मर्री-डार्लिङ क्षेत्रमा सुख्खा बढ्दै जाँदा देशभर खाद्य सामाग्रीको भाउ आकासिने चिन्ता
मौसम विभागले अस्ट्रेलियाभर नै आगामी तीन महिना अति कम पानी पर्ने बताउँदै गर्दा त्यसले अस्ट्रेलियाको खाद्य उत्पादन क्षेत्रमा नकारात्मक प्रभाव बढ्ने र खानेकुराको भाउ अत्यधिक महँगो हुने सङ्केत देखा परेको हो।
हाल कायम रहेको व्यवस्था अनुसार उक्त क्षेत्रका किसानहरूले ती नदीहरूबाट छुट्ट्याइएको आफ्नो हिस्साको पानी खेत तथा पशुहरूका लागि प्रयोग गर्ने गरेका छन्।
तर, पानी नपर्ने र खडेरी बढ्दै जाँदा भने उनीहरूको भागमा एक थोपा पानी पनि नपर्ने चिन्ता गरिएको छ।
यसका साथै, उक्त इलाकामा रहेका दुई ठुला बाँधहरूको अवस्थामा पनि नाजुक रहेको बताइएको छ।
ह्युम र डार्टमाउथ नाम भएका ती बाँधहरूमा हाल कुल क्षमताको क्रमशः ४० र ६० प्रतिशत मात्र जगेडा जल सञ्चित रहेको छ।
महँगाई आकासिने खतरा
डीन मोर्पेथ उत्तरी भिक्टोरिया अवस्थित वूरिनेनमा आलुबखडा, आरु लगायतका फलफुलहरूको खेती गर्छन्।
उनका अनुसार आउँदो गर्मीयाममा उनी जस्तै धेरैले आफ्नो फल टिप्न पाउने छैनन्।
“स्थिति डरलाग्दो नै छ, म चौथो पिँढीको किसान हुँ र आफ्नो खेत हेरेर लाग्दैन कि म यही काम गरेर पैसा कमाउँछु,” मोर्पेथले एबीसीलाई भने।
“अरू जस्तै हामीलाई पनि सफल हुन त मन लाग्छ तर पानी बिना त्यो सम्भव नै छैन,” उनले थपे।

न्यु साउथ वेल्स राज्यको रिभरिनामा धान खेती गर्ने एन्टोनी ब्हागका अनुसार उपभोक्ताहरूले चाँडै नै आपूर्तिमा पर्ने दक्खल र खाद्यान्नको पैसा बढेको महसुस गर्नेछन्।
“चामलै किन्न नपाइने अवस्था पनि आइपुग्न सक्छ,” उनले भने।
“त्यसै गरी दूध पनि अबका आउँदा सालहरूमा सुपथ मूल्यमा किन्न नपाइने जस्ता कुराहरू साधारण हुँदै जानेछन्।”
किन बढ्दै छ किचलो?
अस्ट्रेलियाको १४ प्रतिशत भन्दा बढी भूभाग ओगट्ने मर्री-डार्लिङ क्षेत्रमा करिब २० लाख मानिसहरू बस्छन् र १६ वटा सिमसारहरू छन्।
सन् २०१२ मा २,५०० किलोमिटर भन्दा बढी लम्बाई रहेको मर्री-डार्लिङ नदी प्रणालीको जल प्रबन्ध गर्ने सम्झौता भएको थियो।
मर्री-डार्लिङ नदी प्रणालीलाई स्वास्थ्य र दिगो बनाउन भनी गरिएको उक्त सम्झौताले आफ्नो लक्ष प्राप्त नगरेको कतिपयको धारणा छ।

विशेष गरेर, उक्त सम्झौता पुरा भएको सात वर्षमा त्यस क्षेत्रका समुदायद्वारा भोग्नुपरेको कठिनाइ, खडेरी र कृषकलाई दिएको भनिएको पानी पुन: किन्ने सरकारी योजना बिच झनै किचलो बढेको देखिन्छ।
मर्री-डार्लिङ क्षेत्रमा जलको बाँडफाँड हेर्न र चोरी-निकासी रोक्न नियुक्त अन्तरिम महानिरीक्षक मिक किल्टीले उक्त क्षेत्रले सम्पूर्ण देशका लागि नै खाद्यान्न उत्पादन गर्ने भएकाले त्यसको उचित व्यवस्थापन हुनुपर्ने बताएका छन्।
अस्ट्रेलियाको सङ्घीय प्रहरीका पूर्व प्रमुख रहिसकेका किल्टीलाई उक्त क्षेत्रमा हुने भ्रष्टाचार र चोरी-निकासी माथि कडा नजर राख्न अह्राइएको छ।
मिक किल्टीसँगै मर्री-डार्लिङ जल वितरण प्रणाली अन्तर्गतको दक्षिणी भूभागमा स्थिति बुझ्न निस्किएका जल संसाधन मन्त्री डेभिड लिटिलप्राउडले पनि सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले छिट्टै खाद्यान्नहरूको मूल्य वृद्धिको मार खप्नुपर्ने अभिव्यक्ति दिएका छन्।
“अब पानी कम भयो भने त खानेकुराहरूको भाउ बढ्ने निश्चित नै छ,” उनले भने।
किल्टी भने आउँदो गर्मी याममा पानीको महत्त्व बढ्दै जाँदा किसानहरूलाई आफ्नो भागमा परेको भन्दा बढी पानीको आवश्यकता परेर मनमा पाप जाग्न सक्ने कुरालाई आफूले राम्ररी बुझेको बताउँछन्।
तर, मर्री-डार्लिङ क्षेत्रका किसानहरू भने पानी वितरण प्रणालीमा शीघ्र सुधार नगरिए सिँचाइमा भर पर्ने किसानहरूलाई अफ्ठेरो हुने कुरा अगाडी सार्छन्।

