कोसी नदीमा हिजो शनिबार डुंगा पल्टँदा त्यसमा सवार भएका धेरैको उद्धार भएता पनि , नौ जना भने अझै बेपत्ता रहेका छन्। कान्तिपुर पत्रिकाले जनाए अनुसार, करिब ४५ जनाको क्षमता भएको डुंगामा ६० जना यात्रु चढेको अनुमान गरिएको छ। विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार सुनसरीको महेन्द्रनगर–५ प्रकाशपुरस्थित कोसी नदीमा शनिबार पल्टिएको डुंगाबाट, ३७ जनाको उद्धार गरि सकिएको छ।
उद्धार गरिएकाहरु मध्ये , एक वर्षीय बालक पनि रहेको बताईएको छ।
आज आइबार बिहानैदेखि बेपत्ताहरुको खोजी सुरु गरिएको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा खोजी कार्य भइरहेको सुनसरी प्रशासनले जनाएको छ । सम्पूर्ण यात्रु विवरण संकलन हुन्जेलसम्म , बेपत्ताहरुको संख्या अझ बढ्न सक्ने स्थानिय समाचारहरु ले जनाएका छन्।
