SKIP TO MAIN CONTENT

“बाढी सङ्कट सकिएको छैन”: अर्को हप्ताभर नै आँधीबेहरी सहित भारी वर्षा हुनसक्ने चेतावनी

अस्ट्रेलियामा हाल जारी बाढी सङ्कट बारे आज आज सन् २०२२ अक्टोबर २० को विशेष सामाग्री हो।

VIC FLOODS CLEAN UP
Country Fire Authority crews work to sandbag Campaspe Esplanade in the town of Echuca, Victoria. Source: AAP / BRENDAN MCCARTHY/AAPIMAGE

3 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियाको बार्माह, लोअर मोइरा र इचुकाका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थान तर्फ जान आदेश
  • केरङका बासिन्दाहरूलाई आफू बसेको नजिकै सुरक्षित स्थान खोजेर आश्रय लिन आग्रह
  • आँधीबेहरी सहित भारी वर्षाका कारण एकदमै छिट्टो बाढी आउन सक्ने र असिना सहित विनाशकारी हावाहुरी चल्न सक्ने पूर्वानुमान

भिक्टोरियाको राज्य आपत्कालीन सेवा (एसईएस) ले न्यु साउथ वेल्ससँगको सीमामा रहेका आफ्ना ग्रामीण नगरहरूका लागि उद्धार सम्बन्धी आफ्नो आपत्कालीन चेतावनीलाई अद्यावधिक गरेको छ।

अद्यावधिक गरिएको उक्त चेतावनीमा अब बार्माहको उत्तरका बासिन्दाहरू समावेश गरिएका छन्।

विशेष गरेर मोइरा लेक्स रोड र ब्रोकन क्रीक्स रोडको बिचमा बस्ने मानिसहरूलाई आफ्नो घर छाडेर सुरक्षित स्थान तर्फ जान भनिएको हो।

मर्री नदीको किनारमा पर्ने बार्माह र लोअर मोइराका बासिन्दाहरूका लागि पनि सोही किसिमको चेतावनी पहिले नै जारी गरिएको छ।

अधिकारीहरूले ४२ रोबर्ट्सन स्ट्रिटमा रहेको नथालिया सामुदायिक खेलकुद केन्द्रमा आपत्कालीन राहत केन्द्र स्थापना गरेका छन्।

बार्माह र लोअर मोइराका बासिन्दाहरूले सुरक्षित रूपमा घर छाडेर जान पिकोला हुँदै मर्री भ्याली हाइवे समात्नुपर्ने बताइएको छ।

“यदि तपाईँले घर छाडेर जानुभएन भने तपाईँ बाढीका कारण अर्को २४ घण्टा भित्र एक्लै पर्नु हुनेछ,” चेतावनीमा उल्लेख छ।

भिक्टोरियाको उत्तरी इचुका र इचुका भिलेजका बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छाडेर सुरक्षित स्थान तर्फ लाग्न पुनः भनिएको छ।

“यदि तपाईँले अहिले नै ठाउँ सर्नु भएन भने, तपाईँ धेरै दिनको लागि एक्लै पर्न सक्नुहुन्छ। यदि तपाईँले (आफ्नै घर भएको  स्थानमा) बस्न रोज्नुभयो भने, आपत्कालीन सेवाहरू तपाईँलाई मद्दत गर्ने स्थितिमा नहुन सक्छन्," चेतावनीमा भनिएको छ।

भिक्टोरियाली आपत्कालीन व्यवस्थापन आयुक्त एन्ड्रयू क्रिस्पले च्यानल सेभेनलाई भने कि मर्री नदीमा पानीको सतह बढ्दै गएकाले आगामी २४ देखि ४८ घण्टा इचुकाका लागि तनावपूर्ण रहनेछ।

भिक्टोरियाली राज्य आपतकालिन सेवाका प्रमुख कार्यकारी अधिकृत टिम वीइबुश अनुसार बाढी सङ्कटबाट मुक्त हुन अझै केही समय लाग्नेछ।

उनी भन्छन् कि उनको टोलीकहाँ सहायताका लागि बाढीबाट उद्धारका लागि भन्दै ७३० सहित ८,००० भन्दा पनि बढी आग्रहहरू आइसकेका छन्।

बाढीबाट प्रभावित अर्को भिक्टोरियाली नगर केरङ आगामी सात दिनसम्म पानीबाट घेरिने सम्भावना रहेको पनि वीइबुश बताउँछन्।

अधिकारीहरूले उक्त ग्रामीण नगरका बासिन्दाहरूलाई पानीबाट ओभानो हुने ठाउँमा बस्न भनेका छन् किनकि केरङलाई जोड्ने सबै बाटोहरू बाढीका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा छन्।

यसै गरी अर्को भिक्टोरियाली नगर रोचेस्टरका बासिन्दाहरूलाई पनि बाढीले प्रभाव नपार्ने उचाँईमा रहेका स्थानहरू तर्फ जान भनिएको छ।

क्यामपासे नदीमा मध्यम स्तरको बाढी आएकाले उक्त निर्देशन जारी गरिएको हो।

राज्यकी आपतकालिन सेवाहरू सम्बन्धी मन्त्री ज्याक्लिन साइम्सका अनुसार आगामी तीन महिनामा झन्डै १ करोड ४० लाख डलर बाढी प्रभावित क्षेत्रका अस्पतालहरूमा कर्मचारी खटाउन खर्च हुनेछ।

भिक्टोरियाली सङ्कटका लागि अस्ट्रेलियाली सुरक्षा बल र क्वीन्सल्यान्डको राज्य आपत्काल सेवाका अधिकारीहरूले पनि सहयोग गरिरहेको बताइँदै गर्दा मौसम विभागले भने पूर्वी क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स र उत्तरी भिक्टोरियामा आँधीबेहरी आउन सक्ने एवं साउथ अस्ट्रेलियाको पूर्वी भेकमा बिहीवार भारी वर्षा हुने चेतावनी जारी गरेको छ।

मौसम ब्युरो भन्छ कि क्वीन्सल्यान्ड र न्यु साउथ वेल्समा आँधीबेहरीका साथै भारी मात्रामा वर्षा, विनाशकारी हावाहुरी र असिना पर्न सक्छ।

“निकै ठुलो असिना पर्ने सम्भावना छ,” ब्युरो अफ मेटिओरोलोजीले भनेको छ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now