मुटु रोग, मधुमेह, उच्च रक्तचाप र दम जस्ता रोगबाट पीडित भएका मानिसहरूलाई कोभिड-१९ सङ्क्रमण हुँदा ती व्यक्तिहरू उच्च जोखिममा हुने बताइएको हो।
कोरोनाभाइरसले फोक्सोका कोशिकाहरू माथि हमला गर्दा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले जनाउने प्रतिक्रियाको तरिकाका कारण फोक्सो भित्रबाट सुन्निने र त्यसले थप जटिलता पैदा गर्ने बताइएको छ।
संसारभरका कोभिड-१९ सङ्क्रमित बिरामीहरूको कुरा गर्दा, ७० प्रतिशत भन्दा बढी मानिसहरू जसलाई सघन उपचार आवश्यक परेको छ, उनीहरूको स्वास्थ्यमा पहिलेदेखि कुनै न कुनै रूपमा स्वास्थ्य समस्याहरू रहेको पाइएको छ।
यस आलेखमा हामीले कोभिड-१९ का लागि सबैभन्दा नाजुक स्वास्थ्य अवस्थाहरूको विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौँ।

कोभिड-१९ का लागि सबैभन्दा गहन तथा अन्तर्निहित स्वास्थ्य अवस्थाहरूमा फोक्सोका पुराना रोगहरू, दम, मुटु रोग, मधुमेह, कलेजो तथा मिर्गौलाका अवस्था पर्छन्। यसका साथै, अन्य औषधोमुलो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई निस्तेज गर्ने गर्छन् - जस्तै क्यान्सरको उपचार वा अङ्ग प्रत्यारोपण क्रियाहरूद्वारा पनि जोखिम बढ्न सक्ने पाइएको छ।
कोभिड-१९ का लागि सबैभन्दा गहन तथा अन्तर्निहित स्वास्थ्य अवस्थाहरूमा फोक्सोका पुराना रोगहरू, दम, मुटु रोग, मधुमेह, कलेजो तथा मिर्गौलाका अवस्था पर्छन्। यसका साथै, अन्य औषधोमुलो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई निस्तेज गर्ने गर्छन् - जस्तै क्यान्सरको उपचार वा अङ्ग प्रत्यारोपण क्रियाहरूद्वारा पनि जोखिम बढ्न सक्ने पाइएको छ।
दम

दम खासमा श्वासप्रश्वास सम्बन्धित एक अवस्था हो जुन श्वास नली सुन्निँदा र अति संवेदनशीलताका कारण हुन्छ। खोकी लाग्ने, छाती घ्यार्र घ्यार्र हुने, छातीमा जकड्न महसुस हुने र सास फेर्न गाह्रो हुने यसका केही लक्षणहरू हुन्।
अस्ट्रेलियाभर लगभग ११ प्रतिशत मानिसहरू हाल दमबाट प्रभावित रहेको एक अनुमान छ जसमा आदिवासी अस्ट्रेलियालीहरूलाई अन्य मानिसहरूको तुलनामा यो रोगले थप सताउने बताइएको छ।
आस्थ्मा भनेर पनि चिनिने दम सुरु हुन श्वास नलीलाई उत्तेजित गर्ने कुनै पनि कुरा शरीर भित्र प्रवेश गरे पुग्छ।
दमका रोगीहरूले विशेष सावधानी अपनाउनु पर्छ किनकि कोभिड-१९ ले पनि श्वास नलीलाई आक्रमण गर्छ।
यसबारे थप जानकारी अङ्ग्रेजीमा यहाँ उपलब्ध छ।
फोक्सो सम्बन्धी अन्य अवस्थाहरू
दम बाहेक अन्य सबैभन्दा प्रभावित गर्ने फोक्सोका अवस्थाहरूमा एस्बेस्टोसिस्, ब्रोङ्काइटिस्, सिस्टिक फाइब्रोसिस्, एम्फाईस्मा, फोक्सोको क्यान्सर, क्षयरोग लगायतका हुन्।
यसबारे थप जानकारी अङ्ग्रेजीमा यहाँ उपलब्ध छ।
मुटु रोग
विश्वव्यापी रूपमा गरिएको शोधका अनुसार मुटु सम्बन्धी रोगहरूबाट ग्रसित मानिसहरूले कोभिड-१९ सङ्क्रमणबाट समुदायका अन्य व्यक्तिहरूको तुलनामा आफ्नो ज्यान गुमाउन सक्ने अवस्था धेरै हुन्छ किनकि उनीहरूलाई गम्भीर प्रकृतिको कोरोनाभाइरस सङ्क्रमण हुने जोखिम ज्यादा हुन्छ।
कोभिड-१९ ले मुटुका मांसपेशीहरूलाई गम्भीर रूपमा प्रभावित गर्दै मुटुमा चोट पुर्याउनुका साथै हृदयाघात हुने सम्भावना पनि बढाउने पाइएको छ।
मुटु स्वस्थ राख्न स्वस्थ वर्द्धक रूपमा जीवन जिउनु आवश्यक छ र यसका लागि व्यायाम एवं कसरत नियमित रूपमा गर्ने, सन्तुलित आहार खाने, प्रशस्त पानी पिउने र भरपुर आराम गर्नुपर्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रति हप्ता कम्तीमा पनि १५० मिनेट मध्यम गतिले गर्न मिल्ने व्यायाम वा ७५ मिनेट तीव्र गतिले गरिने कसरत गर्न सिफारिस गरेको छ।
मुटु रोग सम्बन्धी थप जानकारी अङ्ग्रेजी भाषामा यहाँ उपलब्ध छ।

