एनएबी वा न्याब भनेर पनि परिचित उक्त बैंकले आफुले नदिएको सेवा बापत तथा आफ्नो अभिलेखमा मृत भनेर घोषित भईसकेका ग्राहकहरुबाट बैंकिङ्ग दस्तुरका रुपमा शुल्कहरु उठाउने गरेको कुरा बैंकिङ्ग शाही आयोगको सुनवाईको क्रममा बाहिर आएको हो।
न्याबले आफ्ना ४,००० भन्दा बढी मृत ग्राहकहरुलाई उसको सुपरएन्नुएसन अवथा संचयकोष सेवा बारे परामर्श दिएको भन्दै करिब ३० लाख अस्ट्रेलियन डलर शुल्क आफुले उठाएको कबुल गरेको छ।
"सन् २०१० देखि नै आफ्नो जानकारीमा आएतापनि न्याब तथा उसका भगिनी संस्थाहरुद्वारा यस किसिमका लापर्वाहीहरुबारे कुनै गाम्भीर्यता प्रकट गरिएको देखिदैन। एसिक यसबाट निकै चिन्तित छ।"
आफ्ना मृत ग्राहकहरुबाट सेवा शुल्क उठाउने न्याब पहिलो बित्तिय संस्था भने होइन। यस अघि, अस्ट्रेलियाकै सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित कमनवेल्थ बैंकले पनि आफ्ना मृत ग्राहकहरुबाट उनीहरुको मृत्यु पश्चात् पनि सेवा शुल्क उठाएको कुरा स्वीकार गरेको थियो।
अस्ट्रेलियामा बित्तिय क्षेत्रको नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटिज एंड इन्भेस्टमेन्ट कमिसन (एसिक)ले सेवा प्रदान नै नगरिकन शुल्क उठाएको आशंका गर्दै छानबिन सुरु गरेपछि न्याबले आफ्नो गल्ती स्वीकारेको थियो। अहिले यो मुद्दा पुन: सङ्घीय सरकारद्वारा स्थापित शाही बैंकिङ्ग आयोगको छानबिन तथा सुनवाईको क्रममा बाहिर आएको हो।
न्याबको संचयकोष सम्बन्धि कार्यहरु हेर्ने भगिनी संस्था "नूलिस"की पुर्व अध्यक्ष निकोल स्मिथले बैंकिङ्ग शाही आयोगमा आफ्नो बयानको क्रममा नूलिसले आफ्नो एक ग्राहकको मृत्यु भएको थाहा पाए पनि उनको खाताबाट शुल्क लिने काम भएको बताएकी छिन्।

शाही आयोगका आयुक्त केनेथ हायेन र नूलिसकी पुर्व अध्यक्ष निकोल स्मिथको बार्ताको एक अंशले अस्ट्रेलियनहरु आफ्ना बैंकहरुसित कत्तिको निराश छन् भन्ने कुरा दर्शाएको छ।
हायेन: के तपाईंलाई हकदावी गर्नै नमिल्ने रकम लिनु गैरकानुनी जस्तो लागेन?
स्मिथ: अँ, लागेन।
गत मे महिनामा कमनवेल्थ बैंकले पनि आफ्ना मृत ग्राहकहरुको खाताबाट उनीहरुको मृत्यु पश्चात् पनि आफुले सेवा दिईरहेको भन्दै शुल्कका रुपमा रकम निकालेको कुरा बाहिर आएको थियो। त्यसबेला उजागर भएको एक तथ्य अनुसार उक्त बैंकले ११ बर्ष अघि नै मरिसकेका आफ्ना एक ग्राहकले आफुसंग परामर्श अझै जारी राखेको भन्दै शुल्क उठाएको कुरा बाहिर आएको थियो।
एप्रिल महिना भएको एक अर्को सुनवाईको क्रममा भने कमनवेल्थ बैंकद्वारा नियन्त्रित काउन्ट फाइनान्सियल नामक कम्पनीले आफ्ना मृत ग्राहकहरुबाट शुल्क उठाईरहेको खुल्न आएको थियो।
बैंकिङ्ग शाही आयोगको सुनवाईको क्रममा एक पछि अर्को गर्दै यस्ता काण्डहरुको पर्दाफास भएपछि अस्ट्रेलियाका दुई ठुला आर्थिक संस्थाहरुको नाफामा भारी गिरावट आएको छ।
कमनवेल्थ बैंकको नाफामा ४ प्रतिशतको गिरावट आएको छ भने एएमपी नामक धन व्यवस्थापन गर्ने संस्थाले आधा बर्षमै करिब ७४ प्रतिशत वा लगभग ३० करोड डलर भन्दा बढी नाफा गुमाएको छ।
शाही आयोगमा पेश गरिएको एक दस्तावेज अनुसार, न्याबले शुल्क उठाउने आफ्नो कार्यशैलीमा कुनै ठोस् परिवर्तन नगरेको बारे पनि एसिक चिन्तित रहेको थियो। अक्टोबर २०१७मा न्याबसँग गरिन लागेको एक बैठकका निम्ति तयार गरिएको उक्त दस्तावेजमा भनिएको छ, "सन् २०१० देखि नै आफ्नो जानकारीमा आएतापनि न्याब तथा उसका भगिनी संस्थाहरुद्वारा यस किसिमका लापर्वाहीहरुबारे कुनै गाम्भीर्यता प्रकट गरिएको देखिदैन। एसिक यसबाट निकै चिन्तित छ।"
अस्ट्रेलियामा बित्तिय क्षेत्रको नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटिज एंड इन्भेस्टमेन्ट कमिसन (एसिक)ले सेवा प्रदान नै नगरिकन शुल्क उठाएको आशंका गर्दै छानबिन सुरु गरेपछि न्याबले आफ्नो गल्ती स्वीकारेको थियो।
न्याब फाइनान्सियल प्लानिङ्ग भनिने न्याबको अर्को भगिनी संस्थाको अभिलेखहरु केलाउँदा एसिकले सन् २००९ मै पनि एक ग्राहकको छोराले बिगत १५ बर्षदेखि कुनै पनि सेवा नै प्रदान नगरिकन शुल्क उठाएको कुराको गुनासो पोखेको भेटेको थियो।
हिजो बुधबार भएको सुनुवाइको क्रममा भने नियमक एसिक तथा बैंक बीच आउँदा दिनहरुमा पालना गर्नुपर्ने आचरण तथा विगतमा भएका गल्तीहरुलाई कसरी सुधार्ने भन्नेबारे वार्ताहरु भईरहेको जानकारी दिइएको थियो।
नूलिसले १० करोड डलर भन्दा बढी रकम क्षतिपूर्ति बापत आफुले गलत रुपमा शुल्क लिएका ग्राहकहरुलाई बाँड्दै छ। साथै उसले अबदेखि साधारण परामर्श बापत कुनै शुल्क नलिने पनि बताएको छ।
नूलिसकी पुर्व अध्यक्ष निकोल स्मिथको अनुसार त्यसरी उठाइएको शुल्क परामर्श दिने आर्थिक सल्लाहकारहरुलाई निश्चित अवधिसम्म दिइन्थ्यो।

आयुक्त हेयनका अनुसार यी मुद्दाहरुले आपराधिक वा नागरिक कानून कुन तोडेका हुन् भनेर हेर्नुपर्ने टिप्पणी गरेका छन्।
