

Published
ल्होसार नेपाल लगायत भारत, भुटान र तिब्बतका बौद्ध समुदायले नयाँ वर्षको रूपमा मनाउने चाड हो।
गुरुङ, तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदछन् भने राई समुदायले यले दोङ्ग, र थारु समुदायले माघी पर्व मनाउँछन्।
लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।
नेपालको करिब ३ करोड कूल जनसङ्ख्या ९% ले बौद्ध धर्म मान्ने गरेका छन्।
सन् २०२२ को अस्ट्रेलियाली जनगणनाले अनुसार कूल १३३,००० भन्दा बढी नेपाली-भाषी जनसङ्ख्यामा करिब ११,००० जना बौद्ध धर्मसँग पहिचान गर्दछन्।
नयाँ वर्षको सुरुवात गर्ने ल्होसारमा, हरेक वर्षलाई एक जनावरले प्रतिनिधित्व गर्दछ।
हरेक समुदायका लागि ल्होसारको फरक नाम रहेको छ, र यसलाई फरक मितिमा मनाइन्छ।
तमु ल्होसार या ल्होसारले गुरुङ समुदायमा नयाँ वर्षको सुरुवात गर्दछ।
यस वर्षको नेपाली पात्रो अनुसार तमु ल्होसार पुष १५ गते, अर्थात् सन् २०२२ को ३० डिसेम्बरमा परेको थियो।
"गुरुङहरूले यसलाई वर्ग परिवर्तनको रूपमा लिन्छन्, वर्ष परिवर्तन होइन। र हरेक वर्गको आफ्नै एउटा जनावर हुन्छ," सामुदायिक प्रतिनिधि डा. मोहन गुरुङले बताए।
"पुष १५ देखि बिरालो बर्ग सुरु भयो।"

गुरुङ पात्रो अनुसार १२ वटा जनावरहरू मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग रहेको उनले बताए।
तमु ल्होसार शुभकामना आदानप्रदान, पारिवारिक जमघट, सामुदायिक भोज, खेलकुद, धार्मिक कार्यक्रम र ठुलाबडाबाट आशीर्वाद लिने दिन हो।
"त्यस्तै, लामा अर्थात् गुरुङ पुरेतहरूले वर्ग चलेको मान्छेहरूको ग्रह काट्ने भन्ने हुन्छ," उनले एसबीएस नेपालीलाई भने।
"जस्तै, यो वर्ष बाघ वर्ग भयो, आउने वर्ष बिरालो वर्ग भयो। बिरालो वर्षमा जन्मिएको जो-जो मान्छेहरू हो उनीहरूको ग्रह दशा काट्न र वर्ष शुभ होस् भनेर पूजापाठ गर्ने हुन्छ।"
उनी भन्छन् कि अस्ट्रेलियामा ल्होसार मनाउनु भनेको व्यापक समुदायमा आफ्नो संस्कृति प्रस्तुत र आदानप्रदान गर्ने अवसर हो।
तामाङ समुदायले नयाँ वर्षलाई सोनाम ल्होसारको रूपमा स्वागत गर्दछन्।
यस वर्ष बाघ वर्गलाई बिदा गर्दै बिरालो वर्गको आगमन माघ ८ गते अर्थात् २२ ज्यानुअरीमा हुँदै छ।
सुन्दोर्जे तामाङ तामाङ सोसाइटी अफ सिड्नी एनएसडब्लुका अध्यक्ष हुन्।
सोनाम ल्होसार भनेको आफ्ना परिवार र इष्ट मित्रसँगै नयाँ वर्षलाई स्वागत गर्ने दिन रहेको उनले बताए।
"पूजाआजा गरिन्छ, ठुलाबडाबाट आशीर्वाद लिइन्छ, नयाँ वर्षको रमाइलो गरिन्छ," उनले भने।
"आफ्नो संस्कृति हाम्रो भावी पुस्तालाई सिकाउने पनि हाम्रो कर्तव्य हो।"

मनिश तामाङ तामाङ सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष हुन्।
उनी भन्छन् कि नेपालमा ल्होसारको समयमा केही हप्तासम्म गुम्बाहरूमा धार्मिक कार्यक्रमहरू लगातार हुन्छन्।
तर अस्ट्रेलियामा यो सम्भव नभएको हुनाले, सबैको व्यस्त जीवनशैलीलाई उचित हुने एक मितिमा सामुदायिक ल्होसार कार्यक्रम आयोजना हुने गरेको छ।
"ल्होसारको कार्यक्रम एउटा पूजाबाट सुरु हुन्छ, जहाँ लामा गुरुले ल्होसार बारे भन्नुहुन्छ, अनि आफ्नो आशीर्वाद अनि अर्ती उपदेश दिनु हुन्छ," मनिश तामाङले एसबीएस नेपालीलाई बताए।
"हामी हाम्रो परम्परागत पोशाक लगाउँछौँ, र परम्परागत बाजा डम्फु प्रयोग गरेर नृत्य गर्छौँ।"
अस्ट्रेलियाको बहु सांस्कृतिकताले यी परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्न ठूलो भूमिका खेलेको उनी बताउँछन् ।
"आफ्नो कला संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्ने कुरा हामी निकै भाग्यशाली महसुस गर्छौँ, किनभने अस्ट्रेलियाले हाम्रो संस्कृति यहाँ ल्याउन र मनाउन प्रोत्साहन गर्छ,"उनले बताए।
शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार यस साल फाल्गुन ९ गते अर्थात् फेब्रुअरी २१ मा परेको छ।
तमु र सोनाम ल्होसारभन्दा अलि फरक, ग्याल्पो ल्होसारले बाघको वर्षलाई पछाडि छोड्दै, खरायोको वर्षमा प्रवेश गर्दै छ।
शेर्पा समुदायले प्रयोग गर्ने पात्रोमा रहेका १२ वटा जीवजन्तुहरू चिनिया राशिफलसँग मिल्दोजुल्दो छन् - मुसा, गोरु, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, बाख्रा, बाँदर, भाले, कुकुर र सुँगुर।

