माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए ।
प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार रहेका दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो ।
निर्वाचनमा ५ सय ७३ सांसद उपस्थित थिए ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चासमेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपालगायत साना दलको समर्थनमा दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनको पार्टी माओवादी केन्द्र भने संसदमा तेस्रो ठूलो दल रहेको छ ।
दाहालविरुद्ध अन्य कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन ।