मधुमेह
मधुमेहबाट पीडित भएका मानिसहरूका लागि थप स्वास्थ्य चुनौतीहरू उपस्थित हुन सक्छन्।
डायेबेटिज अस्ट्रेलियाका अनुसार फ्लुको खोप लगाउने, बिरामी परेको खण्डमा प्रयोग गर्न मिल्ने व्यवस्थापन योजना तयारी अवस्थामा राख्ने र आफ्नो रगतको ग्लुकोजको मात्रा व्यवस्थित गर्नुपर्छ।
मधुमेह भएका मानिसहरूलाई फ्लुबाट गम्भीर जटिलताहरूको उच्च जोखिम हुन्छ र मधुमेह नभएका मानिसहरू भन्दा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ।
मधुमेहका कारण शरीरले भाइरल सङ्क्रमण विरुद्ध चाल्ने रोग प्रतिरोधात्मक प्रतिक्रियामा प्रभावकारी हुन सक्दैन र सम्भावित रूपमा दोस्रो सङ्क्रमणका रूपमा ब्याक्टेरियाहरूले पनि फोक्सोमा हानी पुर्याउन सक्छन्।
टाइप टु भनिने दोस्रो प्रकारको मधुमेहबाट ग्रसित थुप्रै बिरामीहरू मोटोपनको पनि सिकार हुन्छन् र यस कारण उनीहरूमा गम्भीर सङ्क्रमण हुने खतरा अन्य मानिसहरूको तुलनामा बढी हुन्छ।
मधुमेह तथा कोभिड-१९ बारे थप जानकारी अङ्ग्रेजीमा यहाँ उपलब्ध छ।
कलेजोका अवस्थाहरू

हेपाटाइटिस बी वा सी सहित कलेजोका अन्य अवस्थाहरूका साथ जीवनयापन गरिरहेका मानिसहरूले सामान्य मानिसहरूले जस्तै स्वास्थ्य अधिकारीहरूले सिफारिस गरे अनुसारको सुरक्षात्मक उपायहरू अवलम्बन गर्नुपर्छ।
सतर्क रहनुहोस् र सिफारिस गरिएका सुरक्षात्मक विधिहरूको उपयोग गरेर आफूलाई कोभिड-१९ बाट बचाउनुहोस्।
कलेजो सम्बन्धी गम्भीर रोग भएका मानिसहरूलाई इन्फ्लूएन्जा र न्यूमोकोकल रोगहरू विरुद्धका खोप लगाउन सिफारिस गरिएको छ।
हेपाटाइटिस र कोभिड-१९ बारे थप बुझ्न यहाँ जानुहोस् , कोभिड-१९ र पुरानो हेपाटाइटिस बी बारे जान्न परे यहाँ जानुहोस् अनि पुरानो हेपाटाइटिस सी र कोभिड-१९ थप जानकारी यहाँ उपलब्ध छ।
नोट: यी सबै जानकारीहरू अङ्ग्रेजी भाषामा छन्।
मिर्गौला रोग

मिर्गौला रोगीहरूले कोभिड-१९ बाट हुने खतरा पनि फ्लुबाट हुने जोखिम बराबर नै हुन्छ भनेर बुझ्नु पर्छ - उनीहरूमा कोरोनाभाइरसबाट गम्भीर लक्षणहरू हुने र जटिलताको उच्च जोखिममा रहन्छन्।
यदि बिरामी अस्वास्थ्य छन्, शरीरमा पानीको मात्रा कम छ वा कुनै दोस्रो सङ्क्रमण छ भने कोभिड-१९ को सङ्क्रमणले मिर्गौलाको कार्य प्रणालीमा घात गर्ने सम्भावना ज्यादा रहन्छ।
मिर्गौला रोग र कोभिड-१९ बारे थप जानकारी यहाँ छ अनि किड्नी हेल्थ अस्ट्रेलियाको प्रबन्धन योजना यहाँ छ।
क्यान्सर उपचार

क्यान्सर भनिने अर्बुद रोगको उपचारमा रहेका मानिसहरूको रोग प्रतिरोधात्मक प्रणाली प्राय: कमजोर हुने हुनाले त्यस्ता बिरामीहरूले उनीहरूको चिकित्सक वा स्वास्थ्य स्याहारकर्ताद्वारा दिइने विशिष्ट सल्लाहको पालना गर्नुपर्छ।
यसरी सल्लाह पालना गर्दा सङ्क्रमण हुने खतरा कम हुन्छ, उपचारको बखत र तत्पश्चात् पनि।
यस्ता बिरामीहरू सकेसम्म घरमै बसेर आराम गर्नुपर्छ र अत्यावश्यक बाहेकका अन्य सबै खाले भ्रमणहरूमा अनि सार्वजनिक यातायातमा यताउता जान हुँदैन।
यसबारे थप जानकारी अङ्ग्रेजीमा यहाँ उपलब्ध छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

