अस्ट्रेलिया भर रहेका विभिन्न समुदायहरूका मानिसहरूले के-कति सङ्ख्यामा कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भन्ने बारे सुसूचित रहन सरकारले उनीहरूको जातियता र भाषाको रेकर्ड राख्ने बताएको हो।
आफ्ना डाक्टर कहाँ खोप लगाउन जाँदा मानिसहरूलाई उनीहरूको जन्मस्थल, घरमा बोलिने भाषा लगायत जातियताको पहिचान खुल्ने प्रश्नहरू सोधिने छन्।
सन् २०२० को अन्त्यदेखि अस्ट्रेलिया भर कोरोना सङ्क्रमण भएका मानिसहरूको यसै प्रकारको जानकारी राष्ट्रिय रूपमै सङ्कलन हुँदै आइरहेको छ।
यसो गर्दा विभिन्न समुदायहरूमा सरकारले खोप बारे सांस्कृतिक रूपमा उचित जानकारी दिन मद्दत पुग्ने आसा ती सामाजिक अगुवा तथा विज्ञहरू लिएको बताइएको छ।
यस बारे मन्त्रालयका एक जना प्रवक्ताले भने, "सन् २०२० मा स्वास्थ्य मन्त्रालयले सांस्कृतिक र भाषिक हिसाबले विविध समुदाय कोभिड-१९ स्वास्थ्य सल्लाहकार समूह स्थापना गर्यो, जसमा सांस्कृतिक, जातीय र भाषिक हिसाबले विविध समुदायका नेताहरू र उनीहरूका प्रतिनिधि सङ्गठनहरू, स्वास्थ्य विशेषज्ञहरू र चिकित्सा तथा जनस्वास्थ्य अधिकारीहरू सामेल छन्।"
"समूहको उद्देश्य कोभिड-१९ महामारीको सम्बन्धमा सांस्कृतिक, जातीय र भाषिक हिसाबले विविध व्यक्ति र समुदायहरूको अनुभवमा स्वास्थ्य मन्त्रालयलाई सल्लाह प्रदान गर्नु हो।"
त्यसरी सङ्कलन गरिएको डाटा, "उपयुक्त र संवेदनशील तरीका"बाट सार्वजनिक गर्ने कि नगर्ने भन्ने बारे निर्णय उक्त सल्लाहकार समितिको सुझाव अनुसार हुने पनि मन्त्रालयका ती अधिकारीले एसबीएस समाचारलाई बताएका छन्।
फेक्काकी अध्यक्ष मेरी पतेटटोस् भन्छिन् कि उनको सङ्गठन विभिन्न समुदायहरूको खोप बारे रुझानलाई जान्न उत्सुक छ।
"हामी विशेष रूपमा कुन समुदाय, भाषा र धार्मिक पृश्ठभुमिका मानिसहरूले के-कस्तो दरमा खोप लगाइरहेका छन् भन्ने जान्न लालायित छौँ," पतेटटोस्ले भनिन्।
"यदि कुनै समुदायका मानिसहरूले औसत भन्दा कम दरमा खोप लगाए भने त्यो किन र कसरी भयो भनेर हामी बुझ्न आतुर रहने छौं र त्यस समुदाय विशेषलाई लक्षित गरेर जनचेतनामूलक सार्वजनिक अभियान चलाएर उनीहरूलाई मद्दत गर्ने हाम्रो उद्देश्य रहने छ।"

अन्य राष्ट्रहरूमा भएका यसै किसिमको अध्ययनहरूका अनुसार विभिन्न जातिका मानिसहरूमा कोरोनाभाइरसको खोप लगाउने अनुपात एकैनास छैन।
युकेको रोयल सोसाइटी फर पब्लिक हेल्थद्वारा गरिएको एक सर्वेक्षणको नतिजा अनुसार ७६ प्रतिशत उत्तरदाताले कोभिड-१९ को खोप आफूहरूले लगाउने बताएता पनि जम्मा ५७ प्रतिशत गैर श्वेत वर्णका मानिसहरूले मात्र उनीहरू खोपको लागि तयार रहेको बताएका थिए भने अन्य ३५ प्रतिशत उत्तरदाताहरूले डाक्टरहरूद्वारा अभिप्रेरित गरिए आफ्नो विचार बद्लेर खोप लगाउने मनसाय व्यक्त गरेका थिए।
अस्ट्रेलियामा मानिसहरूले कम्तीमा पनि १.५ मिटरको भौतिक दुरी कायम राख्नुपर्छ। तपाईँको राज्यमा लागू रहेको मानिसहरू भेला हुने उच्चतम सङ्ख्याको व्यवस्था बारे अद्यावधिक जानकारी राख्न यहाँ जानुहोस्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएमा ००० (ट्रिपल जिरो) कल गर्नुहोस्।
