विश्व प्रसिद्ध जर्मन सवारीसाधन निर्माण समूह “दि भल्क्सवागन ग्रुप” र आउडीले आफूहरू विरुद्ध खेपिरहेको दुई छुट्टा-छुट्टै “क्लास एक्सन” मुद्दाहरूलाई किनारा लगाउने उद्देश्यका साथ आफ्ना प्रभावित अस्ट्रेलियाली ग्राहकहरूलाई कुल ८ करोड ७० लाख देखि १२ करोड ७१ लाख डलरसम्म रकम क्षतिपूर्ति बापत प्रदान गर्ने बताइएको छ।
आफूहरूले बिक्री वितरण गरेका भल्क्सवागन, आउडी र स्कोडा जस्ता करिब एक लाख मोटरगाडीहरुमा, तिनले गर्ने प्रदूषण बारे सही जानकारी प्रवाहित नहुने उपकरण जडान गरेको बारे मुद्दा खेपिरहेका ती कम्पनीहरूले अब आफूले बेचेका र त्यस्ता उपकरण जडान भएका प्रत्येक गाडीका धनीहरूलाई लगभग १,४०० डलर दिनुपर्नेछ।
आफ्ना ग्राहकहरूलाई झुक्काएको भन्दै ती कम्पनीहरू उपर मुद्दा दायर गर्ने ब्यानिस्टर ल र मारिस ब्लयाकबर्न बिच अदालत बाहिर भएको उक्त सम्झौताका धेरैजसो विवरणहरू हाल गोप्य नै राखिएको छ।
तर, अब ती कम्पनीहरूले उक्त काण्डमा आफ्नो दायित्व नरहने गरी मुद्दा दायर गर्नेहरूसँग सहमति गरेको ब्यानिस्टर लले जनाएको छ।
यस्तै, उक्त समझदारीलाई सिड्नी स्थित सङ्घीय अदालतले अनुमोदन गर्नुपर्नेछ।

अमेरिका र क्यानडामा पनि यसै प्रकारका मुद्दाका कारण करोडौँ डलर हर्जाना बापत तिरेको घटनाबाट प्रभावित हुँदै ब्यानिस्टर ल र मारिस ब्लयाकबर्न सन् २०१५ को नोभेम्बरमा अस्ट्रेलियामा पनि ती कम्पनीहरूको विरुद्ध मुद्दा दायर गरेका थिए।
त्यसपछि, उक्त मुद्दाको एक सुनवाईका क्रममा भल्क्सवागनले आफूहरूले कुनै जवाफ दिनुपर्ने कारण नै नरहेको भनेर अदालतलाई बताएको थियो।
मारिस ब्लयाकबर्नका प्रमुख वकिल जुलियन शिमेलका अनुसार यो सहमति अस्ट्रेलियाली उपभोक्ताहरूका लागि महत्त्वपूर्ण विजय हो।
“डिजेल उत्सर्जन घटनाका कारण थुप्रै अस्ट्रेलियाली सवारीधनीहरुले भोग्नुपरेको आर्थिक क्षतिलाई सम्बोधन गर्न यो सहमति एक कोसेढुंगा हो,” उनले भने।
उता, भल्क्सवागन समूहले पनि यसलाई “डिजेल काण्डबाट अब अगाडी बढ्ने पाइला” भनेको छ।
यसका साथै, भल्क्सवागन समूहले अस्ट्रेलियाली प्रतिस्पर्धा तथा उपभोक्ता आयोगद्वारा सुरु गरिएको एक छुट्टै मुद्दा पनि खेपी रहेको छ।

कसले पाउँछन् त क्षतिपुर्ती?
उक्त “क्लास एक्सन” मुद्दा दायर गर्ने वकिलहरुका अनुसार १८ सेप्टेम्बर २०१५ का दिन यस काण्डबाट प्रभावित भएका सबै सवारीसाधनका धनीहरुले क्षतीपुर्ती दाबी गर्न आफुलाई दर्ता गर्नसक्नेछन्।
प्रभावित गाडीका मोडलहरु:
भल्क्सवागन - टिउगन - २००८ देखि २०१६ सम्मका
भल्क्सवागन - पासाट सीसी - २००९ देखी २०१२ सम्मका
भल्क्सवागन - गल्फ - २००९ देखि २०१३ सम्मका
भल्क्सवागन - इयोस - २००९ देखि २०१४ सम्मका
भल्क्सवागन - पासाट - २००९ देखी २०१५ सम्मका
भल्क्सवागन - जेट्टा - २००९ देखी २०१६ सम्मका
भल्क्सवागन - पोलो - २०१० देखि २०१४ सम्मका
भल्क्सवागन - भल्क्सवागन सीसी - २०१२ देखी २०१६ सम्मका
थप प्रभावित गाडीहरु बारे बुझ्न परे यहाँ जानुहोस: http://bannisterlaw.com.au/volkswagen-and-audi-class-action-settlement-heads-of-agreement/