मिङ्ग्मार शेर्पा भिक्टोरियाको शेर्पा समुदायका प्रतिनिधि हुन्।
उनी भन्छन् कि ग्याल्पो ल्होसारमा लामा [बौद्ध पुजारी]ले महत्त्वपूर्ण भूमिका खेल्दछन्।
"यता अस्ट्रेलियामा हामीले एउटा कार्यक्रम हल बुक गर्छौँ, अनि रातो, निलो, पहेँलो, हरियो र सेतो रङ्गका झन्डाहरूले सजाउँछौँ। अनि त्यसपछि लामाले आएर पूजाहरू गर्नुहुन्छ," उनले एसबीएस नेपालीलाई बताए।
"हामीले लामालाई फलफूल, खाप्से, चकलेट, जस्तो खानेकुराहरू दिन्छौँ, अनि उहाँले त्यसमा पूजा गर्नुहुन्छ। अनि हामीले सबैले त्यो खानेकुराको अलिअलि लिएर खान्छौँ।"

पूजापाठ पछि परम्परागत नृत्य, शुभकामना आदानप्रदान र भोजन हुने उनले बताए।
यससँगै शेर्पा भन्छन् कि अस्ट्रेलियामा ल्होसार मनाउनु भनेको भावी पुस्तालाई आफ्नो संस्कृति र परम्पराको बारेमा सिकाउने प्रयास पनि हो।
राई समुदायको नयाँ वर्षलाई यले दोङ्ग भनिन्छ।
वैशाख महिनाको पूर्णिमामा पर्ने गरेको यो दिन यस वर्ष वैशाख २२ गते अर्थात् मे महिनाको ५ तारिखमा परेको छ।
सोही दिन बुद्ध जयन्ती पनि पर्ने गरेको छ।
उभौली पनि भनेर चिनिने यले दोङ्गले नेपालमा गर्मी महिनाको सुरुवात र बाली काट्ने समय भएको तोक्दछ।
"हामीले त्यो दिनमा भूमि पूजा गर्छौँ, अनि भगवान्, हावा, पानी, आकाश - प्रकृतिको पूजा गर्छौँ," भिक्टोरियाका बासिन्दा भरन्शेर राईले बताए।
"नयाँ बालीलाई कुनै प्राकृतिक प्रकोपले असर नगरोस् भनेर हाम्रा पुर्खाहरूले यसरी पूजा गर्दै आएका छन्।"

यससँगै राई समुदायले आफ्ना पुर्खाहरूलाई सम्झने र खानेकुरा चढाउने दिनको रूपमा उधौली पर्व पनि मनाउँदै आएका छन्।
उधौली पर्व यले दोङ्गभन्दा करिब पाँच महिना पहिलेको पूर्णिमामा पर्दछ र यस वर्ष मंसिर २२ गते अर्थात् सन् २०२२ डिसेम्बर ८ मा परेको थियो।
उभौलीले बाली काट्ने समयलाई जनाउँछ भने उधौलीले बाली पाकेको समयलाई जनाउँछ।
"अस्ट्रेलियामा खेतीपाती नगर्ने हुनाले हामीले सबै भेला भएर रमाइलो गर्छौँ - साकेला नाच गर्छौँ," राईले एसबीएस नेपालीलाई बताए।
"हामीले युवा पुस्ता परम्पराको बारेमा सिकाउने सक्दो प्रयास गर्दै आएका छौँ - यसलाई कसरी अगाडी बढाउने भन्ने कुरा उनीहरूमा निर्भर छ।"

थारु समुदायको नयाँ वर्षलाई माघी पर्वको रूपमा लिइन्छ। यो लुनार नयाँ वर्ष भने होइन।
हरेक वर्ष माघ १ गते मनाइने यस पर्व यसपालि ज्यानुअरी १५ मा परेको छ।
नेपालको मध्य जाडो याममा पर्ने यस दिनले जाडो सकिँदै गरेको र वसन्त ऋतुको आगमन हुन लागेको जनाउँछ।

अरुण कुमार चौधरी थारु सोसाइटी सिड्नी अफ अस्ट्रेलियाका पब्लिक अफिसर हुन्।
यस दिनलाई माघे सङ्क्रान्ति, तिला सङ्क्रान्ति र मकर सङ्क्रान्तिको नामले पनि चिनिने उनी बताउँछन्।
"नेपालमा जस्तो पूजा गर्ने सबै सामान यहाँ अस्ट्रेलियामा भने हुँदैन," उनले एसबीएस नेपालीलाई बताए।
"हामी यहाँ पूजा गरेर, ठुलाबडाको आशीर्वाद लिएर र मुरी [मकैबाट बनेको लड्डु], माछा, मासु जस्ता विभिन्न परिकारहरू पकाएर मनाउँछौँ।"
नेपालमा जाडो याममा पर्ने भएकोले शरीर तताउने खानेकुराहरू खाने चलन छ, जसमा घ्यु-चाकु, तरुल, सखरखण्ड र पिँडालु पनि पर्दछन्।
यी सबै सामग्रीहरू अस्ट्रेलियाका नेपाली खाद्य पसलहरूमा पनि उपलब्ध हुने गरेका छन्।
यस वर्ष माघीको कार्यक्रम ज्यानुअरी १५ आइतबारको दिन परेको हुनाले धेरै मानिसहरूको सहभागिता हुने अपेक्षा रहेको चौधरीले बताए।