शरणार्थी एवं वित्तीय कानूनलाई केन्द्रबिन्दु बनाउँदै सन् २०१९ को पहिलो संसद् अधिवेशन आजबाट राजधानी क्यानबेरामा सुरु हुँदैछ।
आगामी अप्रिल महिनामा हुने अपेक्षा गरिएको सङ्घीय चुनाव अगावै प्रधानमन्त्री स्कट मरिसन शरण चाहने मानिसहरूलाई यदि चिकित्सिय रूपले आवश्यक ठानिए स्थानान्तरण गरिने आफ्नो नीतिमा विपक्षी लेबर पार्टीलाई सहमत हुन दबाब दिंदैछन्।
उता लेबर भने, मूल अस्ट्रेलियन भूमि भन्दा बाहिर हिरासतमा राखिएका शरण चाहने मानिसहरूलाई आवश्यक देखिएको खण्डमा सजिलोसँग अस्ट्रेलियामा उपचार गराउन आउन पाउने आफ्नो नीतिमा स-साना दलहरू तथा स्वतन्त्र सांसदहरूलाई मनाउन तल्लीन देखिन्छ।

ककस भनिने लेबर पार्टीको केन्द्रीय समितिले उक्त दलका नेता बिल शर्टनको शरण चाहने मानिसहरूलाई प्रदान गरिने औषधोपचार सुविधा गरिने नयाँ नीतिलाई हिजो राती पारित गरेको थियो।
त्यसभन्दा अघि शर्टनले त्यस्ता व्यक्तिहरूलाई अस्ट्रेलिया भित्र्याइन्दा हुनसक्न्ने सुरक्षा माथिको सम्भावित खतरा माथि जानकारी लिएका थिए।
सरकारले अस्ट्रेलियन सीमा सुरक्षा नीतिमा कुनै बदलाब नगर्ने र त्यसमा आफू अडिग रहेको कुरा लेबरलाई बताएको छ। तर, संसद्को तल्लो सदनमा उसलाई कुनै पनि कानुन पारित गर्न अरूको सहयोग जरुरी छ।

बैङ्कहरूले आफ्ना ग्राहकहरूलाई प्रदान नै नगरिएको सेवा बापत शुल्क उठाएको भन्ने विषयमा केन्द्रित रही अनुसन्धान गरेको एक शाही आयोगद्वारा वित्तीय कानूनलाई लिएर सिफारिस गरिएका बुँदाहरूमाथि पनि संसद्को बैठकमा छलफल हुनेछ।
यसै विषयलाई एउटा टुङ्गो सम्म पुर्याउने हेतुले लेबर संसद्को यो अधिवेशनलाई दुई हप्ताले लम्ब्याउन खोज्दै छ।
माथिल्लो सदन सेनेटले शाही आयोगको सुझावहरु माथि विचार विमर्श गरी नयाँ कानुन तर्जुमा गर्ने काम गर्नेछ भने तल्लो सदनले चुनावमा उठ्ने उम्मेद्वारहरु अस्ट्रेलियन सांसद बन्न योग्य रहेको खुलाउनु पर्ने विषयमा आधारित कानुन बनाउन काम गर्नेछ।
क्यानबेरा स्थित एक गिर्जाघरमा मङ्गलवार बिहान एक साथ प्रार्थना गरेपछि यो वर्षको संसदीय काम-कारबाही सुरु हुनेछ।
