क्यानबेरा स्थित अस्ट्रेलियन न्याशनल विश्वविद्यालयको डाटाहरू गए १९ वर्षदेखिका उल्लेखनीय मात्रामा “ह्याक” भएको बताइएको छ।
गए वर्षको अन्त्य तिर गरिएको भनिएको उक्त चोरी बारे एक हप्ता अगि मात्र आफूहरूले जानकारी पाएको अस्ट्रेलियन न्याशनल विश्वविद्यालय (एएनयु) का उपकुलपति ब्रायन इश्मिडले एक विज्ञप्तिमा बताएका छन्।
“चोरी भएको डाटामा नाम, व्यक्तिगत इमेल ठेगाना, जन्म मिति, फोन नम्बरहरू लगायत आपत्कालीन समयमा सम्पर्क गर्नु परे त्यस्ता व्यक्तिका विवरण, पासपोर्ट र बैङ्क खाता विवरणहरू परेका छन् कि छैनन् भनेर तपाईँले विश्वविद्यालयलाई दिनुभएको जानकारीमा निर्भर गर्छ।”
“विद्यार्थीहरूको शैक्षिक रेकर्डहरूसम्म पनि यसरी पुगिएको थाहा हुन आएको छ,” उनले अगाडी भनेका छन्।
त्यसो भए चोरी नभएका डाटाहरूमा के पर्छन् त?
प्रोफेसर इश्मिडका अनुसार, यसरी चोरी हुनबाट जोगिएका तथ्याङ्कहरूमा क्रेडिट कार्डका विवरणहरू, भ्रमण बारे जानकारी, स्वास्थ्य रेकर्डहरू, प्रहरी रिपोर्टहरू, कर्मचारीहरूले काम गर्दा दुर्घटना बापत पाएको क्षतिपूर्ति बारेको जानकारीहरू, सवारी दर्ता नम्बरहरू र केही सीमित मात्रामा कार्यसम्पादन सम्बन्धी रेकर्डहरू छन्।
त्यसै गरी, खोज तथा अन्वेषण सम्बन्धीका कार्यपत्रहरू यस घटनाबाट जोगिएका छन्।
जोखिम नियन्त्रण भयो त?
विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार करिब दुई साता अगि उक्त गैरकानुनी घटना बारे जानकार भएपछि आफूहरूले सम्पूर्ण संयन्त्रहरूको राम्रो जाँच एवं नयाँ सुरक्षा विधि अपनाएर मात्र आज सबैलाई यस्तो भएको थियो है भनेर बताएको हो।
“हामीले आफ्नो आइटी सुरक्षा दुरुस्त पारिसकेका छौँ र भविष्यमा पुन: यस्तो नहोस् भन्नका लागि लगातार रूपमा आफ्नो नेटवर्क प्रणाली दुरुस्त गर्न लागि परेका छौँ,” प्रोफेसर इश्मिडले भनेका छन्।
“सूचना सुरक्षा सम्बन्धी हाम्रा प्रमुख अधिकृतले अब हाम्रो संयन्त्रहरूको सुरक्षा विधिबारे थप जानकारी दिनुहुनेछ, सबैजनाले उनले बताए अनुसार गर्न म आग्रह गर्दछु।”
उनले यस घटनालाई एकदमै गम्भीरतापूर्वक लिएको बताउँदै, डिजिटल सूचना सुरक्षामा अझ कडाइ गरिने पनि बताए।
तर, उक्त विश्वविद्यालयकी पूर्व छात्रा डा. भ्यालेरी केन भने आफूलाई अन्य विवरण भन्दा आफ्नो ट्याक्स फाइल नम्बर बारे चिन्ता लागेको बताउँछिन्।
“चोरी भएका अरू धेरै विवरण त सार्वजनिक रूपमा भेट्टाउन सकिन्छ, अब अन्य व्यक्तिगत विवरणसँगै ट्याक्स फाइल नम्बर पनि पाए उनीहरूसँग एकदमै धेरै र सूक्ष्म जानकारी हुने भयो,” उनले भनिन्।
चीन माथि शङ्का
साइबर सुरक्षाका एक जानकार टम उरेनका अनुसार यस घटनाको पछाडि कसको हात छ भनेर यकिनका साथ भन्न अहिल्यै नसके पनि चीन नै यसको मुख्य दोषी हुनुपर्ने बताउँछन्।
“उनीहरूले यस्ता डाटाहरूको चोरी पहिले पनि गरिसकेका हुनाले उनीहरू माथि औँला उठाउने धेरै ठाउँ छ।”
“चीनले यस्ता तथ्याङ्कहरू जम्मा गर्दै मानिसहरूको एक सजीव चित्र तयार गर्ने गरेको हामीले सुन्दै आइरहेका छौँ।”
“उसले यसलाई आफ्नो सुरक्षा र आफू विरुद्ध चालिने कुनै कदमको मुकाबला गर्न प्रयोग गर्छ, उनले एबिसीलाई बताए।
अस्ट्रेलियामा अध्यनरत् चिनिया छात्र-छात्राहरू बारे गुप्तचरी गर्न पनि उसले यस्ता कार्यहरू गर्दै आएको उरेनको बिचार छ।
“पारम्पारिक रूपमा हेर्ने हो भने विश्वविद्यालयहरू उग्रवादी विचारधारा जन्माउने थलो हो भन्ने चिनिया सोचाई छ र उसको निम्ति यो निकै चिन्ताको विषय हो,” उनले अगाडी भने।

तर, अस्ट्रेलियन सिग्नल्स निर्देशनालयका एक प्रवक्ताका अनुसार भने यो घटना र अन्य यस्तै “डाटा ब्रिच” सम्बन्धी घटानाहरुलाई जोडेर हेर्न नहुने बताउँछन्।
“यो घटनाले हामीलाई साइबर खतराहरू बारे झक्झकाउँदै दुष्टहरूले अपनाउने परिष्कृत तरिकाबारे सम्झाएको छ,” ती प्रवक्ताले भने।
