SKIP TO MAIN CONTENT

बाढीग्रस्त क्षेत्रमा सवारी चलाएर दुई जनाको ज्यान गएपछि चालक माथि ज्यानमारा अभियोग

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

AUSTRALIA-WEATHER-FLOODS
Emergency services vehicles are seen by a flooded road following torrential rain in Sydney. (file) Source: AFP / SAEED KHAN/AFP via Getty Images

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा गत महिना युट भ्यानमा पछाडि बसेका दुई जना मानिस बाढीमा बगेपछि चालकलाई ज्यानमारा अभियोगमा मुद्दा चलाइने भएको छ।

प्रहरीका अनुसार ४१ बर्सिया एक व्यक्तिलाई गिलफोर्डबाट पक्राउ गरिएको छ।

उक्त व्यक्तिलाई खतरापूर्ण तरिकाले सवारी चलाएको पनि आरोप लागेको छ।

गत ३१ अक्टोबरका दिन गलबर्न नजिक प्रिस्टन क्रिक कसवेमा मिट्सुबिसी ट्रिटन गाडी पानीमा बगेको भन्ने सूचना पछि प्रहरी घटनास्थलमा पुगेको थियो।

“गाडीको अगाडी बसेका दुई मानिस सकुशल बाहिर निस्कन सफल भए पनि पछाडि रहेका ३० र ३२ वर्षका दुई जना भने बाढीमा बगेका थिए,” प्रहरीले बताएको छ।

“उनीहरूको शव कसवेको केही तल नोभेम्बरमा भेटिएको थियो।”

गत मङ्गलवार न्यु साउथ वेल्सको आपत्कालीन सेवाले बार्मेडम्यान स्थित विलियम क्रसिङ्ग रोडबाट एक व्यक्तिको शव बरामद गरेकाे छ।

उक्त व्यक्ति यस अघि हराइरहेका भनिएका ८९ बर्सिया वृद्ध रहेको बताइएको छ।

यता न्यु साउथकै टिल्पा क्षेत्रमा मौसम विभागले बाढीको चेतावनी जारी गरेपछि स्थानीयलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी भएको छ।

टिल्पामा रहेको डार्लिङ नदी १३.०६ मिटरसम्म माथि उठेको र हाल १३.०४ मिटरमा रहेको बताइएको छ।

विभागले बालारार्ल्ड स्थित मुरुमबिड्गीमा नदी डिसेम्बरको अन्त्यसम्मै बाढीको उच्च तहमा रहने चेतावनी दिएको छ।

यता साउथ अस्ट्रेलियाले पनि मर्रे नदी नजिकका न्यु साउथ वेल्स-भिक्टोरिया सीमा र वेलिङ्गटनमा अत्यावश्यक बाहेकका गतिविधिहरू बन्द गरेको जनाएको छ।

आगामी सात दिनमा केही स्थानमा नदीको बहाव पुन: उच्च हुने आङ्कलन गरिएको छ।

विभागले ट्रपिकल प्यासिफिक क्षेत्रमा ला निन्या रहेको भए पनि यो कमजोर बन्दै गएको बताएको छ।

“ला निन्याले सामान्यतया गर्मीको समयमा उत्तरी र पूर्वी अस्ट्रेलियामा औसत भन्दा बढी वर्षाको सम्भावना हुन्छ,” विभागको पछिल्लो अपडेटमा भनिएको छ।

यसको मतलब अस्ट्रेलिया आगामी महिनाहरूमा सुख्खा र तातो अवस्थामा फर्कन सक्छ।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now