पोर्चुगल, महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले फेरी पनि आफ्नो जादुगरी मैदानमा देखाउलान् भनेर आस गरिरहेको अवस्था एकातर्फ छ भने स्पेन सन् २०१४को विश्वकपमा समुह चरणबाटै बाहिरिएर गुमेको आफ्नो साख फिर्ता पाउन लालायित छ।
यस समूहका बाँकी दुई टीमहरु - मोरोक्को र इरान, युरोपका ती दुई दिग्गज फुटबल राष्ट्रहरुको अगाडी राम्रो खेल प्रदर्शन गर्दै उनीहरुको विश्वकप जित्ने अभियान असफल तुल्याउने क्षमता राख्छन् ।
पोर्चुगल

हुनलाई त पोर्चुगल हालको युरो कप बिजेता हो, तर ऊ यस विश्वकपमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहँदा उसको क्षमता माथि प्रश्न उठाउने मानिसहरुको कुनै कमी छैन।
उमेर ढल्कदै गएका खेलाडीहरु र राम्रो फर्ममा नरहेका खेलाडीहरु यस टीमका लागि चिन्ताका विषयहरु हुन्। यद्यपि, उनीहरूको स्टार प्लेयर क्रिस्टियानो रोनाल्डोले एक्लैले म्याचको परिणाम आफ्नो पक्षमा पार्ने क्षमता राख्दछन् र उनी आफ्नो टीमलाई जिताउन कुनै कसर बाँकी राख्ने छैनन्।
नेभिगेटर्स भनेर पनि चिनिने यस टोलीसंग विलियम कार्भेलो, जोआओ माउतिन्हो र बर्नादो सिल्भा जस्ता नामी हस्तीहरुको पनि कुनै कमी छैन, जसको मद्दतले उसको रक्षा पंक्ति सशक्त देखिन्छ र उसलाई यस प्रतियोगितामा अगाडी बढ्न केही सजिलो हुनेछ।
प्रशिक्षक फर्नान्डो सान्तोसलाई यूरोपका विभिन्न लिगहरुबाट आ-आफ्नो व्यवसायिक फुटबल खेल्ने खेलाडीहरुलाई जम्मा पारेर विश्वकपका निम्ति तयार पार्न पनि ठुलो चुनौती रहेको थियो। तर पनि उनी उत्साहित देखिन्छन् र भन्छन्
"मलाई पोर्चुगलको यस टोलीबाट त्यस्तै आस छ जस्तो सन् २०१६को युरो कपमा भाग लिन जाँदा थियो। सन् २०१६मा हामीले पहिलो पटक युरोपियन बिजेताको उपाधि पायौँ। म चाहन्छु, हामी फेरी पनि उपाधि जितौं - विश्वकप जितौं।"
स्पेन

