SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको उत्तर पश्चिम तटीय क्षेत्रमा अझै भूकम्पका धक्काहरू

रेक्टर स्केलमा ६.६ मापन गरिएको भुकम्प आइतबार गएपछि, अस्ट्रेलियाको उत्तर पश्चिम तटीय क्षेत्रहरुमा थप धक्काहरू महसुस गरिएको छ।

Seismograph and Earthquake - 3D Rendering
Source: iStockphoto

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

अस्ट्रेलियाको उत्तरी सहर डार्विनदेखि पश्चिमी सहर पर्थसम्मै धक्का महसुस गरिएको आइतबारको भूकम्प पछि आज थप कम्पन तथा पराकम्पनहरू गएको छ।

अधिकारीहरूका अनुसार डार्विन देखि पर्थसम्म बस्ने १,००० भन्दा बढी मानिसहरूले आफूहरू उक्त भूकम्पका कारण प्रभावित भएको बताएका छन्।

पश्चिम अस्ट्रेलियाको पोर्ट हेडल्याण्ड र ब्रूम सहर बिच पर्ने तटीय क्षेत्र वरिपरिका समुन्द्र मुनि रेक्टर स्केलमा ५.१ र ५.५ मापन गरिएका कम्पनहरू सोमबार बिहान गएको जनाइएको हो।

क्षति

चक्रवातलाई झेल्न सकिने बनावटका भवनहरू निर्माण भएकाले भित्ताहरू चर्किनु बाहेक खासै ठुलो क्षति नभएको पनि बताइएको छ।

केही सुपरमार्केटका तखताबाट सामानहरू भुइँमा खसेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

मर्सिडिज कोभ बस्ने डेभिड च्यन्निङ्गका अनुसार उनले २० वर्ष यता यस्तो कहिल्यै अनुभव गरेका थिएनन्।

“तीन चोटि गरेर भुईँचालो आएपछी डर त लाग्ने भई हाल्यो, घर पनि कर्यांग-कुरुंग गरेर कराएर झन् के- हो, के-हो जस्तो भयो।”

उता, पश्चिमी अस्ट्रेलियाका आपत्कालीन सेवाहरू सम्बन्धी मन्त्री फ्रान लोगन भने यस्ता भूकम्पका कारण भविष्यमा हुनसक्ने थप जोखिम बारे बेलैमा सचेत हुनु जरुरी रहेको बताउँछन्।

“मानिसहरूलाई पश्चिमी अस्ट्रेलिया भूकम्प गइराख्ने ठाउँ हो भनेर धेरै ज्ञान छैन,” उनले भने।

सन् २०१० मा कालगुर्लीमा गएको जम्मा ५ रेक्टर स्केलको भूकम्पले करोडौँ डलरको नोक्सानी गरेको स्मरण गर्दै लोगनले भने, “ब्रुम भने यसपालि जोगियो।”

उनले पश्चिमी अस्ट्रेलियाका बासिन्दाहरूलाई इमर्जेन्सी डब्लुएको वेबसाइट गएर भूकम्प र त्यसका प्रभावबारे थप जानकारी लिन आग्रह गरेका छन्।

लामो समयसम्म थप कम्पन र परा कम्पन

जानकारहरूका अनुसार यसरी पराकम्पनहरु लामो समयसम्म जान सक्नेछ।

जियोसाइन्स अस्ट्रेलियाका भू वैज्ञानिक स्पीरो स्पिलोपाउलोसका अनुसार, विगत २४ घण्टामा ३० भन्दा बढी कम्पन तथा पराकम्पनहरु गइसकेको छ।

सन् १९८८मा अस्ट्रेलियाको उत्तरी राज्य - नदर्न टेरोटेरीको टेनेण्ट क्रीकमा गएको ६.६ म्याग्नीट्युड बराबर नै आइतबारको उक्त भूकम्प मापन गरिएको बताउँदै स्पिलोपाउलोसले अगाडी भने, “टेनेण्ट क्रीकमा ३ वर्षसम्म पराकम्पनहरु गएको थियो।”

उनका अनुसार पुन ठुलो धक्का जान सक्ने मौका एकदमै कम रहेको छ।

सन् १९०१ देखि भूकम्प बारे अस्ट्रेलियामा रेकर्ड राख्न सुरु गरिए यता अहिलेसम्म ६ म्यग्नीट्युड र सो भन्दा बढी मापन गरिएको भूकम्पहरू १५ वटा जति मात्र गएको तथ्याङ्क छ।

अस्ट्रेलियामा लगभग आठ-आठ वर्षको अन्तरालमा यस्ता “ठुलै” भूकम्प जाने गरेको पनि स्पिलोपाउलोस बताउँछन्।

साथै, उनका अनुसार अस्ट्रेलियाको पश्चिमी र उत्तरी भेगमा नै ठुला भूकम्पहरू जाने गरेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now