क्वीन्सल्याण्ड का पुर्व सभासद फ्रेजर एन्निङ्ग माथि अण्डा प्रहार गरेर सामाजिक संजालमा "एग बोई" को नामले चिनिएका वील कोनोलीले उक्त घटना पछि आफ्नो लागि उठाइएका एक लाख डलरलाई गए मार्च महिनामा न्यूजिल्याण्डका मस्जिदहरुमा भएका आतंकबादी हमलाबाट पीडित भएकाहरुका लागि दान गरेको बताएका छन्।
क्राइस्टचर्च स्थित दुई मस्जिदहरुमा एक अस्ट्रेलियालीद्वारा गरिएको हमलामा कम्तिमा ५१ जनाको मृत्यु भएको थियो।
उक्त घटना भएको केही घण्टा नबित्दै तात्कालिन सभासद एन्निङ्गले उक्त हमलाको दोष न्युजिल्याण्ड भित्राइएका मुसलमानहरु माथिनै जाने बताएका थिए।
त्यसपछि एन्निङ्गद्वारा आयोजना गरिएको एक पत्रकार सम्मेलनको क्रममा वील कोनोलीले उनीमाथि अण्डा प्रहार गरेका थिए।
उक्त घटना पछि "एग बोई" को कानूनी खर्च बेहोर्न भन्दै इन्टरनेटमा चन्दा संकलन सुरु गरिएको थियो। “गोफन्डमी” पेजहरूबाट कुल ९९,९२२.३६ डलर उठेको थियो।

गए राति आफ्नो इन्स्टाग्राम पेज मार्फत कोनोलीले उक्त रकम क्राइसचर्च घटनाबाट पीडित भएकाहरूलाई दान दिएको बताएका थिए।
“तपाईँहरू मध्ये धेरैलाई जानकारी नहुन पनि सक्छ, मेरो कानुनी शुल्क र अझै धेरै अण्डा किन्न सकोस् भन्ने सोचका साथ मेरा निम्ति दुई “गोफन्डमी” खाताहरू खोलिएका थिए,” उनले लेखेका छन्।
साथै, उनको कार्य जनहितका लागि भएको भन्दै कानुनी शुल्क मिनाहा गरिदिएकोमा आफ्ना कानुनी सल्लाहकार पिटर गर्डन एवं गर्डन ल फर्म प्रति कृतज्ञता ज्ञापन गर्दै अगाडी लेखेका छन्,
“मैले उठेका सम्पूर्ण पैसा नरसंहारका पीडित व्यक्तिहरूलाई केही राहत होस् भनेर दान दिने निर्णय गरेको छु, त्यो मलाई आफैँसँग राख्न होइन।”
गत मार्च महिनाको एक शनिवार मेलबर्नमा आयोजना भएको एउटा राजनैतिक कार्यक्रम पछि एन्निङ्गले पत्रकारहरूसँग कुराकानी गरिरहँदा १७ वर्षीय कोनोलीले उनी माथि अण्डा प्रहार गरेका थिए।
कोनोलीका अनुसार एन्निङ्गद्वारा क्राइसचर्च आतङ्ककारी घटना मुसलमान आप्रवासीहरूका कारण भएको भन्ने विवादास्पद अभिव्यक्तिका कारण आफूलाई रिस उठेर उक्त अण्डा प्रहार गरेको बताएका थिए।
त्यसपछि एन्निङ्गले कोनोलीलाई झापड हान्नुका साथै उनका समर्थकहरूले ती किशोरलाई जमिनमा लडाएर हातपात गरेको एक भिडियो पनि सार्वजनिक भएको थियो।
उक्त दोस्रो भिडियो सार्वजनिक भएपछि एन्निङ्गको सर्वत्र निन्दा भएको थियो।