“अब त अति नै भयो!”
हिजो न्यु साउथ वेल्स राज्यको ग्रामीण नगर टोकुमवलमा, किसानहरुले ब्यानरहरू लिएर प्रदर्शन गरेका छन्।
“अब त अति नै भयो” भन्ने नाराका साथ उनीहरूले आफूहरू माथि आइपरेको विपत्ति सार्वजनिक गरेका थिए।
टोकुमवल भन्दा लगभग १८ किलोमिटर दक्षिणमा रहेका एक अन्न कृषक ब्रेट राइटका अनुसार पानी नपाइए आफ्नो खेती व्यवसाय नै चौपट हुने बताउँछन्।
“यहाँ धेरै सुख्खा लागिरहेको अवस्थामा सिचाईबाट पानी पाउन सकियो भने त ढुङ्गो खोज्दा भगवान् नै भेटेको जस्तै हुनेछ,” उनले भने।
“हामी पानीको लागि हाहाकार गरिरहेका छौँ तर यहीँ उभिएर तपाईंले पनि देखि नै रहनु भएको छ, १४ मेगा लिटर भन्दा पनि बढी पानी त्यसै समुद्र तिर गइरहेको छ। यो त निकै लाजमर्दो कुरो भयो नि!”
“सरकारले ल्याएको नयाँ धारणा अनुसार हामीले आवश्यकता अनुसारको पानी किनेर सिँचाई गर्नुपर्यो भने त आर्थिक भार निकै हुन्छ र हाम्रो खेतबारीको भविष्य मै खतरा पुग्छ,” राइट भन्छन्।
“पानी परेन र अन्य कुनै उपायबाट हामीले पानी पाउन सकेनौँ भने रोपेका मध्य ९० प्रतिशत भन्दा बढी अन्न काटेर पराल बनाइन्छ।”
“तर, सबैले त्यसो गर्दा भने पराल धेरै भएर उचित दाम पाइने छैन।”

उनको विचारमा कृषकहरू मात्र पीडित छैनन्।
“स्थितिमा सुधार भएन भने स्थानीय समुदाय नै धराशायी हुन बेर लाग्दैन, किनभने खेतमा काम गर्ने मानिसहरू र उनीहरूका बाल-बच्चा सबै जना ग्रामीण भेक छाडेर सहर तर्फ लाग्नेछन्, काम खोज्न,” राइटले भने।
राइटको जस्तै भनाइ मेलिसा पोर्टिङ्गगेलको पनि छ। केही समय अगाडी उनी वूलवर्थ्सद्वारा आफ्नो प्रवर्धन गर्न प्रयोगमा ल्याएको “ऊशी”को सबैभन्दा दुर्लभ प्रारूप, पानीसँग सट्टापट्टा गर्न प्रयास गरेर चर्चित बनेकी थिइन्।

पोर्टिङ्गगेलको बिचारमा हालको योजना अराजकता निम्त्याउने खालको छ र सरकारले यसबारे राम्रोसँग किसानहरूलाई बताउनुपर्दछ।
“कतिपय कृषकहरूले पानी पाएकै छैनन् भने हामी जस्ता कतिले असाध्यै बढी महसुल बुझाए मात्रै पानी पाउँछौँ जसका लागि रकम जोहो गर्न सकिने अवस्था पनि छैन।”
“उता, खोलामा पानी त्यत्तिकै बगिरहेछ, न त्यसले वातावरणलाई सघाइरहेको छ न त हामी जस्ता किसानलाई,” उनले एसबीएस समाचारसँग गुनासो पोखिन।
हामीले थप प्रतिक्रियाका लागि कृषि विभाग तथा मर्री-डार्लिङ्ग क्षेत्र प्राधिकरणलाई सम्पर्क गरेका छौँ।
