो जागिर गुमाएकाहरुले आफ्नो सुपरएनुएशन बाट पैसा निकाल्न मिल्ने भनि सरकार द्वारा घोषणा गरिए पछि आर्थिक सङ्कटमा रहेकाहरुलाई लक्षित ठगिका उदाहरण पनि देखिन थालेको बताइएको छ।
सुपरएनुएशन झिक्न सहयोग प्रदान गर्ने भन्दै कतै बाट फोन आए वा कोहि व्यक्ति तपाईंको घरमै आए आफ्नो जानकारी कसैलाई नदिन स्क्यामवचको सल्लाह रहेको छ।
"ठगि गर्न चाहनेहरुले तपाईं सुपरएनुएशन झिक्न योग्य हुनुन्छ कि हुनुन्न भन्नेबारे जांच गर्ने देखि, सुपरएनुएशन सम्बन्धि नयाँ नियमले तपाईंको खाता बन्द नभएको सुनिश्चित गर्न", भन्ने जस्ता संदेशका साथ् तपाईंलाई कसैले सम्पर्क गरे त्यस प्रति सचेत रहन र आफैले अस्ट्रेलियाली कर कार्यालयलाई सम्पर्क गर्न जरुरी रहेको छ।
तर नक्कली एसएमएस वा इमेलमा रहेका ठेगानामा चाहिं सम्पर्क नगर्न पनि अधिकारीहरुले आग्रह गरेका छन्।
"फोन बुक, पुरानो बिल वा इन्टरनेटमा स्वतन्त्र रूपमा खोजि गरेर सम्पर्क जानकारी पाउन सकिन्छ।"

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