स्पेन, पोर्चुगलको निम्ति सबैभन्दा ठुलो तगारो भएर उपस्थित भएको छ।
सन् २०१०मा विश्व बिजेता बन्न सफल स्पेन, सन् २०१४को विश्वकपमा दुई हारका साथ अस्ट्रेलियासंगै समूह चरणबाटै बाहिरियो। तर पछिल्लो समयसम्म आइपुग्दा स्पेनले आफ्नो गुमाएको साख फिर्ता पाउन बडो मिहिनत गरिरेहेको छ।
उसले विश्वकपका छनौट खेलहरुमा राम्रो प्रदर्शन गर्दै कुल ३६ गोल गर्न सफल मात्र भएन, इटाली जस्तो आफ्नो निकट्तम प्रतिद्वन्दीलाई समेत एक खेलमा ३-०ले हराउन सफल रह्यो।
स्पेनका प्रशिक्षक जुलें लोपेतेगुइले* युवा तथा बरिष्ठ खेलाडीहरुको समायोजन गरेर निक्कै बलियो टोली बनाएका छन्।
उनी भन्छन् " मेरो टोलीमा यस्ता धेरै खेलाडीहरु छन्, जो बाल अवस्था देखि नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिंदै आइरहेका छन् र मेरा निम्ति यो महत्वपुर्ण छ। उनीहरुले धेरै देशका उत्कृष्ठ खेलाडीहरुसंग भिड्दै आफ्नो अनुभव बटुल्ने मौका पाएका छन्।"
यसपालीको स्पेनाली टोलीमा ला-लिगामा राम्रो प्रदर्शन गरेर माहिर मानिएका र मिड-फिल्डबाट खेल्ने अन्द्रेआस इनिएस्ता एवं कप्तान सर्जियो रामोस् जस्ता खेलाडीहरुको बाहुल्यता रहेको छ।
इङ्ग्लिश प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर सिटीबाट खेल्ने गरेका डेभिड सिल्भा र म्यानचेस्टर युनाईटेडका गोल रक्षक डेभिड दे-गयाले पनि स्पेनलाई कागजी रुपमा बलियो टिम बनाउन भूमिका खेलेका छन्।
लोपेतेगुइ अगाडी भन्छन, "अरु टोलीबारे त म केही भन्न सक्दिन, तर, भिडियो सहायक रेफ्र्री प्रविधिले स्पेनेली टोलीलाई भने प्रभाव अवस्य पार्ने छ। हामीले अहिलेसम्म यसको अनुभव गरेका नै छैनौँ। हामीलाई खाली के थाहा छ भने, हामी हर परिस्थितिको लागि तं-तयार भएर बस्नुपर्छ। यो एकदमै नयाँ नियम हो। खेल रोकेर, फेरी खेलको गतिमा फर्कंदा हाम्रो लयमा त्यसले कस्तो प्रभाव पर्छ, यो बुझ्नु हाम्रो निम्ति निक्कै जरुरी छ।
यिनै कारणहरुले गर्दा, स्पेन तथा पोर्चुगलको खेल शनिबार, १६ जुन, बिहान ४ बजे हेर्नैपर्ने म्याचहरु मध्य एक हो।
*लोपेतेगुइलाई स्पेनको फुटबल प्रशासन सम्बन्धी मामिलाहरू हेर्ने कार्यालय - शाही स्पेनेली फुटबल सङ्घले आफुलाई लोपेतेगुइले अँधेरोमा राखेको भनेर बर्खास्त गरिदिएको छ। उक्त सङ्घले, लोपेतेगुइ रियाल म्याड्रिडको प्रशिक्षक बन्ने भन्ने कुरा आफुहरुलाई निकै ढिलो गरि खबर दिएको भन्ने आरोप उनीमाथि लागाएको छ। साथै, अब फर्नान्डो हीएरो विश्वकप अवधिभरका लागि उक्त पदमा नियुक्त भएको पनि शाही स्पेनेली फुटबल सङ्घले जनाएको छ।
हीएरो स्पेनेली फुटबलको खेलकुद निर्देशकका रुपमा गत नोभेम्बरदेखि कार्यरत छन्।
एसबीएसले यसको प्रत्यक्ष प्रसारण गर्ने छ।
मोरोक्को

२० बर्षपछि मोरोक्को एक पटक फेरी विश्वकपमा आफ्नो उपस्थिति जनाउंदै छ। छनौट प्रतियोगितामा अफ्रिकन देशहरुमध्ये राम्रो प्रदर्शन गरेको मोरोक्कोले युरोपका विभिन्न लिगहरुबाट खेल्ने आफ्ना खेलाडीहरु माथि धेरै आस राखेको छ।
एट्लास लायन्स भनेर पनि चिनिने मोरोक्कोसंग फ्रान्सेली प्रशिक्षक हर्भे रेनारको चाखलाग्दो खेल योजनाका साथै कासाब्लान्कामा जन्मेका र हाल टर्कीको फेनेर्बचे टीमबाट खेल्ने नबिल दिरारको भूमिका अहम हुनेछ।
मोनाकोबाट खेल्दै दिरारले उक्त टोलीलाई फ्रान्सेली लिगको विजेता बनाउन आफ्नो बहुमुखी प्रतिभाको भरपुर उपयोग गरेका थिए।
इरान

सन् १९९८को विश्वकप लागि मेलबर्नमा खेलिएको एक छनौट खेलमा अस्ट्रेलियालाई हराउन सफल इरानले, यस पटकको छनौट चरणका खेलहरुमा राम्रो प्रदर्शन गर्दै विश्वकप प्रवेश पाएको हो। इरान १८ छनौट खेलहरुमा अपराजित रह्यो भने ९ खेलहरुमा कुनै गोल नै खाएन।
प्रशिक्षक कार्लोस कियेरोज भन्छन् , "मेरो यो टोली, रुस घुम्न भनेर जान लागेको होइन।"
२२ बर्षीय फरवार्ड खेलाडी सर्दार अज्मौनले आफ्नो छोटो अन्तर्राष्ट्रिय करियरमा २२ गोल गरिसकेका छन् र इरानले यिनीबाट धेरै आस राखेको छ।
