कोभिड-१९ अपडेट: भिक्टोरियामा लकडाउन लम्बियो, साउथ अस्ट्रेलियामा पाँचौँ तहको प्रतिबन्ध लागू

Wynyard railway station

Commuters wait for buses at Wynyard railway station in the central business district in Sydney, Tuesday, July 20, 2021. Source: AAP Image/Mick Tsikas


मुख्य बुँदाहरू:

  • भिक्टोरियाको लकडाउन मङ्गलवार, जुलाई २७ तारिखसम्मका लागि लम्बिएको छ,
  • डेल्टा प्रकोपका कारण न्यु साउथ वेल्समा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ,
  • साउथ अस्ट्रेलिया आज साँझ ६ बजेदेखि पाँचौँ तहको प्रतिबन्धहरू लागू हुने घोषणा गरिएको छ,
  • अस्ट्रेलियामा रहेका एक करोड भन्दा बढी मानिसहरूले कोरोनाभाइरस विरुद्धको पहिलो खोप पाएका छन् भने २८ लाख मानिसहरूले उक्त खोपको दुवै मात्रा प्राप्त गरेका छन्।

भिक्टोरिया

प्रिमियर ड्यानिएल एन्ड्रुजले राज्यमा हाल जारी लकडाउन थप एक साताको लागि लम्ब्याइएको घोषणा गरेका छन्।

भिक्टोरियाको लकडाउन अब मङ्गलवार, जुलाई २७ तारिखको राती ११:५९ बजे उप्रान्त मात्र खुकुलो हुनेछ।

गएको २४ घण्टामा राज्यमा थप १३ जनामा सामुदायिक सङ्क्रमण पुष्टि गरिएको छ जसमध्ये एक जना कसरी सङ्क्रमित हुन पुगे भन्ने बारे अधिकारीहरूले छानबिन जारी नै राखेका छन्।

ती १३ सङ्क्रमित मध्ये नौ जना उनीहरूको सङ्क्रमणकालीन अवस्थाभर नै आइसोलेसनमा रहेको एन्ड्रुजले बताएका छन्।

हाल भिक्टोरियामा ९६ जना सक्रिय सङ्क्रमितका रूपमा रहेको पनि उनको भनाई छ।

रेड जोन वा लाल क्षेत्र भनेर भिक्टोरियाली सरकारले घोषणा गरेका स्थानहरूबाट राज्य प्रवेश गर्न आवश्यक पर्ने "रेड जोन पर्मिट" हालका लागि स्थगन गरिएको पनि भिक्टोरियाली अधिकारीहरूले बताएका छन्।

लकडाउन लम्बिएपछि स्थानीय व्यापार व्यवसायमा परेको असरलाई न्यूनीकरण गर्ने कार्यक्रम बारे घोषणा भोलि बुधवार हुने पनि ड्यानिएल एन्ड्रुजले बताएका छन्।

हाल भिक्टोरियामा ३०० भन्दा बढी सङ्क्रमण स्थलहरूको पहिचान भइसकेको छ र १५,८०० जनालाई सक्रिय सङ्क्रमितका प्राथमिक सम्पर्क भनेर वर्गीकृत गरिएको छ।

पर्यटकीय आकर्षणको केन्द्र फिलिप आइल्यान्ड र भिक्टोरियाको उत्तर-पश्चिममा रहेको ग्रामीण नगर मिल्डुरामा पनि सङ्क्रमित मानिसहरू पुगेपछि ती स्थानका केही ठाउँहरूलाई सङ्क्रमण स्थलहरूको सूचिमा राखिएको छ। पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा मङ्गलवार बेलुका आठ बजेसम्मको गणना अवधिमा थप ७८ जनामा सामुदायिक सङ्क्रमण पुष्टि गरिएको छ भने एक ५७ वर्षिया महिलाको पनि कोभिड-१९ का कारण मृत्यु भएको बताइएको छ।

उक्त महिलाको मृत्युसँगै कोरोनाभाइरसको पछिल्लो लहरका कारण न्यु साउथ वेल्समा ५ जनाको ज्यान गइसकेको छ।

राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार यी मध्ये २१ जना आइसोलेसन वा क्वारेन्टिनमा बसेका थिएनन्। 

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

सर्भिस न्यु साउथ वेल्सले कोभिड-१९ लकडाउनबाट प्रभावित साना तथा मझौला व्यापार व्यवसायहरूका लागि सञ्चालित अनुदान कार्यक्रमको आवेदन अनलाइन मार्फत लिन सुरु गरेको छ।

दर्खास्त आगामी सेप्टेम्बर महिनाको १३ तारिखसम्म दिन सकिने छ।

थप जानकारीका लागि यहाँ जानुहोस्।

गएको २४ घण्टामा अस्ट्रेलिया

साउथ अस्ट्रेलियाले समुदायका थप पाँच जनामा कोभिड-१९ भेटिएको पुष्टि गरेको छ।

योसँगै राज्यका प्रिमियर स्टिभन मार्सलले पाँचौँ तहको प्रतिबन्धहरू आज साँझ ६ बजेदेखि लागू हुने घोषणा गरेका छन्। यी प्रतिबन्धहरू एक साताको लागि हुने पनि उनको भनाई छ।

हाल साउथ अस्ट्रेलियाभर सङ्क्रमित स्थलको सूचिमा १६ स्थानहरू राखिएका छन्। यस बारे थप जानकारी यहाँ छ

क्विन्सल्यान्डमा पनि मङ्गलवार सामुदायिक सङ्क्रमणको एक थप घटना पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन्।

वेस्टर्न अस्ट्रेलियाको फ्रिम्यान्टल स्थित एक बन्दरगाहमा रोकिएको बिबिसी क्यालिफोर्निया नामक मालवाहक जहाजका आठ कर्मचारीहरूमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

कोभिड-१९ मिथक/तथ्य

मिथक: कोरोनाभाइरस विरुद्धको खोप असुरक्षित छ किनकि यसको विकास निकै छोटो समयमा भएको थियो।

तथ्य: अस्ट्रेलियामा प्रयोग हुने कोरोनाभाइरस विरुद्धका सबै खोपहरूले थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टीजीए) भनिने औषधीजन्य सामाग्रीहरूको नियामक संस्थाद्वारा निर्धारण गरिएको मापदण्डहरू पुरा गरेको हुनुपर्छ।

टीजीएले अस्ट्रेलियामा हाल प्रयोगमा रहेका खोपहरूको सूक्ष्म अध्ययन गरिरहेको बताएको छ र यी बारे कुनै समस्या आउना साथ आफूले उचित कदम चाल्ने उसले बताएको छ।

साथै, टीजीएले अस्ट्रेलियामा आपूर्ति गरिएका खोपहरूको प्रत्येक ब्याचहरूको प्रयोग अगाडि गुणस्तर जाँच गर्ने गरेको छ।

अमेरिकामा जनस्वास्थ्य तथ्याङ्कहरूको विश्लेषण गर्दा कोभिड-१९ बाट मृत्यु भएका अधिकांश मानिसहरूले खोप नलगाएको पाएको छ।

यसै गरी, पब्लिक हेल्थ इङ्गल्यान्डद्वारा गत जुन महिनामा जारी एक रिपोर्ट अनुसार फेब्रुअरी यता डेल्टा भेरिएन्टबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका २२३ मध्ये १०३ जनाले कि त खोप नै नलगाएको कि त पहिलो डोज मात्र लगाएका थिए।

इद अल अधा

त्यागको चाड भनेर परिचित इद अल अधा शुक्रवार समापन हुँदैछ। 

 

इदको बेला गरिने धार्मिक पाठ या प्राथनाका बेला आफू तथा समुदायका अन्य सदस्यहरूको सुरक्षा गर्नु एकदमै जरुरी हुन्छ।

 

  • यदि तपाईँ पनि इद मनाउँदै हुनुहुन्छ भने तपाईँले:
  • घरमा नै रहेर प्राथना गर्नुपर्छ
  • ठुला जमघटको आयोजना गर्नु हुँदैन
  • मास्क लगाउनु पर्छ
  • पाठ गर्न आफ्नै आसनको प्रयोग गर्नुपर्छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

5 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now